महोत्तरीको गौशालास्थित भानुभक्त मेमोरियल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले भोटेकोसी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ लाख ३१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
प्याब्सन महोत्तरीका अध्यक्षसमेत रहेका विद्यालयका संस्थापक प्रधानाध्यापक राधेश्याम सापकोटाले सहयोग रकम थोरै भए पनि बाढीपीडितको पीडामा मलम बन्ने विश्वास व्यक्त गरे।
विद्यार्थीमा समेत सेवाभाव र मानवीय संवेदना विकास गराउने उद्देश्यले खाजा खान ल्याएको रकममध्ये केही बचत गरी सहयोग गर्न विद्यार्थीलाई आग्रह गरिएको उनले बताए।
महोत्तरीकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयका रूपमा रहेको भानुभक्त मेमोरियल रामनगर, गौशाला–१ मा सञ्चालित छ।
प्याब्सन महोत्तरीले समेत छुट्टै रूपमा बाढीपीडितका लागि सहयोग गर्ने जनाएको छ। विद्यालय तथा विद्यार्थीको माध्यमबाट हालसम्म ३० लाख रुपैयाँभन्दा बढी सहयोग भइसकेको विद्यालयहरूले जनाएका छन्।







