महोत्तरी, २२ असोज ।
कोरिया–नेपाल सहयोग कार्यक्रम (कोपिया) अन्तर्गत महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालित धानसम्बन्धी कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीले किसानसँग प्रत्यक्ष छलफल गर्दै विभिन्न धानका जातको बाली अवस्था, उत्पादन सम्भावना तथा किसानको अनुभव र प्रतिक्रियाबारे जानकारी लिएका छन ।
अनुगमन टोलीले नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथको कार्यान्वयनमा सञ्चालित परियोजनाअन्तर्गत भंगहा नगरपालिकामा संचालनमा रहेको किसान सहभागितामूलक जात छनोट परीक्षण, जातीय प्रदर्शन प्लट, बीउ उत्पादन तथा मिनीकिट वितरणलगायतका कार्यक्रम सञ्चालनमा रहेकोमा कार्यक्रमको उपलब्धी बुझ्न अनुगमन गरेको कोपिया परियोजना प्रमुख डा. पल्लवी सिंहले बताईन ।
उनले भंगहा नगरपालिकाका किसान रामबहादुर यादवको खेतमा सञ्चालित किसान सहभागितामूलक जात छनोट परीक्षण तथा प्रदर्शन प्लटमा हार्दिनाथ–६, साम्बा मन्सुली सब–१, सुखा धान–३ र हार्दिनाथ–१ लगायतका धानका जात लगाइएको थपिन ।
प्रदर्शन र अनुगमनको क्रममा विशेषगरी हर्दिनाथ–१ छिटो पाक्ने जातका रूपमा खेतमा राम्रो अवस्थामा देखिएको पाइएको छ । परियोजना प्रमुख डा.सिंहले हर्दिनाथ १ पाकिसकेर काट्ने अवस्थामा पुगिसकेको बताईन । किसानहरूले हार्दिनाथ–१ को छिटो पाक्ने गुण तथा खेतमा देखिएको राम्रो प्रदर्शनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। आगामी वर्षदेखि यस जातलाई थप क्षेत्रफलमा विस्तार गरी खेती गर्ने इच्छा समेत किसानहरूले व्यक्त गरेका छन् ।
कार्यक्रमको स्थलगत अनुगमन नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथकी वरिष्ठ वैज्ञानिक तथा कोपिया परियोजना प्रमुख डा. पल्लवी सिंह र स्थानीयस्तरमा कार्यक्रमको समन्वय तथा साइट व्यवस्थापन राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथका वरिष्ठ प्राविधिक अधिकृत तथा साइट इन्चार्ज रवीन्द्रप्रसाद साहले गरेका थि भने सहजीकरणसहजीकरण सिद्धार्थ सापकोटाले गरेका हुन ।