भङ्गाहा, १९ कार्तिक ।
नेपाली धानका उन्नत जातप्रति किसानको आकर्षण बढ्दै गएको किसानहरुले बताएका छन । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम (एनआरआरपी), हार्दिनाथद्वारा कोपिया परियोजना अन्तर्गत सञ्चालित धानका विभिन्न जातहरूको प्रदर्शन तथा बीउ उत्पादन कार्यक्रमले आकर्षण बढेको भङ्गाहामा आयोजित किसान अन्तरक्रिया कार्यक्रममा किसानहरुले प्रतिकृया दिएका हुन ।
धानका विभिन्न जातको उत्पादन, बजार मूल्य, उपभोक्ताको माग तथा किसानको जात छनोटसम्बन्धी अनुभवबारे कार्यक्रममा छलफल गरिएको थियो ।
छलफलका क्रममा किसानहरूको जात छनोट घरेलु उपभोग र बिक्री गर्ने उद्देश्यअनुसार फरक–फरक रहेको पाइएको थियो । घरायसी उपभोगका लागि नरम तथा स्वादिलो चामल मन पराउने किसानहरूको प्राथमिकतामा नेपाली धानका उन्नत जातहरु रहेको रामनगरका किसान रामसुजित यादवले बताए । उनले सहभागि किसानहरुले बजारमा यसको राम्रो विक्री मुल्य समेत रहेको थपे ।
उनले केहि किसानले सीमावर्ती भारतीय बजारबाट सोना मन्सुली, शंकरलगायतका जातका बीउ ल्याएर खेती गर्ने गरेको बताए ।
पहिले नेपाली जातहरूको नाम मात्र सुनेका किसानहरूले अहिले आफ्नै गाउँ र खेतमा ती जातहरूको वास्तविक प्रदर्शन देख्न पाएपछि खुशी व्यक्त गरेकोमा आफुहरु निक्कै उत्साहित भएको छलफलमा सहभागीहरुले जनाए ।
कोपिया परियोजनाले किसानको घरायसी उपभोग र बजारको मागअनुसार जात छनोट गर्ने आवश्यकतालाई सम्बोधन गर्दै अनुसन्धान केन्द्रमा विकसित नेपाली धानका जातहरूलाई किसानको खेतसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।







