रञ्जन कुमार भण्डारी
महोत्तरी,१४ भदौं ।
महोत्तरीको जलेश्वर स्थित प्रादेशिक अस्पताल जलेश्वरमा पछिल्लो समय डाईलासिस सेवा सुरु भएदेखि डाईलासिस गराउने विरामीहरुले सहजता महसुस गर्न थालेका छन । प्रादेशिक अस्पताल जलेश्वरमा विगतमा डाईलासिस गर्ने सेवा उपलब्ध नहुदा जनकपुर लगायत विभिन्न ठाउमा भौतारिनु परेका महोत्तरीका विरामीहरुले सेवा सुरु भएदेखि नियमित प्रादेशिक अस्पताल जलेश्वरमै डाईलासिस गराउन थालेका हुन । वर्तमानमा १४ जना विरामीले नियमित डाईलासिस गराईरहेको प्रादेशिक अस्पतालले जनाएको छ ।


प्रादेशिक अस्पताल जलेश्वरका डाईलासिस सेवा विभागका ईन्चार्ज डाईलासिस टेक्नोलोजिस्ट विवेक यादवले अस्पतालमा एक पटकमा ६ जनाको डाईलासिस गर्ने व्यवस्था रहेको बताउदै सो मध्ये ३ जनालाई सातामा ३ पटक र ११ जनालाई सातामा २ पटक डाईलासिस सेवा उपलब्ध गराइरहेको बताए । उनले डाईलासिस गर्ने विरामीको समय तालिका विदाको दिनमा समेत फेरबदल नहुने उनले थपे । अस्पतालमा पछिल्लो समय नजिकका विरामीहरु समेत थप आउने क्रममा रहेको उनले थपे ।
ईन्चार्ज यादवले डाईलासिस गर्न अस्पतालमा कुनै समस्या नभएपनि बेला बेला रगत अभावको सामना गर्नु परेको बताए । केहि विरामीलाई समय समयमा रगत समेत चढाउनु पर्ने अवस्था हुने गरेकोमा कुनै समय रगतकै लागि समेत निक्कै असहज हुने गरेको थपे ।
प्रादेशिक अस्पताल जलेश्वरले केन्द्रिय स्वास्थ्य विभाग टेकुबाट विपन्नमा दर्ता भएपछि असार १ गते देखि नियमित सेवा दिदै आएको छ ।