बर्दिबास, असार २३ – जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिबास महोत्तरीको आयोजनामा साहित्यिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मञ्चका संरक्षक तथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसकल महतोको अध्यक्षता तथा शिक्षाविद्, समाजशास्त्री एवं साहित्य अनुरागी प्राध्यापक विमल फुयाँलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।


कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा सहभागी विद्यार्थी तथा मञ्चका पदाधिकारीहरूले आफ्नो परिचयसँगै साहित्यप्रति कसरी रुचि जाग्यो भन्ने अनुभव साझा गरेका थिए। विद्यार्थीहरूले विद्यालय प्रशासन, शिक्षकहरूको प्रेरणा तथा जनता साहित्यिक मञ्चले सञ्चालन गरेका विभिन्न गतिविधिका कारण साहित्यप्रति आकर्षण बढेको धारणा व्यक्त गरेका थिए।


दोस्रो चरणमा विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी ‘साहित्यिक मञ्चलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउने, त्यसका लागि मञ्चका पदाधिकारी, शिक्षक र विद्यालय प्रशासनको भूमिका कस्तो हुनुपर्छ’ भन्ने विषयमा छलफल गराइएको थियो। छलफलपछि प्रत्येक समूहले आफ्ना सुझाव र धारणा प्रस्तुत गरेको थियो। सहभागीहरूले साहित्य मनका भावना, विचार, दुःख–सुख अभिव्यक्त गर्ने प्रभावकारी माध्यम हुनुका साथै समाजका समस्याको समाधान खोज्ने सशक्त माध्यम पनि रहेको बताएका थिए।


अन्तर्क्रियाका क्रममा विद्यार्थीहरूले आफूलाई मन परेका साहित्यकारका कविता वाचनसमेत गरेका थिए। कार्यक्रममा रोजिना घिमिरे, समीक्षा भण्डारी, जेनिशा लामा, प्रमेश महतो, प्रिन्स सिंह, विदुषी अर्याल, निक्की यादव, सन्ध्या रोका, स्नेहा माली भण्डारी, राधा महतो, प्रियतम यादव, मधु सिंह, स्मृति भण्डारी, भाविका परियार, स्मृति अधिकारी र प्रणव गौतमको सहभागिता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक विमल फुयाँलले विद्यालयस्तरमै साहित्यिक मञ्च स्थापना गरी विद्यार्थीमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नु प्रशंसनीय र अनुकरणीय कार्य भएको बताए। उनले साहित्यिक गतिविधिमा आबद्ध सबैलाई निरन्तर सक्रिय रहन आग्रह गरे।
विशिष्ट अतिथि तथा आजीवन सिकाइ मण्डलाका सदस्य पुनम कुइकेलले विद्यार्थीहरूको सिर्जनात्मक सोच र विचारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा अझ सक्रिय रूपमा साहित्यिक गतिविधिमा सहभागी हुन शुभकामना व्यक्त गरिन्।


कार्यक्रमका सहजीकर्ता शिक्षक रामचन्द्र पौडेलले विद्यालयलाई साहित्यिक फूलबारीका रूपमा विकास गर्ने उद्देश्यले जनता साहित्यिक मञ्चमार्फत नियमित साहित्यिक गतिविधि सञ्चालन भइरहेको जानकारी दिए।


कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा प्रधानाध्यापक रामसकल महतोले साहित्यप्रति विद्यार्थीहरूमा सकारात्मक सोच र प्रेरणा जगाउन योगदान पुर्‍याएकोमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिप्रति आभार व्यक्त गरे। उनले साहित्यिक मञ्चका गतिविधिलाई विद्यालय प्रशासनबाट आवश्यक भौतिक, नैतिक तथा संस्थागत सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे।