परिचय

हिन्दु सनातन धर्मको इतिहास अत्यन्त प्राचीन, बहुआयामिक र क्रमिक विकासको परिणाम हो। यसको प्रारम्भिक आधार वैदिक परम्परामा रहेको मानिन्छ, जसका प्रमुख स्रोत ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद हुन्। वैदिक धार्मिक परम्परा लामो समयसम्म मौखिक रूपमा पुस्तान्तरण हुँदै विकसित भयो र पछि ब्राह्मण, आरण्यक तथा उपनिषद्ग्रन्थले यसको दार्शनिक आयाम विस्तार गरे। महाभारत, रामायण, पुराण, आगम तथा विभिन्न दर्शन र सम्प्रदायहरूको विकाससँगै यो परम्परा अझ विविध र व्यापक बन्दै गयो। शैव, वैष्णव, शाक्त, सौर, गाणपत्य तथा वेदान्तका अद्वैत, विशिष्टाद्वैत र द्वैतजस्ता धाराहरूले हिन्दु धार्मिक–दार्शनिक परम्परालाई बहुल स्वरूप प्रदान गरे। ‘हिन्दु’ शब्दको भाषिक सम्बन्ध संस्कृतसिन्धु तथा पुरानो फारसीहिन्दुसँग जोडिन्छ; प्रारम्भमायसको प्रयोग भौगोलिक अर्थमा भएको र पछि धार्मिक पहिचानका रूपमा विकसित भएको मानिन्छ। यस अर्थमा ‘सनातन धर्म’लाई कुनै एक व्यक्तिले कुनै निश्चित समयमा स्थापना गरेको धर्मभन्दा पनि दक्षिण एसियामा हजारौँ वर्षदेखि विकसित हुँदै आएका वैदिक, दार्शनिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक परम्पराहरूको समष्टिगत सभ्यतागत रूपका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ।

हिन्दु सनातन परम्परा एउटै मत वा एउटै सम्प्रदायमा सीमित नभई अनेक सम्प्रदाय, दर्शन र उपासना–परम्पराहरूको विशाल समुच्चय हो। प्रमुख सम्प्रदायहरूलाई छोटकरीमा यसरी बुझ्न सकिन्छ: हिन्दु धार्मिक परम्पराको एक विशिष्ट विशेषता यसको आन्तरिक दार्शनिक, धार्मिक तथा सम्प्रदायगत बहुलता हो। यसको कुनै एउटै केन्द्रीय धर्म सिद्धान्त वा एउटै दार्शनिक व्याख्या मात्र छैन; बरु ब्रह्म, आत्मा, जगत, ईश्वर, जीव, कर्म, पुनर्जन्म र मोक्षका विषयमा विभिन्न आचार्य तथा सम्प्रदायहरूले फरक–फरक दृष्टिकोण विकसित गरेकाछन्। आदि शङ्कराचार्यको अद्वैत वेदान्तले आत्मा र ब्रह्मको अन्तिम अभिन्नतामा जोड दिँदै ब्रह्मलाई परम सत्य मान्छ भने रामानुजाचार्यको विशिष्टाद्वैतले ब्रह्म, जीव र जगतबीच अभिन्नता तथा विशिष्ट भिन्नताको सम्बन्ध स्थापित गर्छ। मध्वाचार्यको द्वैतवेदान्तले जीव र परमेश्वरबीचको वास्तविक भिन्नतालाई स्वीकार गर्दै विष्णुलाई सर्वोच्च परमेश्वर मान्छ; निम्बार्काचार्यको द्वैताद्वैत, वल्लभाचार्यको शुद्धाद्वैत तथा चैतन्य परम्पराको अचिन्त्य भेदाभेदले पनि ब्रह्म, जीव र जगतको सम्बन्धलाई आफ्नै विशिष्ट ढङ्गले व्याख्या गरेका छन्। दार्शनिक विविधतासँगै शैव, वैष्णव, शाक्त, सौर, गाणपत्य र स्मार्तजस्ता उपासना–परम्पराहरूले हिन्दु धार्मिक संसारलाई अझ व्यापक बनाएका छन्। शैव परम्पराले शिवलाई, वैष्णवले विष्णु तथा उनका अवतारलाई, शाक्तले देवी वा शक्तिलाई, सौरले सूर्यलाई र गाणपत्यले गणेशलाई सर्वोच्च आराध्यका रूपमा स्वीकार गर्ने विभिन्न धाराहरू विकास गरेका छन्। यसरी हेर्दा हिन्दुधर्मलाई एउटै मत, दर्शन वा उपासना पद्धतिमा सीमित गर्नुभन्दा विभिन्न दार्शनिक सिद्धान्त, देवोपासना, योग, तन्त्र, भक्ति र आध्यात्मिक साधनाहरूलाई समेटेको बहुल धार्मिक–दार्शनिक परम्पराका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ।

हिन्दु सनातन दार्शनिक परम्परामा “दर्शन” भन्नाले केवल धार्मिक विश्वास होइन, जगत्, आत्मा, ईश्वर, ज्ञान, कर्म, दुःख, मोक्ष र परमसत्यको स्वरूपबारे व्यवस्थित चिन्तन गर्ने पद्धति बुझिन्छ। परम्परागत रूपमा वैदिक दर्शनका षड्दर्शन प्रसिद्ध छन्, तर सनातन दर्शन त्यसभन्दा धेरै व्यापक छ। सनातन दर्शनको इतिहासमा वैदिक (आस्तिक) र अवैदिक (नास्तिक) दर्शन दुई महत्त्वपूर्ण धाराका रूपमा विकसित भएका छन्। वैदिक दर्शनले वेदको प्रामाणिकता स्वीकार गर्छ; यसका प्रमुख षड्दर्शनमा सांख्यका प्रणेता कपिल, योगका प्रणेता पतञ्जलि, न्यायका प्रणेता गौतम/अक्षपाद, वैशेषिकका प्रणेता कणाद, पूर्वमीमांसाका प्रणेता जैमिनि र वेदान्तका प्रणेता बादरायण (व्यास) मानिन्छन्। सांख्यको प्रमुख ग्रन्थसांख्यकारिका  ईश्वर कृष्ण (करिब चौथो–पाँचौँ शताब्दी ई.) को हो; योगको मूल ग्रन्थ योग सूत्र  पतञ्जलिसँग सम्बद्ध छ; न्यायकोन्यायसूत्र, वैशेषिकको वैशेषिक सूत्र, पूर्वमीमांसाको मीमांसासूत्र र  वेदान्तकोब्रह्मसूत्र क्रमशः गौतम, कणाद, जैमिनि र बादरायणसँग सम्बद्ध छन्। यी दर्शनहरूको काल लामो विकासक्रममा फैलिएको भएपनि सामान्यतः ईसापूर्व पहिलो सहस्राब्दीको मध्यदेखि ईस्वीको प्रारम्भिक शताब्दीसम्म तिनका मूल सूत्र परम्पराहरू विकसित भएको मानिन्छ। अर्को तर्फ, अवैदिक दर्शनले वेदलाई अन्तिम प्रमाणकारूपमा स्वीकार गर्दैन; यसका प्रमुख धारामा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्ध (करिब ईसापूर्व ५औँ–४औँ शताब्दी), जैन दर्शनका तीर्थंकर महावीर (करिब ईसापूर्व ६औँ–५औँ शताब्दी) र चार्वाक/लोकायत दर्शन पर्दछन्। बौद्ध परम्पराका प्रमुख ग्रन्थत्रिपिटक, जैन परम्पराकाआगम तथा चार्वाकमतका मूल ग्रन्थहरू लोप भइसकेकाले त्यसका विचार मुख्यतः पछिल्ला आलोचनात्मक ग्रन्थहरूबाट (जीनसुत्र) ज्ञात हुन्छन्। यसरी वैदिक र अवैदिक दुवैधाराले आत्मा, जगत्, ज्ञान, कर्म, दुःख, मोक्ष तथा जीवनको उद्देश्यबारे गहन विमर्श गर्दै भारतीय बौद्धिक परम्परालाई समृद्ध बनाएकाछन्।

यसरी हिन्दु सनातन परम्पराका प्रमुख ग्रन्थहरूलाई एउटै श्रेणीमा राख्नुभन्दा श्रुति, स्मृति, इतिहास, पुराण, दर्शनरआगम–तन्त्रकारूपमा वर्गीकरण गर्नुबढी शास्त्रीय हुन्छ।

श्रुति — वेद: हिन्दु परम्परामा वेदलाई सर्वोच्च श्रुति प्रमाण मानिन्छ। चार वेद हुन्:

  • ऋग्वेद — देवता, प्रकृति, यज्ञ, प्रार्थना र दार्शनिक चिन्तनसम्बन्धी सूक्तहरूको संग्रह।
  • यजुर्वेद — यज्ञ तथा वैदिक कर्मकाण्डका मन्त्र र विधिसँग सम्बन्धित।
  • सामवेद — मुख्यतः ऋग्वैदिक मन्त्रहरूको सामगान तथा वैदिक संगीत–परम्परासँग सम्बन्धित।
  • अथर्ववेद — गृहजीवन, स्वास्थ्य, शान्ति, संरक्षण, प्रार्थना तथा विविध धार्मिक मन्त्रसँग सम्बन्धित।

वेदसँग सम्बन्धित ब्राह्मण, आरण्यक र उपनिषद्ग्रन्थहरूले क्रमशः यज्ञविधि, आध्यात्मिक चिन्तन र ब्रह्म–आत्मा सम्बन्धी दार्शनिक प्रश्नहरूको विकास गरेकाछन्।

उपनिषद्

उपनिषद्हरू वैदिक परम्पराको दार्शनिक उत्कर्षका प्रमुख ग्रन्थ हुन्। ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डूक्य, तैत्तिरीय, ऐतरेय, छान्दोग्य र बृहदारण्यकआदि प्रमुख उपनिषद्हुन्। आत्मा, ब्रह्म, जगत, ज्ञान, कर्म र मोक्षजस्ता विषयमा यिनले गहन दार्शनिक चिन्तन प्रस्तुत गर्छन्।

इतिहास — रामायण र महाभारत

वाल्मीकि रामायणले राम, सीता, लक्ष्मण, हनुमान तथा धर्म, आदर्श राज्य र कर्तव्यका आख्यान प्रस्तुत गर्छ।महाभारतभने भारतीय धार्मिक, नैतिक, राजनीतिक र दार्शनिक साहित्यको विशाल ग्रन्थ हो। यसको महत्वपूर्ण अंशभगवद्गीताहो, जसमा कर्मयोग, ज्ञानयोग, भक्तियोग, आत्मा, ब्रह्म, धर्म र मोक्षसम्बन्धीशिक्षाहरू प्रस्तुत छन्।

पुराण

पुराणहरूले देवता, सृष्टि, प्रलय, वंशावली, तीर्थ, धर्म, आख्यान तथा भक्ति परम्परालाई लोकप्रिय र विस्तृत स्वरूप दिएकाछन्। परम्परागत रूपमा १८ महापुराण मानिन्छन्। ती मध्ये विष्णु पुराण, भागवत पुराण, शिव पुराण, लिङ्ग पुराण, मार्कण्डेय पुराण, देवी भागवत पुराण, गरुड पुराण, स्कन्द पुराण, ब्रह्म पुराण र ब्रह्मवैवर्त पुराणआदि विशेष प्रसिद्ध छन्।

धर्मशास्त्र र स्मृति ग्रन्थ

सामाजिक आचार, धर्म, संस्कार, कर्तव्य, कानुन र सामाजिक व्यवस्थासम्बन्धी साहित्यलाईधर्मशास्त्रीय परम्परामा राखिन्छ। मनुस्मृति, याज्ञवल्क्यस्मृति, नारदस्मृति र पराशरस्मृति यसका प्रमुख ग्रन्थ हुन्। यिनलाई वेद जस्तो श्रुति  नभई स्मृति परम्पराका ग्रन्थकारूपमा छुट्याइन्छ।

दर्शनका मूल ग्रन्थ: हिन्दु दार्शनिक परम्पराकाषड्दर्शनसँग सम्बन्धित प्रमुख आधार ग्रन्थहरूपनि अत्यन्त महत्वपूर्ण छन्:

  • न्यायसूत्र — गौतम, वैशेषिक सूत्र — कणाद, सांख्यकारिका — ईश्वरकृष्ण, योगसूत्र — पतञ्जलि, मीमांसा सूत्र — जैमिनि, ब्रह्मसूत्र — बादरायण/व्यास परम्परा आदि।

आगम र तन्त्र: शैव आगम, वैष्णव पाञ्चरात्र तथा वैखानस आगम, शाक्त तन्त्र र श्रीविद्या परम्परा हिन्दु उपासना, मन्दिर, मूर्तिप्रतिष्ठा, मन्त्र, ध्यान, योग तथा साधनासँग सम्बन्धित महत्वपूर्ण ग्रन्थीय परम्परा हुन्। अन्य महत्वपूर्ण ग्रन्थ: योगवासिष्ठ, अध्यात्म रामायण, रामचरितमानस, भगवत्पुराण, देवीमाहात्म्य, विष्णुसहस्रनाम, शिवमहिम्नस्तोत्र, सौन्दर्यलहरीआदि पनि विभिन्न हिन्दुसम्प्रदायमा अत्यन्त लोकप्रिय र प्रभावशाली ग्रन्थ तथा स्तोत्र–परम्पराका उदाहरण हुन्।

सनातन हिन्दू धर्मकोवंश–परम्परालाई सामान्यतः एउटै जैविक वारक्तवंशकारूपमा नभई ऋषि–परम्परा, गुरु–शिष्य परम्परा, देव–वंश र राजवंशीय परम्पराका विभिन्न धाराबाट बुझिन्छ। यसको कुनै एक संस्थापक वा एकल उत्तराधिकार छैन। वैदिक परम्परामा ज्ञानश्रुति →ऋषि→गुरु–शिष्य→आचार्य→शिष्य हुँदै पुस्तौँसम्म हस्तान्तरण भएको मानिन्छ।

१. वैदिक ऋषि–परम्परा: ब्रह्मा →प्रजापति→सप्तर्षि→वैदिकऋषि→आचार्य→गुरु–शिष्य परम्परा हो । सप्तर्षिहरूको सूची विभिन्न ग्रन्थ र मन्वन्तरअनुसार फरक–फरक पाइन्छ। वैदिक परम्परामा वसिष्ठ, विश्वामित्र, अत्रि, भारद्वाज, गौतम, कश्यप र जमदग्निआदि प्रमुख ऋषि–परम्पराकारूपमा प्रसिद्ध छन्।

२. मनु–परम्परा: सनातन धर्मको सामाजिक तथा नैतिक परम्परामा मनुको विशेष स्थान छ।

ब्रह्मा →मरीचिआदि प्रजापति→वैवस्वतमनु→मानव समाज हो। पुराणिकपरम्पराअनुसार वर्तमान मन्वन्तरका मनुवैवस्वत मनु हुन्। मनुबाट मानव वंशको विस्तार भएको वर्णन विभिन्न पुराणमा पाइन्छ।

३. सूर्यवंश: हिन्दू परम्पराको प्रमुख राजवंशमध्ये सूर्यवंश हो। सूर्य →वैवस्वतमनु→इक्ष्वाकु→सूर्यवंशीयराजाहरू→रघुवंश→श्रीराम। इक्ष्वाकुबाट विकसित भएको यो वंश रघुवंशकारूपमा पनि प्रसिद्ध भयो । यसै परम्परामा श्रीरामको जन्म भएको मानिन्छ ।

४. चन्द्रवंश: अर्को प्रमुख राजवंश चन्द्रवंश हो। ब्रह्मा →अत्रि→चन्द्र→बुध→पुरूरवा→आयु→नहुष→ययाति→पुरु→कुरुवंश→पाण्डव–कौरव। यही परम्पराबाट कुरु, पाण्डु, धृतराष्ट्र, पाण्डव र कौरवको वंश विकसित भएको महाभारतमा वर्णित छ।

५. यदुवंश: चन्द्रवंशकै एउटा महत्त्वपूर्ण शाखा यदुवंश हो। ययाति→यदु→यदुवंश→वृष्णि–अन्धकआदि शाखा→वसुदेव→श्रीकृष्ण। त्यसैले श्रीकृष्णलाई हिन्दू परम्परामा यदुवंशी तथा चन्द्रवंशीय परम्परासँग सम्बन्धित मानिन्छ।

६. गुरु–शिष्य परम्परा: सनातन धर्मको सबैभन्दा महत्त्वपूर्ण ‘वंश’ भनेको ज्ञानको वंश हो। उदाहरणकारूपमा: नारायण →ब्रह्मा→नारद आदिऋषि→व्यास→शुकदेव→आचार्य–शिष्य परम्परा हो। वेद, उपनिषद्, योग, वेदान्त,  सांख्य, मीमांसा आदि दर्शनमा यस्ता गुरु–शिष्य परम्पराहरू विकसित भए। पछि शंकराचार्य, रामानुजाचार्य, मध्वाचार्य, निम्बार्काचार्य, वल्लभाचार्यआदि आचार्यहरूले आफ्ना-आफ्ना दार्शनिक सम्प्रदायलाई व्यवस्थित गरे।

सप्तर्षि परम्परा र युगचक्र

सनातन हिन्दू परम्परामा सप्तर्षि, युगचक्र, आश्रम–वर्ण व्यवस्था र ज्ञानपरम्परा मानव सभ्यता, धर्म, संस्कार र आध्यात्मिक विकासका महत्वपूर्ण आधार मानिन्छन्। वर्तमान वैवस्वतमन्वन्तरका सप्तर्षिकारूपमा कश्यप, अत्रि, वसिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि र भारद्वाजलाई उल्लेख गरिन्छ र उनीहरूलाई ज्ञान, तपस्या तथा वैदिक परम्पराका संरक्षकका रूपमा मानिन्छ। सनातन कालदृष्टिमा समय चक्रीय छ र सत्य, त्रेता, द्वापर तथा कलिगरी चार युगको अवधारणा छ; प्रत्येक मन्वन्तरमा मनु, इन्द्र, देवगण र सप्तर्षिको व्यवस्था हुने तथा ७१ महायुग मिलेर एक मन्वन्तर बन्ने पुराणिक मान्यता छ। यसरी महायुग→मन्वन्तर→कल्पको कालचक्र मार्फत धर्म, ज्ञान र सभ्यताको निरन्तरतालाई व्याख्या गरिन्छ।

सनातन सामाजिक दर्शनमा चार आश्रम—ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यासले मानिसको जीवनलाई शिक्षा, परिवार–कर्तव्य, वैराग्य र मोक्ष साधनाका चरणमा विभाजन गर्छन् भने चार वर्ण—ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रले अध्ययन–अध्यापन, शासन–सुरक्षा, कृषि–व्यापार तथा सेवा–श्रमजस्ता सामाजिक भूमिकाको अवधारणा प्रस्तुत गर्छन्; भगवद्गीताको “गुणकर्म विभागशः ”सिद्धान्तले वर्णलाई गुण र कर्मसँग जोडेको छ। त्यस्तै, ज्ञान प्राप्ति केवल सूचना वा पुस्तकको जानकारी नभई आत्मा, जगत् र परम सत्यको बोधहो; यसको साधनामा जिज्ञासा, श्रवण, मनन, निदिध्यासन, ध्यान र अन्ततः आत्मबोध वा साक्षात्कारतर्फको यात्रा समावेश हुन्छ। यसरी सनातन परम्पराले ऋषि–ज्ञान, कालचक्र, जीवन–व्यवस्था, सामाजिक कर्तव्य र आत्मबोधलाई परस्पर सम्बन्धित समग्र जीवन दर्शनका रूपमा प्रस्तुत गर्छ।

१. जिज्ञासा — जान्ने इच्छा: ज्ञानको पहिलो अवस्था जिज्ञासा हो । मानिसले “म को हुँ ?”, “यो संसार के हो ?”, “जीवनको उद्देश्य के हो ?”, “सत्य के हो ?” जस्ता प्रश्न गर्न थालेपछि ज्ञानयात्रा प्रारम्भ हुन्छ। २. श्रवण — सत्यको सुनाइ: गुरु, शास्त्र र अनुभवी आचार्यबाट सत्यसम्बन्धी ज्ञान ग्रहण गर्नु श्रवण हो। वेदान्तमा श्रवणलाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

३. मनन — विचार र तर्क: सुनेको ज्ञानलाई अन्धरूपमा स्वीकार नगरी त्यसमा विचार, तर्क र चिन्तन गर्नु मनन हो। श्रवणले ज्ञानको विषय प्रस्तुत गर्छ भने मननले त्यसलाई बुद्धिमा स्पष्ट बनाउँछ।

४. निदिध्यासन — गहिरो ध्यान: वेदान्तीय परम्परामा मननबाट स्पष्ट भएको सत्यलाई निरन्तर ध्यान र आत्मचिन्तनद्वारा चेतनामा स्थापित गर्नु निदिध्यासन हो ।

५. अनुभव — प्रत्यक्ष आत्मबोध: ज्ञानको उच्च अवस्था अनुभूति वा आत्म साक्षात्कार हो । यहाँ “आत्मा के हो ?” भन्नेप्रश्नको उत्तर केवल शास्त्रबाट थाहा हुने होइन, साधकले त्यसको प्रत्यक्ष आध्यात्मिक अनुभूति गर्ने लक्ष्य राख्छ।

६. विवेक र वैराग्य: ज्ञानमार्गमा विवेक र वैराग्यलाई आधारभूत साधना मानिन्छ। विवेकले नित्य र अनित्य, सत्य र असत्य, आत्मा र अनात्माबीचको भेद बुझ्न सहयोग गर्छ। वैराग्यले क्षणिक भौतिक आकर्षण र आसक्तिबाट मनलाई क्रमशः मुक्त बनाउँछ।

७. समाधि र आत्मसाक्षात्कार: योग दर्शनमा चित्तको एकाग्रता क्रमशःधारणा →ध्यान→समाधितर्फ विकसित हुन्छ। समाधिको उच्च अवस्थामा चित्तका विक्षेपहरू अत्यन्त सूक्ष्म हुँदै जान्छन्।

योग र ध्यान: सनातन भारतीय दर्शनमा योग शरीर, मन, प्राण र चेतनालाई अनुशासित गर्दै आत्मबोधतर्फ लैजाने साधना हो। ध्यानयोगको महत्वपूर्ण अंग हो। पतञ्जलिको योगसूत्रमा योगलाई “चित्तवृत्ति निरोध” अर्थात् चित्तकावृत्तिहरूको निरोधकारूपमा परिभाषित गरिएको छ। योगका आठ अंगहुन्।

  1. यम — अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रहजस्ता सामाजिक–नैतिक अनुशासन।
  2. नियम — शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधान।
  3. आसन — शरीरलाई स्थिर, स्वस्थ र ध्यान योग्य बनाउने अभ्यास।
  4. प्राणायाम — श्वास–प्रश्वासको नियमनद्वारा प्राणशक्तिलाई अनुशासित गर्ने अभ्यास।
  5. प्रत्याहार — इन्द्रियहरूलाई बाह्य विषयबाट क्रमशः अन्तर्मुखी बनाउने अवस्था।
  6. धारणा — मनलाई एउटा विषय, बिन्दु वा भावमा केन्द्रित गर्ने अवस्था।
  7. ध्यान — एउटै विषयमा चित्तको निरन्तर र अविच्छिन्न प्रवाह।
  8. समाधि — ध्यानको चरम अवस्था, जहाँ साधकको चित्त ध्यानको विषयमा अत्यन्त एकाग्र हुन्छ।

ध्यानका अवस्थाहरू: चित्तको चञ्चलता→एकाग्रता→धारणा→ध्यान→समाधि आदि हुन्। सुरुमा मन अनेक विचार, स्मृति र भावनाबाट प्रभावित हुन्छ । अभ्यास बढ्दै जाँदा चित्त एक विषयमा स्थिर हुन थाल्छ। निरन्तर एकाग्रताध्यानमा परिणत हुन्छ र ध्यान गहिरिँदैजाँदा समाधिको अवस्था आउने योग दर्शनको धारणा छ।

देवासुर सङ्ग्राम : इतिहास, परम्परा र प्रेरणा :

सनातन हिन्दू परम्परामा देवासुरसङ्ग्राम एउटै ऐतिहासिक युद्ध नभई वैदिक, महाकाव्य तथा पुराणिक साहित्यमा विभिन्न काल र प्रसङ्गमा वर्णित देव–असुर संघर्षहरूको सामूहिक अवधारणा हो; ऋग्वैदिक परम्परामा इन्द्र–वृत्र संघर्ष प्रमुख छ भने पछिल्ला पुराणिक आख्यानमा देव–दैत्य/दानवयुद्धहरू विस्तृत भएका छन्। पुराणिकवंश परम्परा अनुसार कश्यप प्रजापतिका पत्नीअदिति र दितिबाट क्रमशः देव र दैत्यहरूको वंश विस्तार भएको मानिन्छ; प्रमुख देवतामा इन्द्र, अग्नि, वरुण, सोम, विष्णु, रुद्र/शिव, स्कन्दआदि तथा प्रमुख असुर/दैत्यमा हिरण्याक्ष, हिरण्यकशिपु, वृत्रासुर, प्रह्लाद, विरोचन, महाबली, बाणासुर, तारकासुर, त्रिपुरासुरका तारकाक्ष, कमलाक्ष र विद्युन्‍माली, महिषासुरआदि नाम आउँछन्। समुद्रमन्थनमा देव र असुरले मिलेर अमृत प्राप्त गर्ने प्रयास गरेको कथा, हिरण्यकशिपु–नरसिंह, महिषासुर–दुर्गा,  तारकासुर–स्कन्द/कार्तिकेय तथा त्रिपुरासुर–शिवका युद्ध यस परम्पराका प्रसिद्ध प्रसङ्गहुन्; त्रिपुरका तीन नगर क्रमशः तारकाक्ष, कमलाक्ष र विद्युन्‍मालीसँग सम्बन्धित रहेको पुराणिक वर्णन पाइन्छ र अन्ततः शिवद्वारा त्रिपुरको विनाश भएको कथा छ। विशेषतः तारकासुरको विस्तृत आख्यान पुराणहरूमा विकसित भएको देखिन्छ, र उपलब्ध अनुसन्धानले यसको स्वरूप महाभारतकालीन सामग्रीभन्दा पछिल्ला पुराणिक विकाससँग जोडिएको संकेत गर्छ। यसरी देवासुरसङ्ग्रामलाई केवल देवता र असुरबीचको युद्धको इतिहासकारूपमा मात्र होइन, धर्म–अधर्म, दैवी–आसुरी प्रवृत्ति तथा व्यवस्था–अव्यवस्था बीचको निरन्तर संघर्षको धार्मिक–दार्शनिक प्रतीककारूपमा पनि सनातन परम्पराले ग्रहण गरेको छ।

‘आर्य’ र ‘आर्यावर्त’ : ऐतिहासिक–भाषाशास्त्रीय पुनर्व्याख्या

प्राचीन भारतीय तथा इरानी परम्परामा प्रयुक्त‘आर्य’ (Ārya/arya)शब्दलाई आधुनिक अर्थमा बुझिने जैविक वा नस्लीय ‘जाति’सँग समान ठान्नु ऐतिहासिक, भाषाशास्त्रीय र आनुवंशिक दृष्टिले उचित हुँदैन; ऋग्वेद तथा उत्तरवैदिकसाहित्यमा ārya शब्द सन्दर्भअनुसार सम्माननीय, श्रेष्ठ आचरण भएको, सभ्य, सामाजिक रूपमा स्वीकृत वा आफ्नै समुदायलाई जनाउने पहिचानकारूपमा प्रयुक्त भएको देखिन्छ र यसको विपरीत सन्दर्भमा दास/ दस्यु जस्ता शब्दहरूआउँछन्, तर तिनलाई आधुनिक ‘race’ अर्थात् जैविक नस्लको निश्चित वर्गीकरणकारूपमा प्रमाणित गर्न सकिँदैन; संस्कृत, अवेस्तीय तथा प्राचीन इरानी भाषिक परम्परामा यसको सम्बन्धित रूप भेटिन्छ र पछि भारतीय तथा बौद्ध साहित्यमा ārya शब्द सम्माननीय व्यक्ति, साधक तथा‘आर्यसत्य’ (ārya-satya)जस्ता धार्मिक–दार्शनिक अर्थमा समेत प्रयोग भयो; आधुनिक भाषाविज्ञानमा ‘Indo-Aryan’ भनेको मुख्यतः इन्डो–इरानी/इन्डो–युरोपेली भाषिक वर्गीकरणसँग सम्बन्धित शब्द हो, जबकि उन्नाइसौँ शताब्दीमा युरोपेली भाषा शास्त्रीय अध्ययनसँगै केही विद्वान् तथा जातिवादी विचारधाराले भाषिक नातेदारीलाई जैविक ‘Aryan race’मा रूपान्तरण गर्ने प्रयास गरे; म्याक्समूलरले पनि ‘आर्य’लाई मूलतः भाषा तथा भाषिक समुदायको सन्दर्भमा बुझ्नुपर्ने धारणा व्यक्त गरेका थिए, र आधुनिक इतिहासकार थोमस आर. ट्राउटम्यानलगायतका विद्वान्हरूले ‘आर्य’ अवधारणा कसरी भाषिक अर्थबाट जातीय व्याख्यातर्फ रूपान्तरित भयो भन्ने विश्लेषण गरेका छन्; आधुनिक पुरातात्त्विक, भाषाशास्त्रीय तथा प्राचीन DNA अध्ययनहरूले दक्षिण एसियाको जनसंख्या दीर्घकालीन जनसमूहको आवागमन, मिश्रण र सांस्कृतिक–भाषिक आदानप्रदानबाट बनेको देखाउँछन्, र केही आनुवंशिक अध्ययनले दोस्रो सहस्राब्दी ईसापूर्वतिर दक्षिण एसियामा Steppe-related ancestry ((घाँसे मैदान) क्षेत्रसँग सम्बन्धित पुर्ख्यौली आनुवंशिक वंश–सम्बन्ध”)को आगमन तथा यसको इन्डो–इरानीभाषिक विस्तारसँग सम्भावित सम्बन्ध देखाएपनि त्यसलाई ‘आर्य जाति’ वा कुनै शुद्ध नस्लसँग समान ठान्न मिल्दैन; हडप्पा सभ्यता सम्बन्धी आनुवंशिक प्रमाणलेपनि विभिन्न प्राचीन ancestry को जटिल मिश्रण देखाउँछ, त्यसैले भाषा बोल्नु, सांस्कृतिक पहिचान राख्नु र जैविक वंश एउटै कुरा होइनन्। त्यसैगरी‘आर्यावर्त’ (Āryāvarta)लाई पनि प्राचीनकालदेखि आजसम्म एउटै स्थिर राजनीतिक भूभाग मान्न मिल्दैन; धर्मसूत्र तथा धर्मशास्त्रीय परम्परामा यसको सीमा ग्रन्थ, काल र सामाजिक–धार्मिक सन्दर्भ अनुसार परिवर्तनशील देखिन्छ; बौधायन धर्मसूत्रमा आर्यावर्तलाई सरस्वती नदी हराउने क्षेत्रको पूर्वदेखि कालकवनको पश्चिमसम्म, हिमालयको दक्षिण तथा पारियात्र/विन्ध्यक्षेत्रको उत्तरसम्मको भूभागसँग सम्बन्धित गरिएको पाइन्छ, जबकि अन्य व्याख्यात्मक परम्परामा गंगा–यमुनाबीचको भूभागलाई समेत यसको केन्द्र मानिएको देखिन्छ; मनुस्मृतिमा हिमालय र विन्ध्यबीच तथा पूर्व–पश्चिम समुद्रसम्म फैलिएको क्षेत्रलाई आर्यावर्त भनिएको पाठ पाइन्छ र त्यही परम्परामा ब्रह्मावर्त, ब्रह्मर्षिदेश तथा मध्यदेशजस्ता विशिष्ट धार्मिक–भौगोलिक क्षेत्रकोपृथक् उल्लेख छ; यसबाट आर्यावर्त केवल राजनीतिक सीमारेखा नभई धर्म, यज्ञ, वैदिक आचार, सामाजिक मर्यादा र सांस्कृतिक स्वीकृतिको भू–सांस्कृतिक क्षेत्रकारूपमा पनि विकसित भएको बुझिन्छ, जसको भौगोलिक परिधि समयक्रममा विस्तार, पुनर्व्याख्या र सांस्कृतिक पुनर्निर्माण हुँदै गएको हुनसक्छ; अतः नेपाल वा सम्पूर्ण हिमालय क्षेत्रलाई ‘आर्यावर्त’को निश्चित र सर्वकालिक भूभाग थियो भनेर पूर्व निर्धारित निष्कर्ष निकाल्नुको सट्टा सम्बन्धित मूलग्रन्थको काल, पाठपरम्परा, भौगोलिक संकेत, लेखक/सम्प्रदायको दृष्टिकोण तथा तत्कालीन सामाजिक–राजनीतिक परिस्थितिको तुलनात्मक अध्ययन आवश्यक हुन्छ; समग्र प्रमाणलाई हेर्दा‘आर्य’, ‘Indo-Aryan’ र ‘Aryan race’ तीन अलग अवधारणा हुन्—‘आर्य’ प्राचीन सन्दर्भमा भाषिक, सांस्कृतिक, सामाजिक वा सम्मान सूचक पहिचान हुनसक्छ, ‘Indo-Aryan’ आधुनिक भाषा वैज्ञानिक वर्गीकरण हो, र ‘Aryan race’ उन्नाइसौँ शताब्दीमा विकसित भएको जातीय–नस्लीय अवधारणा हो; त्यसैले उपलब्ध वैदिक, अवेस्तीय, संस्कृत, बौद्ध, धर्मसूत्र–धर्मशास्त्रीय, पुरातात्त्विक, भाषा शास्त्रीय तथा आनुवंशिक प्रमाणका आधारमा ‘आर्य’लाई कुनै एकरूप, शुद्ध र स्थिर जैविक जातिका रूपमा होइन, समय, स्थान र सन्दर्भअनुसार अर्थ परिवर्तन गर्दै आएको ऐतिहासिक–भाषिक–सांस्कृतिक अवधारणाका रूपमा अध्ययन गर्नुनै अधिक प्रमाणसम्मत र शैक्षिक रूपमा विश्वसनीय निष्कर्ष हुन्छ।

पुनर्जन्म, कर्म र धार्मिक आचरण

हिन्दु धार्मिक परम्पराका विभिन्न धारामाकर्म, पुनर्जन्म, धर्म, मोक्ष, पूजा, ध्यान, योग, यज्ञ, भक्ति र ज्ञान जस्ता अवधारणाहरूले महत्वपूर्ण स्थान ओगटेका छन्, तर यी अवधारणाको अर्थ, प्राथमिकता र साधनाको स्वरूप सबै सम्प्रदायमा समान छैन। उदाहरणकालागि, कर्मलाई कुनै परम्पराले नैतिक कारण–कार्यको सिद्धान्तकारूपमा, कुनैले वैदिक कर्तव्यकारूपमा र कुनैले मोक्षप्राप्तिको मार्गमा पार गर्नुपर्ने अवस्थाका रूपमा व्याख्या गर्छ। त्यसैगरी मोक्षलाई अद्वैत वेदान्तले ब्रह्मज्ञानद्वारा आत्म–ब्रह्म अभेदको अनुभूतिसँग जोड्छ भने वैष्णव परम्पराहरूले ईश्वर प्राप्ति, भक्ति वा परमेश्वरको अनुग्रहसँग जोडेर व्याख्या गर्न सक्छन्। योग, ध्यान, यज्ञ, भक्ति र ज्ञान पनि विभिन्न सम्प्रदायमा फरक–फरक प्राथमिकताका साथ प्रयोग भएका छन्। त्यसैले हिन्दुधर्मलाई एउटै अपरिवर्तनीय सिद्धान्तमा सीमित गर्नुको सट्टा यसको साझा अवधारणा र सम्प्रदायगत भिन्नतालाई तुलनात्मक रूपमा अध्ययन गर्नु आवश्यक हुन्छ। यस दृष्टिले हिन्दु धार्मिक परम्परा एउटा एकरूप सिद्धान्तभन्दा विभिन्न दार्शनिक मत, साधना–पद्धति र धार्मिक अनुभवहरूबीचको दीर्घकालीन संवाद र अन्तःक्रियाबाट विकसित बहुल परम्पराका रूपमा बुझ्न सकिन्छ।

हिन्दु तथा सनातन बौद्धिक परम्परालेगणित, ज्योतिष तथा खगोलशास्त्र, आयुर्वेद, धातुविज्ञान, व्याकरण, तर्कशास्त्र र दर्शनलगायतकाक्षेत्रमा महत्वपूर्ण ऐतिहासिक योगदान गरेकोतथ्यलाई सम्बन्धित ग्रन्थ, अभिलेख, पुरातात्त्विक प्रमाण र आधुनिक अनुसन्धानकाआधारमा अध्ययन गर्न सकिन्छ। तथापि प्राचीन भारतीय ग्रन्थमा वर्णित धार्मिक आख्यान, अस्त्र वा दार्शनिक अवधारणालाई आधुनिक विज्ञानका विशिष्ट सिद्धान्तसँग प्रत्यक्ष समान ठहर गर्नुप्रमाणकोप्रकृतिकादृष्टिले अलग विषय हो। विशेषतः जे. रोबर्टओपेनहाइमरले भगवद्गीताको प्रसिद्ध श्लोकलाई आफ्नो वैज्ञानिक जीवन र परमाणु बमको परीक्षणपछिको अनुभवसँग जोडेर उद्धृत गरेको ऐतिहासिक प्रसङ्गलाई प्राचीन भारतमा आधुनिक आणविक हतियारको ज्ञान वा प्रयोग थियो भन्ने प्रत्यक्ष प्रमाण मान्न सकिँदैन। त्यस्तै ब्रह्मास्त्रलाई आधुनिक आणविक हतियारकै पूर्वरूप ठहर गर्नपनि स्वतन्त्र पुरातात्त्विक, प्राविधिक वा वैज्ञानिक प्रमाण आवश्यक हुन्छ। अतः प्राचीन भारतीय ज्ञान परम्पराको वास्तविक उपलब्धिलाई सम्मानपूर्वक र प्रमाणमा आधारित रूपमा प्रस्तुत गर्दै धार्मिक आख्यान, दार्शनिक प्रतीक र आधुनिक वैज्ञानिक सिद्धान्तबीच आवश्यक भिन्नता कायम गर्नु नै विश्वविद्यालयस्तरीय अनुसन्धानको अधिक विश्वसनीय पद्धति हुन्छ।

नेपालमा हिन्दुराज्यको ऐतिहासिक विकास र धर्मनिरपेक्ष नेपालमापुनःस्थापनाको समकालीन विमर्श

नेपालको राज्य निर्माण र विकासको इतिहासमा हिन्दु धार्मिक–सांस्कृतिक परम्पराको महत्वपूर्ण प्रभाव देखिए पनि यसलाई सम्पूर्ण इतिहासमा एउटै स्वरूपमा लागू भएको स्थिर व्यवस्था मान्नुभन्दा विभिन्न ऐतिहासिक चरणमा अध्ययन गर्नु उपयुक्त हुन्छ। विशेषतः शाहकालीन राज्य विस्तारसँगै हिन्दु धार्मिक मूल्य, राजकीय संस्कार, धर्म–राज्य सम्बन्ध र राजसंस्थाको वैधानिकताले नेपालको राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेले; आधुनिक संवैधानिक इतिहासमा यसको स्पष्ट अभिव्यक्ति नेपाल अधिराज्यको संविधान, २०४७ (१९९०)को धारा ४ मा देखिन्छ, जसले नेपाललाई “बहुजातीय, बहुभाषिक, प्रजातान्त्रिक, स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, हिन्दू, संवैधानिक राजतन्त्रात्मक अधिराज्य” का रूपमा परिभाषित गरेको थियो, जबकि नेपालको संविधान, २०१९ ले राजालाई आर्य संस्कृतिका अनुयायी तथा हिन्दुधर्मावलम्बीका रूपमा परिभाषित गरेको थियो; यसबाट तत्कालीन राज्यव्यवस्थामा हिन्दु पहिचान, राजसंस्था, राजकीय वैधता, राष्ट्रिय संस्कृति, कानुनी तथा सामाजिक संरचनाबीच निकट सम्बन्ध रहेको देखिन्छ। तर नेपालको इतिहासमा बौद्ध, किराँत, स्थानीय तथा अन्य धार्मिक–सांस्कृतिक परम्पराको समेत महत्वपूर्ण योगदान रहेकाले ‘हिन्दुराज्य’को इतिहासलाई केवल एक धार्मिक समुदायको इतिहासका रूपमा नभई राज्य निर्माण, सांस्कृतिक समन्वय, राजकीय सत्ता , राष्ट्रिय पहिचान र सामाजिक संरचनाको विकाससँग सम्बन्धित राजनीतिक–सामाजिक इतिहासका रूपमा हेर्नु पर्छ। २०६३ सालको अन्तरिम संविधानपछि नेपाल धर्मनिरपेक्ष, समावेशी र गणतान्त्रिक राज्यतर्फ रूपान्तरित भयो र नेपालको संविधान, २०७२ ले धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्‍यो; यस परिवर्तनले हिन्दु संस्कृतिको अन्त्य गरेको भन्दापनि राज्यको संवैधानिक पहिचानलाई धार्मिक तटस्थता, धार्मिक स्वतन्त्रता, समान नागरिकता, बहुधार्मिकता र समावेशिताका आधारमा पुनर्संरचना गरेको बुझिन्छ। यही पृष्ठभूमिमा नेपाललाई पुनः हिन्दु राज्य घोषणा गर्नुपर्ने माग समकालीन राजनीतिक तथा सामाजिक बहसको महत्वपूर्ण विषय बनेको छ, जसमा एक पक्षले नेपालको दीर्घ हिन्दु–सांस्कृतिक विरासत, ऐतिहासिक पहिचान, धार्मिक पर्यटन तथा परम्परागत सभ्यताको संरक्षणलाई आधार बनाउँछ भने अर्कोपक्षले धर्मनिरपेक्षता, सबै धर्मप्रतिको समान राज्य व्यवहार, अल्पसंख्यक अधिकार र आधुनिक लोकतान्त्रिक संवैधानिक मूल्यलाई प्राथमिकता दिन्छ; उपलब्ध जनमतसम्बन्धी अध्ययनहरूले पनि हिन्दुराज्यप्रतिको  उल्लेखनीय समर्थनसँगै धर्मनिरपेक्ष व्यवस्थाप्रतिको महत्वपूर्ण समर्थन रहेको देखाउँछन्। त्यसैले हिन्दु राज्य पुनःस्थापनाको प्रश्नलाई केवल **‘हिन्दु धर्म बनाम धर्मनिरपेक्षता’**को सरल द्वन्द्वमा सीमित गर्नुको सट्टा नेपालको ऐतिहासिक सांस्कृतिक विरासत, धार्मिक स्वतन्त्रता, समान नागरिकता, अल्पसंख्यक अधिकार, राष्ट्रिय पहिचान, राजसंस्था, लोकतन्त्र र संवैधानिक शासनबीचको सम्बन्धका रूपमा अध्ययन गर्नु आवश्यक हुन्छ; समग्रमा, नेपालको हिन्दु राज्यको ऐतिहासिक विकास र वर्तमान धर्मनिरपेक्ष व्यवस्थाबीचको बहस वास्तवमा इतिहास र आधुनिकता, सांस्कृतिक पहिचान र संवैधानिक समानता, परम्परा र लोकतान्त्रिक पुनर्संरचनाबीच सन्तुलन खोज्ने निरन्तर राष्ट्रिय विमर्श हो।

निष्कर्ष

नेपालको इतिहासमा हिन्दु धर्म, संस्कृति, राजसंस्था र राज्य निर्माणबीच गहिरो ऐतिहासिक सम्बन्ध रहेको देखिन्छ। शाहकालीन राज्य विस्तार देखि २०४७ सालको संविधानसम्म हिन्दु पहिचानले नेपालको राजकीय वैधता र राष्ट्रिय पहिचानमा महत्वपूर्ण स्थान ओगटेको थियो। तर २०६३ सालपछिको राजनीतिक रूपान्तरण र २०७२ सालको संविधानले नेपाललाई धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पुनः परिभाषित गर्‍यो। यस परिवर्तनले नेपालको दीर्घ हिन्दु सांस्कृतिक परम्परालाई समाप्त गरेको नभई राज्यको संवैधानिक स्वरूप र धर्मप्रतिको राज्यको भूमिकामा  परिवर्तन ल्याएको हो। त्यसैले वर्तमानमा हिन्दु राज्य पुनःस्थापनाको प्रश्नलाई केवल धार्मिक मागका रूपमा नभई नेपालको ऐतिहासिक पहिचान, सांस्कृतिक विरासत, धार्मिक स्वतन्त्रता, समान नागरिकता, अल्पसंख्यक अधिकार र लोकतान्त्रिक संवैधानिक मूल्यबीचको सन्तुलनसँग जोडेर हेर्नुपर्छ। अन्ततः नेपालको भविष्यको राज्यव्यवस्था जुनसुकै स्वरूपमा विकसित भएपनि त्यसले नेपालको सनातन सांस्कृतिक विरासतको संरक्षण, सबै धार्मिक समुदायको सम्मान, नागरिक समानता, धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यलाई एकसाथ सुनिश्चित गर्न सक्नुपर्छ। यही समन्वयकारी दृष्टिकोण नेपालको ऐतिहासिक निरन्तरता र आधुनिक संवैधानिक आकांक्षाबीचको दिगो सेतु बन्नसक्छ।

प्रमुख सन्दर्भ ग्रन्थहरू

  1. उपनिषद्ग्रन्थहरू — ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डूक्य, तैत्तिरीय, ऐतरेय, छान्दोग्य, बृहदारण्यक आदि।
  2. वाल्मीकि रामायण,
  3. महाभारत
  4. भगवद्गीता
  5. कौटिल्यको अर्थशास्त्र
  6. पाणिनिकोअष्टाध्यायी
  7. पतञ्जलिको योगसूत्र
  8. हिन्दू धर्म का परिचय — डा. सर्वपल्ली राधाकृष्णन
  9. भारतीय संस्कृति के आधार — रामधारी सिंह ‘दिनकर’
  10. संस्कृति के चार अध्याय — रामधारी सिंह ‘दिनकर’
  11. भारत की संस्कृति और सभ्यता — पं. जवाहरलाल नेहरू
  12. हिन्दू धर्म की रूपरेखा — डा. सर्वपल्ली राधाकृष्णन
  13. भारतीय संस्कृति — वासुदेवशरण अग्रवाल
  14. हिन्दू धर्म — पं. मदनमोहन मालवीयसम्बन्धी संकलित साहित्य
  15. भारतीय दर्शन — डा. सर्वपल्ली राधाकृष्णन
  16. भारतीय दर्शन का इतिहास — सुरेन्द्रनाथदासगुप्त
  17. वैदिक संस्कृति — बलदेव उपाध्याय

 

विद्यावाचस्पति

अजयकुमार झा

प्राचार्य : श्री रामनान्दन विशेश्वर महेन्द्र क्याम्पस

जलेश्वर , महोत्तरी , नेपाल