महोत्तरीको बर्दिवासस्थित ग्लोबल एकेडेमीका विद्यार्थीहरुले भोटेकोसी बाढीपीडितका लागि ५० हजारभन्दा बढी रकम संकलन गरेका छन् ।
झण्डै १ हजार ९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीलाई सहभागी गराउँदै सञ्चालन गरिएको सहयोग अभियानबाट ५० हजार २ सय ५० रुपैयाँ संकलन भएको हो । उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
बाढीका कारण आमाबुवा तथा आफन्त गुमाएका बालबालिकाको सहयोगमा रकम प्रयोग होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यार्थी क्याप्टेन कुशल कार्कीले बताए ।
“मानवीय विपत्तिको यो क्षणमा गुरुहरुले खाजा खाने पैसा बचाएर भए पनि सहयोग गर्नुपर्छ भनेर हामीलाई उत्प्रेरित गर्नुभयो,” कार्कीले भने, “परिणामस्वरूप मनदेखि नै हाम्रा साथीहरु सहयोग गर्न उत्साहित बने ।”
विद्यालयका अनुसार कतिपय विद्यार्थीले एक सातासम्म खाजा नखाने प्रतिबद्धता जनाउँदै अभिभावकले दिएको खाजा खर्चसमेत सहयोगका लागि जम्मा गरेका थिए ।
यसअघि पनि विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट बाढीपीडितका लागि १ लाख २३ हजार रुपैयाँ सहयोग गरिएको थियो ।
यसैबीच, बर्दिवास नगरपालिका अन्तर्गत रहेका निजी तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले समेत संस्थागत रुपमा बाढीपीडितलाई सहयोग गरेका छन् । दुवै संगठनको पहलमा विद्यालयका प्रतिनिधिहरु बाढीग्रस्त क्षेत्रमा पुगेर करिब १२ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिसकेका छन् ।







