महोत्तरी,१७ भदौं ।
चिनियाँ दूतावासद्वारा कैलालीको महुन्याल माध्यमिक विद्यालय र कञ्चनपुरको लालझाडी आधारभूत अस्पताललाई शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले सार्वजनिक शिक्षा तथा मातृ–शिशु स्वास्थ्य क्षेत्रमा सहयोग विस्तार गर्दै सुदूरपश्चिम प्रदेशका दुई संस्थालाई उक्त शैक्षिक तथा स्वास्थ्यसम्बन्धी सामग्री एवं उपकरण हस्तान्तरण गरेको हो ।
दूतावासको ८८“उज्यालो भविष्य” कार्यक्रम अन्तर्गत विद्यालयलाई डेस्क–बेन्च, स्मार्ट बोर्ड, ह्वाइट बोर्ड, स्कुल ब्यागलगायत आवश्यक शैक्षिक सामग्री दिएको हो भने दूतावासको “आरामदायी प्रसूति” कार्यक्रम अन्तर्गत अस्पतालको प्रसूति विभागमा स्वास्थ्यसम्बन्धी सहयोग पुर्याउने उदेश्य सहित प्रसूति विभागका विभिन्न वार्डहरूमा वातानुकूलन यन्त्र (एयर कन्डिसनर) जडान गरिएको हो। यस सहयोगबाट सुत्केरी आमा तथा नवजात शिशुका लागि थप सहज र अनुकूल वातावरण सिर्जना हुनुका साथै प्रसूति सेवाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुतावासले एक विज्ञप्ती जारी गर्दैै विद्यालयमा हस्तान्तरण गरिएको सामग्रीले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्नुका साथै विद्यार्थीहरूको नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन गर्ने, अध्ययनप्रति रुचि र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान पु¥याउने अपेक्षा गरिएको जनाएको छ । यसै गरि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको सामग्रीले सुरक्षित र सहज प्रसुति सेवामा टेवा पुग्ने बताएको हो ।

परियोजना व्यवस्थापक ई. शिवाङ दत्तले दूतावासका विभिन्न परियोजनामार्फत जनकपुर, सप्तरी तथा लुम्बिनी लगायतका क्षेत्रका विभिन्न विद्यालय, अस्पताल तथा समुदायलाई सहयोग गरिसकेको र आगामी दिनमा पनि स्थानीय आवश्यकता पहिचान गरी यस्ता सहयोगलाई निरन्तरता दिइने बताएका छन्।
दूतावासको “उज्यालो भविष्य” र “आरामदायी प्रसूति” कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएको यो पहिलो संयुक्त कार्यक्रम हो। यसले प्रदेशको सार्वजनिक शिक्षा तथा मातृ–शिशु स्वास्थ्यका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई स्थानीय तहसम्म थप विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको दुतावासले जनाएको छ ।
चिनियाँ दूतावासले शिक्षा, स्वास्थ्य तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा स्थानीय समुदायको आवश्यकता पहिचान गरी सहयोग तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ।







