भोज प्रसाद फुयाल(शंकर)
हामी सानैदेखि एक–अर्कासँग रमाइलो व्यङ्ग्य गर्थ्यौं— “मान्छे हो कि उभुण्डो, फर्सी त हैन कुभिण्डो?” त्यस्ता व्यङ्ग्यमा कटाक्षभन्दा पनि आत्मीयता र स्वच्छ हास्य हुन्थ्यो।
समयसँगै धेरै कुरा बदलिँदै गए।
कुनै बेला राजाले बोलेका कुरा हामी पत्रपत्रिका किनेर पढ्थ्यौं। राजाको मुखबाट निस्केको वचन नै कानुनसरह मान्ने चलन थियो। त्यसपछि राजतन्त्र अन्त्य भयो, प्रजातन्त्र आयो। राजा मौन भए, जनताले चुनेका प्रतिनिधिहरू बोल्न थाले।
त्यो समय नेपाली राजनीतिमा भाषणको निकै ठूलो प्रभाव थियो। हामी गिरिजाप्रसाद कोइरालाको भाषण सुन्न घरमा ताला लगाएर, वस्तुभाउलाई जंगलमा छोडेर जनकपुरसम्म पुग्थ्यौं। त्यसैगरी स्वर्गीय मदन भण्डारीको भाषण सुन्न कम्युनिस्ट, कांग्रेस, जनमोर्चा, सद्भावना पार्टीको कुनै भेदभाव नगरी सबै पुग्थे । उनको विचार सुन्न मानिसहरू आफ्नो काम समेत छाड्थे।
२०६२/६३ को आन्दोलनपछि माओवादी आन्दोलनको उभार आयो। प्रचण्डप्रति जनताको आकर्षण असाधारण थियो। उनको भाषण र अन्तर्वार्ता सुन्न देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरू पनि आतुर हुन्थे। त्यतिबेला विदेशमा रहेका नेपालीहरूले थाइकम (Thaicom) स्याटेलाइटमार्फत नेपाली टेलिभिजन हेर्न ठूला डिश एन्टेना जडान गर्थे। प्रचण्डको अन्तर्वार्ता प्रत्यक्ष प्रसारण हुने दिन धेरै नेपाली त्यसैको प्रतीक्षामा बस्थे।
त्यसै कालखण्डका अर्का नेता केपी शर्मा ओली हुन्। उनले धेरै राजनीतिक उपलब्धि हासिल गरिसकेका छन्, तर आज पनि उनको जनआकर्षण कायम छ। युवा पुस्तामा गगन थापाको भाषण सुन्ने उत्साह पनि कम थिएन।
यी सबै नेताहरू कुनै न कुनै समयमा लोकप्रिय भाषणकै बलमा सत्तामा पुगे। उनीहरूले जनतासँग गरेका वाचा कति पूरा भए र कति भएनन् भन्ने प्रश्न आज पत्रकारहरूले सोधिरहेका छन्। धेरै पत्रकारहरूले विगतका अभिव्यक्ति देखाएर वर्तमानमा जवाफ खोज्छन्। तर धेरैजसो अवस्थामा नेताहरू स्पष्ट उत्तर दिनुको सट्टा विषयान्तर गर्न खोज्छन्। अहिलेका जनता २१औँ शताब्दीका हुन्। उनीहरू बुझ्न सक्ने अवस्थामा छन्।
आज देशमा नयाँ राजनीतिक शक्ति सत्तामा छ। जनताले ऐतिहासिक मत दिएर सरकार बनाएका छन्। तर यसैबीच अर्को ठूलो परिवर्तन आएको छ प्रविधिको विकास। अहिले कृत्रिम बुद्धिमत्ता (AI) को युग सुरु भएको छ।
तर प्रश्न उठ्छ, एआई भनेको आखिर के हो? यसले बोलेको कुरा सत्य हो कि होइन? एआईले दिएका अभिव्यक्तिको जिम्मेवारी कसको हुन्छ? यदि एआईको गलत प्रयोगबाट धार्मिक, जातीय वा सामाजिक द्वन्द्व फैलियो भने त्यसको उत्तरदायित्व सरकारको हुन्छ कि एआई कै हुन्छ ?
मेरो चिन्ता यही हो।
हामी प्रविधिमैत्री अवश्य हुनुपर्छ। तर प्रविधिमैत्री हुनुको अर्थ जीवनका सबै निर्णय र सिर्जनात्मक कार्य प्रविधिलाई नै सुम्पिनु होइन। आमाको काखमा जन्मिएको बच्चालाई दूध खुवाउने जिम्मेवारी पनि प्रविधिलाई दिन मिल्दैन।
आज प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ। तर त्यसलाई सही रूपमा बुझ्ने र जिम्मेवार ढंगले प्रयोग गर्न सक्ने दक्ष जनशक्ति अझै सीमित छ। अर्कोतर्फ, प्रविधिको दुरुपयोग बढ्दै गएको छ, जसले समाजमा भ्रम, अविश्वास र नकारात्मक प्रभाव फैलाइरहेको छ।
लोकतन्त्रको मूल आधार भनेको जवाफदेहिता हो तर आज अवस्था यस्तो बन्दै गएको छ कि हिजो जनतासँग प्रत्यक्ष संवाद गर्ने नेताहरू आफैं बोल्न छाड्दै छन् र एआई मार्फत आफ्ना विचार प्रस्तुत गर्न थालेका छन्। त्यसपछि प्रश्न उठ्छ—जनताले जवाफ कससँग माग्ने ?
स्थिति यहाँसम्म पुगेको छ कि नारायण गोपाल र तारा देवीजस्ता महान् कलाकारका गीत पनि एआईले गाउन थालेको छ। यदि सबै सिर्जना कृत्रिम बुद्धिमत्ताले गर्न थाल्यो भने मौलिक प्रतिभा, सिर्जनशीलता र मानवीय संवेदनाको मूल्य कहाँ रहन्छ ?
यसैले अब राज्यले जनचेतनाको प्राथमिकता परिवर्तन गर्नुपर्छ। विगतमा हात धुने तरिका, पोषणयुक्त खाना र सरसफाइका विषयमा करोडौं रुपैयाँ खर्च गरेर जनचेतना फैलाइयो। अब त्यत्तिकै आवश्यक विषय हो—प्रविधि साक्षरता।
एआई के हो? यसको सही प्रयोग कसरी गर्ने? यसको गलत प्रयोगबाट कसरी बच्ने? डिजिटल सामग्री सत्य हो कि झुटो भनेर कसरी छुट्याउने? समाजमा फैलाइने भ्रम र कृत्रिम सामग्रीबाट कसरी सतर्क रहने? यी विषयमा सरकारले व्यापक जनचेतना अभियान सञ्चालन गर्न आवश्यक छ।
आज हाम्रो समाजमा यस्तो अवस्था सिर्जना भएको छ कि एआईबाट बनाइएको भिडियो देखेर मानिसहरूले बाँदरले गाडी चलाएको दृश्यलाई पनि सत्य मान्न थालेका छन्। कसैले त्यो कृत्रिम भिडियो हो भनेर सम्झाउँदा उल्टै “आँखाले देखेको कुरा पनि नमान्ने?” भन्ने अवस्था बन्दै गएको छ। यो प्रविधिको दुरुपयोगले सिर्जना गरेको ठूलो चुनौती हो।
हाम्रो जस्तो विकासोन्मुख देशमा धर्म, संस्कृति, संस्कार र मौलिकतामाथि प्रविधिको गलत प्रयोगले गम्भीर चुनौती थपेको छ। त्यसैले अब राज्यले प्रविधि, त्यसको प्रयोग, त्यससँग सम्बन्धित जोखिम र अवसरबारे विज्ञहरूको सहयोगमा घरघरमा जनचेतना फैलाउनु अत्यावश्यक भएको छ।
यदि समयमै नागरिकलाई सचेत बनाउन सकिएन भने हाम्रो धर्म, संस्कृति, मौलिकता र मानवीय संवेदना क्रमशः कमजोर हुँदै जानेछन्। मानिससँग सबै आधुनिक सुविधा त हुनेछ, तर मानवीयता हराउँदै जाने खतरा बढ्नेछ।







