
रञ्जन कुमार भण्डारी
हाम्रो सोचले समाजको स्वरुप निर्माण हुने हो । सोच विकृत भए समाजमा त्यसकै विकृत असर देखिन्छ । वर्तमानमा पुजा लगायतको विविध धार्मिक आयोजनको बहानामा यस्तै विकृत मानसिकता हावी भएको देखिन थालिएको छ । आस्था अभिव्यक्त हुनुपर्ने ठाउमा भिड जुटाउन मनोरञ्जनात्मक कार्यक्रम चलाउने र त्यसमै पनि अश्लीलता झल्कने कार्यक्रम चलाउनुले यसलाई प्रश्रय दिईरहेको छ ।
दशकौैं पहिले जलेश्वर तथा वरिपरिको क्षेत्रमा कुनै पुजा या अन्य अवसरमा नाच(आर्केस्ट्रा)को आयोजन गर्नु परे भारतको सितामढी र मुजफफरपुर सम्झिने गरिन्थ्यो । स्थानिय स्तरमा भने रामलीला,कुवँर वृजवान,अल्हा रुदल,बहुरा ठकुराईन,राजा नल र फुल्वा सल्हेश जस्ता परम्पारगत लोक कथानक नाच र नाटकहरुले स्थान ओगटेका थिए । महोत्तरीमै एक्का दुक्का स्थानमात्र थिए जहाँ हरेक वर्ष एक वा एक भन्दा वढी पटक आर्केस्ट्रा नचाउने गरिन्थ्यो ।
समय परिवर्तनसंगै स्थानिय लोककथा र नाच तथा नाटक हराउदै गयो र अश्लीलता झल्कने आर्केस्ट्राले स्थान ओगटदै गयो । त्यतिबेला सामाजिक सञ्जाल, विशेषगरी टिकटक र इन्स्टाग्रामको अहिलेको जस्तो प्रभाव थिएन । दोहोरो अर्थ लाग्ने गीत त्यतिबेला पनि थिए, तर तिनको प्रचारप्रसार र पहुँच अहिलेको जस्तो व्यापक थिएन। सामाजिक सञ्जालमा अश्लील वा दोहोरो अर्थ लाग्ने सामग्रीको प्रभावकारी छनोट तथा नियन्त्रण हुन नसक्दा यस्ता सामग्रीको प्रसारमा थप सहयोग पुगेको देखिन्छ ।
पछिल्लो केहि वर्षमा महोत्तरी सहित मधेश प्रदेशका विभिन्न स्थानमा विभिन्न पुजाकै बहानामा अश्लीलता झल्कने नाच(आर्केस्ट्रा) को जाल विस्तार हुदै गएको छ । केहि वर्षयता धार्मिक महत्वका आयोजनलाई अश्लीलता पस्कने कार्यक्रमहरुले कुरुप बनाउदै गएको छ ।
सामान्य गितमा उत्तेजनात्मक शव्दहरु मिलाएर बनाइने अश्लील वा दोहोरो अर्थको गित र त्यसतै हाउभाउ झल्कने नाचलाई सभ्य समाजमा अझै स्विकार्न नसकिने भएपनि समाजमा अश्लील भावको सोच राख्नेकै कारण वर्तमानमा आर्केस्ट्रालाई बढावा दिएको छ ।
यसै वर्षको विजया दशमीको अवसरमा लाग्ने मेलामा महोत्तरीको स्थानिय प्रसासनबाट अश्लीलता झल्कने नृत्य(आर्केस्ट्रा) नियन्त्रणको लागि प्रयास भएपनि अन्ततः त्यसमै पुर्ण सफलता प्राप्त गर्न सकिएन । मेलाको सुरक्षामा प्रहरी प्रसासन खट्नु सामान्य भएपनि प्रसासनले नै आर्केस्ट्रा नचाउन नपाइने उर्दी जारी गरेर पनि त्यही उर्दीको सुरक्षानिकायबाट पालना हुन नसक्नुलाई प्रसासनिक निर्णयको आफ्नै निकायले खिल्ली उडाएको देखिन्छ ।
यता मेला आयोजन समिति तथा जनप्रतिनिधीहरुले सहजै अश्लीलता मिश्रित नाच वर्जित कार्यक्रम आयोजन गर्न सक्ने भएपनि उनीहरुबाट नै यस्ता नाचले प्रश्रय पाईरहेको आरोप आईरहेको बेला समाजलाई कसले सभ्य र भव्य बनाएर राख्ने ? यो जिम्मेवारी कसको भन्ने प्रश्न तेर्सिएको छ । को चुक्दैछन ?,कहा चुक्दैछन ?,जिम्मेवारी कसले लिने ? यस्ता नाचले समाजमा कस्तो सन्देश दिने र यसको परिणाम के ? यतिसम्मको सामान्य प्रश्नको जवाफ सवैले खोज्नु आवश्यक छ ।
अश्लीलता निषेधकै लागि प्रहरी,प्रशासन,जनप्रतिनिधी,मेला आयोजन समिति लगायतको सवै पक्ष ईमान्दारीसाथ लागि दिए महोत्तरी सहित मधेश प्रदेशबाट अभद्र आर्केस्ट्रा विस्ताथपन गरि पुनः लोककला र संस्कृतिलाई जोगाई राखेको रामलीला,कुवँर वृजवान,अल्हा रुदल,बहुरा ठकुराईन,राजा नल र फुल्वा सल्हेश जस्ता परम्पारगत लोक कथानक नाच र नाटकलाई संरक्षण गर्न सकिन्छ ।
#madhesh #orchestra #mahottari







