रञ्जन कुमार भण्डारी
महोत्तरी,३० भदौ ।
महोत्तरीको भंगहा नगरपालिका ६ निवासी अशोक कुमार वातरका २२ वर्षिय छोरा विवेक कुमार सरदारको शव ९ टुक्रा गरिएको अवस्थामा प्रहरीले फेला पारेको छ । उनको हत्या गरि शव टुक्रा टुक्रा पारेश शौचालयको सेफ्टी ट्यांकी मुनि गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनको हत्या आरोपमा ४ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
भदौ १५ गते रक्षाबन्धनमा राखी मान्न जलेश्वर नगरपालिका ११ पिगौना स्थित आफ्नो दिदीको घर पुगेका उनी साझ दिदीको घरबाट बा३१ प ६१३८ नम्वरको मोटरसाईकलमा आफ्नो घरको लागि निस्केकोमा उनी राती घर नफर्किपछि आफन्तले खोजतलासको लागि प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा भदौ २६ गते उनको शव शौचालयको सेफ्टी ट्यांकी मुनी गाडेर माथिबाट पक्का ढलान गरेको अवस्थामा ढलान फुटाई बरामद गरेको हो ।
उनको हत्या आरोपमा प्रहरीले बलवा न.पा. वडा नं. ७ बनौटा टोल बस्ने वर्ष ५८ को अशोक कुमार ठाकुर,सोहि ठाउ बस्ने जितेन्द्र कुमार ठाकुरको श्रीमती वर्ष २२ की सोनु कुमारी ठाकुर, अशोक कुमार ठाकुरको श्रीमती वर्ष ५० की रामकली देवी ठाकुर र महोत्तरी गा.पा. वडा नं. ५ बस्ने वर्ष २८ को सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अशोक कुमार ठाकुरको सेफ्टी ट्यांकीबाट उनको शव बरामद गरेको हो ।
प्रेमले निम्त्याएको मृत्यु ः
प्रहरी अनुसन्धानको प्रारम्भिक चरणमा जितेन्द्र कुमार ठाकुरका २२ वर्षिया श्रीमति सोनु कुमारी ठाकुरको मृतक विवेकसंग प्रेम सम्बन्ध रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रहरी निरिक्षक विश्वम्भरनाथ साहले आरोपीहरुसंग गहन अनुसन्धान भैरहेको बताएका छन । उनले अहिले केहि प्रारम्भिक सुचना र तथ्यहरुको आधारमा केहि कुरा खुलेपनि घटना वारे थप वृतान्त पुर्ण अनुसन्धानपछिमात्र खुल्ने उनले बताए । विवेक सम्पर्क विहिन भएको निवेदन पछि प्रहरीले अनुसन्धान सकृय पारेको विवेक बनौटाबाटै सम्पर्क विहिन भएको भेटिएपछि उनको मोबाईलको अन्तिम कुराकानी र अन्य प्राविधिक एनालाईसिसको आधारमा अशोक ठाकुर,उनको श्रीमति र बुहारी लगायत ४ जनालाई नियन्त्रणमा लिएपछि तथ्य खुलेर प्रहरी शवसम्म पुग्न सकेको हो । पक्राउ परेकाहरु एउटै परिवारका ससुरा,सासु,बुहारी र छोरी ज्वाई हुन ।