धनुषा , ८ मंसिर ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम (NRRP), हार्दिनाथमा कार्यान्वयन भइरहेको कोरिया–नेपाल कृषि सहकार्य परियोजना (KOPIA) अन्तर्गत धनुषाको भंगहा नगरपालिका–रामनगरमा सञ्चालित सहभागीमूलक जात छनोट (Participatory Varietal Selection – PVS) अन्तर्गत धानका सातवटा जिनोटाइपहरूको मूल्याङ्कन तथा कटानी कार्य सम्पन्न भएको छ।
उक्त परीक्षणमा सावित्रीलाई समेत चेक जातका रूपमा समावेश गरी सातवटा जिनोटाइपहरूको मूल्याङ्कन गरिएको थियो। किसानहरूको रोजाइ तथा खेतमा देखिएको प्रदर्शनका आधारमा NR 2296-56-2-3-1 पहिलो, NR 2333-1-1-1-1-2 दोस्रो र IR17 A 2917 तेस्रो प्राथमिकतामा परेका छन्।
स्थानीय कृषक श्री हरिदेव साहका अनुसार यी जातहरूमा रोग तथा कीराको प्रकोप नदेखिएको, धेरै गाँज लाग्ने, बोटको उचाइ कम भएकाले ढल्ने सम्भावना न्यून रहेको र ढिलो रोपाइँ गर्दा समेत राम्रो उत्पादन दिने विशेषता देखिएको छ। यी गुणहरूका कारण आफूले यी जातहरू मन पराएको उहाँले बताउनुभयो। साथै, आगामी दिनमा थप क्षेत्रफलमा यी जातहरूको खेती गर्ने प्रतिबद्धता व्यक्त गर्दै किसानहरूले आगामी बालीका लागि बीउसमेत सुरक्षित राखेका छन्।
यस सहभागीमूलक जात छनोट कार्यक्रमअन्तर्गतको कटानी कार्य आज NRRP का वरिष्ठ प्राविधिक अधिकृत तथा साइट इन्चार्जको नेतृत्वमा सम्पन्न गरिएको हो। यस प्रकारको परीक्षणले किसानलाई आफ्नै खेतमा नयाँ धानका जातहरूको प्रदर्शन अवलोकन तथा मूल्याङ्कन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय आवश्यकता र किसानको प्राथमिकताअनुसार उपयुक्त जात छनोट तथा विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
उक्त जानकारी KOPIA परियोजनाका परियोजना प्रमुख डा. पल्लवी कुमारी सिंहले दिनुभएको हो। उहाँका अनुसार सहभागीमूलक जात छनोटले अनुसन्धानकर्ता र किसानबीचको सहकार्यलाई बलियो बनाउँदै किसानको आवश्यकता र प्राथमिकतामा आधारित धानका उन्नत जातहरूको पहिचान तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
किसानले नयाँ जातको नाम सुन्ने मात्र होइन, आफ्नै खेतमा प्रदर्शन हेरेर मूल्याङ्कन गरेका छन्, बीउ सुरक्षित राखेका छन् र आगामी वर्ष थप क्षेत्रफलमा खेती गर्ने प्रतिबद्धता जनाएका छन्। यो KOPIA परियोजनाको व्यवहार परिवर्तनतर्फको सकारात्मक उपलब्धि हो।







