महोत्तरी,१० भदौं ।
महोत्तरीको भंगहा नगरपालिका ५ का १५ युवाहरु मोटरसाईकल मर्मत तालिममा सहभागि भएका छन । एईआईएन को साझेदारी,भंगहा नगरपालिकाको समन्वय र ग्रामिणमुखी युवा अभियान नेपाल(रोयम नेपाल) को आयोजनामा संचालन भएको ४० दिने तालिममा युवाहरु सहभागि भएका हुन ।

सीपमुलक तथा व्यवसायिक ज्ञान प्रदान गरि स्वरोजगार तथा रोजगारीका अवसर सृजना गर्ने उदेश्यका साथ उक्त तालिम संचालन गरिएको रोयम नेपाल कि महोत्तरी संयोजक रञ्जु साहले बताईन ।
पछाडी पारिएका समुदायको सामाजिक तथा आर्थिक उत्थानशिलताका लागि सक्षम वातावरणको सृजना गर्ने उदेश्यका साथ ‘रुपान्तरण परियोजना’ अन्तर्गत उक्त तालिम संचालन गरिएको उनले थपिन ।
तालिम अवधिमा सहभागिहरुलाई मोटरसाईकलको सामान्य परिचय,विभिन्न पार्टपुर्जाको पहिचान,ईन्जिन तथा मेकानिकल प्रमाणी,ब्र्रेक,क्लच,गियर,इलेक्ट्रिकल प्रणाली,टायर तथा अन्य आवश्यक पार्टपुर्जाको मर्मत तथा समस्या पहिचान सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनेछ ।
तालिमले युवाहरुमा प्राविधिक सीप तथा आत्मनिर्भरता अभिवृद्धि गर्दै भविष्यमा आफ्नै मोटरसाईकल मर्मत केन्द्र सञ्चालन गर्न तथा रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा संस्थाको रहेको संयोजक साहले बताईन ।







