रञ्जन कुमार भण्डारी
महोत्तरी,५ मंसिर ।
“गाम के अधिकारी हमर बरका भइया हो ,सामचको सामचको अइहाहो अइहाहो” आदीप्रसिद्घ गितहरुले साच्चै सामा खेल्ने देखि सामाचकेवा खेल हेर्नेहरु पनि रोमान्चितहुने गरेका छन । अहिले तराईका अधिकांश गाउमा र केहि शहरमा समेत साझ पर्ने वितिक्कै यस्ता गित गाएर सामा खेल्ने बालिका,किशोरी,युवती र महिलाहरु भेटिने गरेकि छिन । समुह समुहमा वसेर यस्ता गित गाउदै सामा खेल्न उनीहरु साझ व्यस्त हुन्छिन ।
भाई र बहिनी बिचको अगाध प्रेमलाई दर्शाउने पर्वको रुपमा मनाउदै आएको सामाचकेवा पर्व शहरी क्षेत्रमा विलिन हुन थाले पनि ग्रामिण क्षेत्रहरुमा अझै रौनकता वाकि रहेको छ । विगतमा हर्षोल्लासपुर्ण मनाईने यो पर्व वर्तमान समयमा शहरी क्षेत्रमा विधि पुर्याउनमात्र मनाउने गरिएको हो ।
छठको खरनाको दिन कार्तिक शुक्लपण्चमी देखि सुरु हुने सामा चकेवा रात्री कालिन समयमा गाउका छोरी र बुहारीहरु एक ठाउमा जम्मा भई विभिन्न माटोको प्रतिमा सहित सामा चकेवाकै लोकगित गाएर मनाउने सामा पुर्णिमाको दिन विशर्जन हुदै छ ।
१० दिन सम्म चल्ने र पुर्णिमाको ११औ दिन माटोको विभिन्न प्रतिकहरुलाई भाईको हातबाट फुटाई खनिएको खेत वा बनमा राखि विशर्जन गरिने सामा भाईको उमेर लामो होस र उसलाई कुनै रोग व्याधा नलागोस भन्ने विश्वासका साथ मनाईने गरिएको छ । सामा,चकेवा,चुगला आदीको माटोको विभिन्न प्रतिमा बनाई एवं बजारबाट किनेर समेत बाँसको डालामा राखी साझको समय गाउका सवै वालिका,युवती र महिला लगायतकाले विभिन्न गित गाउने र भाईको लामो उमेरको कामना गर्ने चलन रहेको छ । सामाचकेवाको विशेष पात्रको रुपमा रहेको चुगलाको मुखमा १० दिन सम्म निरन्तर कालो पोत्ने गरिन्छ ।
वर्तमान समयमा हाम्रो समाजमा चुगला अर्थात कुरा लगाउने धेरै रहेको र यस्तोलाई उजागर गरि समाजलाई स्वच्छ बनाउनुको साथै भाई र बहिनी बिच निरन्तर माया र प्रेम रहिरहोस भन्ने अभिप्राय रहेको यो पर्व तराई का विभिन्न जिल्ला महोत्तरी,धनुषा,सर्लाही,सिरहा,सप्तरी लयागत भारतको विहारमा समेत मैथिली,भोजपुरी र थारु समुदायले भव्यरुपमा मनाउदै आएको छ ।
यस्तो छ किंवदंती ः
यस्को पौराणिक किंवदन्ती विभिन्न ऐतिहासिक ग्रन्थहरुमा भिन्न भिन्न रहेको छ । सामाचकेवा पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णाको पालामा भएको मान्यता रहेको छ । भगवान श्री कृष्णको छोरी साम्बा र छोरा साम्बको कथामा आधारित रहेको सामा चकेवा पर्व अझै निरन्तर चल्दै छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तीले मनपराएको तर साम्बाको विवाह चारुवाक भन्ने व्यक्तीसंग भएकोमा त्यसको प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठिक नभएको भनी कुरा लगाएको र कृष्णले पनि सत्य तथ्य पत्ता नलगाई रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिएका थिए । पछि ज्वाई चारुवाक कृष्णलाई भेटी आफ्नी पत्नि निर्दोेष र स्वच्छ छवि कि भएकि बताएको र आफु उनी बिना बाच्न नसक्ने भनी गुहार लगाएको र आफुलाई पनि पक्षी नै बनाई दिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएका थिए र कुरा लगाउने चुडक(चुगला)लाई देश निकाला गरेका थिए ।
आफ्नो बहिनी साम्बा र ज्वाई चारुवाकको श्रापलाई निस्कृय गर्न साम्बले कार्तिक शुक्ल पण्चमी देखि कार्तिक शुक्ल पुर्णिमा सम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साझ नृत्य र पुजा गरि भगवान भोलेनाथलाई खुसी पारेको र भगवान खुसीभई साम्बा दम्पतीलाई पुनःमानवजिवन बरदान दिएको मान्यताका साथ यो पर्व मनाइदै आइएको छ ।
आधुनिकतासंगै हराउदै छ सामा पर्व ः
आधुनिक युग तथा व्यस्त समयका कारण सामा चकेवा पर्व मनाउने क्रम घटदै गएको समाजसेवी गुञ्जा राय बताउछिन । ग्रामिण भेगहरुमा अझै केहि स्थानमा हेर्न पाईने यो पर्व शहरी क्षेत्रमा भने घटदै गएको छ । १० दिनसम्म सामा चकेवा खेल्नु भन्दा पनि अन्तिम दिन भाईको हातबाट सामा फुटाई पर्वलाई छोट्याउन लागिएको हो । यता पुराना पुस्ताहरुले नयाँ पुस्तामा सामा चकेवा सम्बन्धी पुर्ण जानकारी र सामा चकेवाको लोकगितहरु हस्तान्तरण गर्न नसक्दा समेत पर्व प्रतिको रुची हराउदै गएको उहाको भनाई छ ।
भाई र वहिनी विचको अगाध प्रेमलाई अझै प्रगाढ बनाउन तथा लोक संस्कृतिलाई बचाउन पालिका स्तरबाटै प्रयास हुनु आवश्यक रहेको छ ।