राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले तर्क गर्ने एउटा प्रमुख आधार बनेको छ—‘३५ वर्ष’। सरकारसँग जवाफदेहिता खोज्दा उनीहरूको बनिबनाउ प्रश्न हुन्छ, ‘३५ वर्षसम्म पुराना दलले के गरे?’
तर, यही प्रश्नको केन्द्रमा उभिएको रास्वपाको महोत्तरी–१ को राजनीतिमा भने अहिले फरक खालको बहस सुरु भएको छ। लामो समय पुरानै राजनीतिक दलमा रहेर सत्ता र शक्तिको अभ्यास गरेका नेताहरू रास्वपामा प्रवेश गर्न थालेपछि पार्टीको ‘नयाँ राजनीति’को दाबीमाथि नै प्रश्न उठ्न थालेको हो ।
पछिल्लो समय विभिन्न दलबाट भएका तामझामपूर्ण पार्टी प्रवेश र त्यसपछि देखिएको आन्तरिक विवादले महोत्तरी–१ को रास्वपा राजनीति थप चर्चामा ल्याएको छ ।
गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख शिवनाथ महतो, माओवादी पृष्ठभूमिका रामबाबु चौधरीलगायतका नेताहरू रास्वपामा प्रवेश गरेका छन्। यसअघि नेपाली कांग्रेसका नेता विनोदकुमार महतो पनि रास्वपामा प्रवेश गरेका थिए।
नवप्रवेशीहरूको बढ्दो लर्कोसँगै संगठनभित्र अवसर, नेतृत्व र प्रभावको बाँडफाँटलाई लिएर असन्तुष्टि बढेको चर्चा हुन थालेको छ ।
विवादको केन्द्र नँया प्रवेश

‘शर्तसहित केन्द्रीय तहका नेताहरूसँग स्वार्थ सम्झौता गरेर नै पुराना दल परित्याग गरेर उहाँहरू आउनुभएको हो,’ रास्वपाका एकजना नेताले भने, ‘हामीलाई उहाँहरू आउनुभयो भनेर खासै उत्साह छैन।’
जिल्लादेखि वडा तहसम्म भएका अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनका क्रममा भएको विवाद अझै सेलाएको छैन। यसको मुख्य कारक फरक पार्टीबाट आएका नेता तथा कार्यकर्ताहरू नै भएको नेताहरू बताउँछन्।
‘पार्टी बनाउन आउनुभएको हो भने स्वागत छ, तर अवसर खोज्न आउनुभएको हो भने त्यसको परिणाम राम्रो हुँदैन,’ जिल्ला सभापति शुभमकुमार यादवले भने, ‘पार्टीको विधि र विधानविपरीत जाने छुट कसैलाई छैन।’
महोत्तरी क्षेत्र नं. १ मा यसअघि लोसपाका केन्द्रीय सदस्य रहिसकेका पिताम्बर महतो रास्वपा प्रवेश गरेका थिए।
नेता शरतसिंह भण्डारीको पहलमा लोसपाले पिताम्बर महतोलाई जिल्ला भूमि आयोगको अध्यक्ष बनाएको थियो। रास्वपाको सत्तारोहणसँगै सरकारले भूमि आयोग खारेज गरेपछि उनको पद पनि खारेज भयो।
त्यसपछि तुरुन्तै रास्वपा प्रवेश गरेका महतोलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए। कतिपयले शरतसिंह भण्डारीकै डिजाइनमा महतो प्रवेश गरेको बताए तापनि आसन्न निर्वाचनमा टिकटको सुनिश्चिततासहित प्रवेश गरेको रास्वपाभित्रबाटै स्वीकारोक्ति छ। महतो २०७९ को निर्वाचनमा लोसपाबाट क्षेत्र नं. १ ‘क’बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए।
अहिले पिताम्बर महतो र नेता विष्णु खड्काका फरक–फरक गुट निर्माण भएको देखिएको छ। महतोलाई एउटा समूहले बोकेको छ भने खड्कालाई अर्को समूहले बोकेको वडा तहका कार्यकर्ताहरूको बुझाइ रहेको छ। पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई पुष्टि गर्न कतिपय नेता–कार्यकर्ताहरूले फेसबुकमा स्टाटससमेत राखेको देखिन्छ।
‘पहिलेजस्तो छैन, अहिले रास्वपाभित्र पूरै राजनीतिक गति परिवर्तन भएको छ, जसलाई फरक–फरक समूहले चलायमान बनाएका छन्,’ स्थानीय नेता देवनारायण महतोले भने, ‘मैले अर्कै बुझेर प्रवेश गरेको, अहिले त रास्वपा क्रीडास्थल नै पो बन्यो।’
पिताम्बर महतो प्रवेश गरेपछि नै गुट निर्माण भएको र संघीय सांसद प्रमोद महतोलाई उनैले चलाइरहेको रास्वपा बर्दिबासका नेताहरू बताउँछन्। बर्दिबास नगरपालिकाका नगर सभापति पशुराम बस्नेतले आफ्नो फेसबुकमा पुरानो तस्बिर साझा गर्दै कोही आउनासाथ रास्वपा बन्न नसक्ने र त्यसका लागि संघर्ष चाहिने बताएका छन्।
तर नेता महतोले आफू नयाँ पार्टीमा अवसर खोजेर आएको भन्ने आरोप गलत भएको बताउँदै आएका छन्।

नेकपाका नेताहरु प्रवेश, रास्वपाको आन्तरिक बैठक

दुई दिनअघि मात्र पूर्वमाओवादी नेता तथा गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख शिवनाथ महतोसहित केही नेता–कार्यकर्ता रास्वपा प्रवेश गरे।
तर यो प्रवेश गृहजिल्लामा भने स्वयं रास्वपाका लागि ‘सरप्राइज’ बन्यो। महतोले प्रवेशपूर्व न गृहपालिकामा छलफल गरे, न त जिल्लामै। बरु प्रवेश गरेको तस्बिर पिताम्बर महतो स्वयंले सामाजिक सञ्जालमा साझा गरेपछि मात्रै जिल्लामा त्यसबारे जानकारी भयो।
‘प्रवेशको विषयमा हामीसँग कुनै छलफल नै भएन,’ जिल्ला सभापति यादवले भने, ‘अब उहाँहरू आउनुभएको छ, पार्टीका लागि निःसर्त काम गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।’
तर विगतमा रास्वपालाई नै गाली गर्ने र निच देखाउनेहरू अहिले प्रवेश गरेको भन्दै रास्वपा संस्थापन पक्ष तरंगित बनेको छ। शिवनाथ महतो २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेर विजयी भएका थिए। २०७९ मा पनि उनी आकांक्षी थिए। तर टिकट विष्णु लामाले पाएपछि उनलाई असहयोग गरेको आरोप लाग्दै आएको छ।
२०८४ को संघीय निर्वाचनमा समेत महतोलाई पार्टीले निगरानीमा राखेको थियो। रास्वपाबाट आफ्नै भतिज प्रमोद महतो उम्मेदवार बनेपछि शिवनाथले उनलाई पो सहयोग गर्ने हुन् कि भन्ने आशंका सिर्जना भएको थियो। रास्वपालाई यसअघि उनीहरूको नीति तथा क्रियाकलापका विषयमा कडा आलोचना गर्दै आएका उनको हठात् प्रवेशलाई लिएर रास्वपाभित्रै असन्तुष्टि पैदा भएको देखिएको छ।
‘उहाँहरू प्रवेश गरेपछि आम मानिसहरूमा एउटा भ्रम पनि छ। छिट्टै बैठक बसेर एउटा वक्तव्य पनि सार्वजनिक गर्छौँ,’ जिल्लास्तरीय एक नेताले भने, ‘टिकट दिन्छौँ भनेर हाम्रो पार्टी सभापतिले पनि भन्नुभएको छैन। बरु यस्ता विषयलाई उहाँ आफैँले निरुत्साहित गरिरहनुभएको छ।’
तर महतोले रास्वपामा प्रवेश आफ्ना लागि कुनै सर्त नरहेको बताएका छन्। उनले आफ्नै पार्टीमा कुनै पनि मूल्याङ्कन नभएपछि रास्वपा आउन बाध्य भएको बताएका छन्।