एलएक्स बस्नेत/युएई

भोटेकोसी बाढीपीडितको राहत तथा पुनर्स्थापनाको लागि युएईको एउटै कम्पनीमा कार्यरत नेपालीहरूले दुई लाख सहयोग जुटाएका छन ।

फोकस सेकुरेटी कम्पनीमा कार्यरत नेपालीहरुले विदेशी र नेपालीसगँ आर्थिक संकलन अभियान चलाएर २ लाख ६ हजार ८ सय २५ रुपैयाँ सहयोग गरेका हुन ।

संकलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाईसकिएको उक्त कम्पनीमा कार्यरत तथा अभियानकर्ता दिपक थापाले जानकारी दिए ।
उक्त राहत अभियानमा नेपाली सहकर्मीहरूसँगै भारतीय तथा पाकिस्तानी नागरिकहरूले समेत स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेको अर्का अभियन्ता बिमल कुंवरको भनाई छ ।

भोटेकोसी बाढीपीडितबाट प्रताडित बनेका नेपालीहरुको पिडालाई नजिकबाट अनुभुत गर्दै कम्पनीमा कार्यरत नेपालीहरुले चलाएको अभियानमा सहयोग गर्न पाएको भन्दै पाकिस्तानी र भारतिय नागरिकहरुले खुशी ब्यक्त गरेका छन ।

अभियानको दोस्रो चरणअन्तर्गत थप सहयोग संकलन कार्यसमेत जारी राख्ने अभियन्ता थापाले जानकारी दिए ।

यो पहलसगैँ नेपालीहरुले तत्कालीन राहत संकलनमा मात्र सीमित नराखी भविष्यमा प्राकृतिक तथा दैवी विपत्तिमा परेका नेपालीहरूलाई आवश्यक सहयोग, राहत तथा उद्धारमा सहकार्य गर्न सक्ने दीर्घकालीन समूहका रूपमा अघि बढाउने निर्णय गरेका छन ।

सानो–सानो सहयोगबाट सुरु भएको उक्त अभियानले विपत्तिको समयमा नेपाली, भारतीय र पाकिस्तानी सहकर्मीबीचको मानवीय सहकार्य र एकताको सकारात्मक सन्देश दिएको छ।