धनुषा, १३ कार्तिक  ।

राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (NRRP) र कोपिया (KOPIA) सेन्टरको संयुक्त प्राविधिक टोलीले  मधेशको रामनगर र लालगढ क्षेत्रमा धानबालीको स्थलगत अनुगमन गरेको छ।

अनुगमनका क्रममा कोपियाका निर्देशक Song Young-ju,  डा.सुरेन्द्र लाल श्रेष्ठ, धन प्रसाद लिम्बु र अनुसन्धानकर्ता Yang Hyeonseo सहितको टोलीलाई राष्ट्रिय धानबाली अनुसन्धान परियोजनाका कोर्डिनेटर डा. मथुरा यादव, KOPIA प्रोजेक्ट लिडर डा. पल्लवी कुमारी सिंह, बरिष्ठ वैज्ञानिक डा. उज्ज्वल सिंह कुशवाहा, रामनगर साइट इन्चार्ज रबेन्द्र प्रसाद शाह, लालगढ साइट इन्चार्ज राजु महासेठ, र सिद्धार्थ सापकोटाले स्वागत गर्नुभएको थियो।

अनुगमनको प्रारम्भिक चरणमा रामनगरमा आयोजित किसान भेलामा कोपियाका निर्देशकले यो परियोजना सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गर्दै किसानका समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो। सो अवसरमा किसानहरूले धान काट्ने बेला बीउहरू मिसिने समस्या रहेको बताउँदै, त्यसका लागि छुट्टै मेसिनको व्यवस्था भए सहज हुने गुनासो राखेका थिए।

कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रका डाक्टर उज्ज्वल सिंह कुशवाहाले किसानहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै धानखेतीमा आइपर्ने समस्याहरूका बारेमा जानकारी लिनुभएको थियो। साथै, उहाँले विभिन्न जातका धानहरू लगाउँदा देखिएको भिन्नता, खेती गर्दा कत्तिको सहज भयो र विभिन्न जातबीच उत्पादनमा कस्तो फरक पाउन सकिन्छ भन्ने विषयमा किसानहरूसँग विस्तृत छलफल गर्नुभएको थियो।

टोलीले किसानहरूकै सहभागितामा विभिन्न पीभीएस ट्रायलहरूको अवलोकन गरेको थियो। अवलोकनका क्रममा किसानहरूलाई सोधपुछ गर्दा उनीहरूले पीभीएस ट्रायल अन्तर्गत १ र २ नम्बर जातका धानहरू बढी मन परेको  थिए।

त्यसपछि टोलीले डेमोस्ट्रेसन प्लट र बीउ उत्पादन युनिटहरूको समेत निरीक्षण गरेको थियो। साथै, अवलोकन भ्रमणकै क्रममा रामनगरमा धानखेतमा पानीको कमी देखेर कोपियाका निर्देशकले धानको बाला लगाउँदा पानी र सूर्यको प्रकाशको महत्त्वका बारेमा किसानहरूलाई बुझाउनुभएको थियो।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथमा पनि टोलीद्वारा धानको अवलोकन गरिएको थियो। सो अवसरमा पीभीएस ट्रायल, लो ग्लाइसेमिक इन्डेक्स ट्रायल र बीउ उत्पादन ट्रायलहरूको अवलोकन तथा निरीक्षण रबेन्द्र प्रसाद साह सरले गराउनुभएको थियो।

स्थलगत अवलोकन पश्चात् आयोजित समीक्षा बैठकमा राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रका तर्फबाट सिद्धार्थ सापकोटाले हालसम्म भएका कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। समीक्षामा बरिष्ठबैज्ञानिक डा. काशीनाथ चिलुवाल र डा.मुक्ति नाथ झाको उपस्थिति पनि थियो I

प्रस्तुतीकरणका क्रममा धनुषा र लुम्बीनीमा लगाइएका डेमोस्ट्रेसन प्लट, पीभीएस ट्रायल, कम ग्लाइसेमिक इन्डेक्स भएका धानका ट्रायल तथा विभिन्न स्थानमा भइरहेका बीउ उत्पादनसम्बन्धी गतिविधिबारे जानकारी गराइएको थियो।