जनकपुरधाम ।

आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चा एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारीमा जुटेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले तत्कालका लागि साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने र त्यसपछि स्थायी राजनीतिक एकताको दिशामा अघि बढ्ने तयारी भइरहेको बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित नौ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले साझा चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुने तयारीलाई सामान्य चुनावी तालमेलका रूपमा नबुझ्न आग्रह गरे।

उनका अनुसार मोर्चामा आबद्ध दलहरूबीच निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने र त्यसपछि राजनीतिक, वैचारिक तथा संगठनात्मक आधारमा स्थायी एकताको दिशामा अघि बढ्ने लक्ष्य छ।

अन्सारीले प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायका राजनीतिक शक्तिलाई एउटै राजनीतिक केन्द्रमा संगठित गर्नुपर्ने आवश्यकता औँल्याए। साना–साना दलमा विभाजित भएर निर्वाचनमा प्रतिस्पर्धा गर्दा परिवर्तनकारी शक्तिको प्रभाव कमजोर हुने भएकाले साझा राजनीतिक शक्ति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘अहिले हामी नौ राजनीतिक दल एउटै मोर्चामा छौँ। आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जनतामाझ जाने तयारीमा छौँ। यो केवल निर्वाचनसम्मको सहकार्य होइन, भविष्यमा स्थायी राजनीतिक एकताको आधार निर्माण गर्ने अभियान पनि हो,’ अन्सारीले भने।

उनले अग्रगामी मोर्चालाई निर्वाचन केन्द्रित गठबन्धनमा सीमित नराखी व्यापक राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्ने बताए। राजनीतिक, सामाजिक तथा आर्थिक असमानताको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समानता, सामाजिक न्याय, समावेशिता र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने दिशामा मोर्चाले स्पष्ट राजनीतिक विकल्प निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

मधेससहित देशका विभिन्न भूगोल, वर्ग, जाति, समुदाय, क्षेत्र र लिङ्गका उत्पीडित तथा अधिकारबाट वञ्चित नागरिकलाई राजनीतिक मूलधारमा जोडेर राष्ट्रिय वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताको सहभागिता थियो। सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीबाट आएका नेता तथा कार्यकर्ताले मोर्चाको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे छलफल गरेका थिए।

अग्रगामी मोर्चामा हाल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल आबद्ध छन्।

मोर्चाका नेताहरूले आगामी निर्वाचनलाई राजनीतिक शक्तिको पुनर्संरचनाको अवसरका रूपमा लिँदै साझा राजनीतिक कार्यक्रम, संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्रता दिने बताएका छन्। नौ दल एउटै चुनाव चिह्नमा निर्वाचनमा जाने तयारीले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुव निर्माणको सम्भावनासमेत बढाएको छ।