बारा र महोत्तरीका ८ सय विद्यार्थीले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन्।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित इन्स्पायर परियोजनाअन्तर्गत सामुदायिक विकास तथा पैरवी मञ्चको सहजीकरणमा छात्रवृत्ति कार्यक्रम सञ्चालन हुन लागेको हो। प्रारम्भिक चरणमा महोत्तरीको औरही र लोहारपट्टी नगरपालिकामा बसोबास गर्ने विद्यार्थीलाई कार्यक्रममा समेटिनेछ।
परियोजनाअन्तर्गत तीन वर्षे डिप्लोमादेखि ६५ दिने सीपमूलक कार्यक्रमसम्म गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने सामुदायिक विकास तथा पैरवी मञ्चका उपाध्यक्ष सोम कार्कीले जानकारी दिए।
शनिबार औरही र लोहारपट्टी नगरपालिकाका स्थायी बासिन्दा विद्यार्थीलाई लक्षित गरी निर्मल लामा बहुप्राविधिक विद्यालयसँग दुईपक्षीय सम्झौता गरिएको छ। यस्तै, सीपसहितको प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले धनुषाको बीपी स्मृति पोलिटेक्निकसँग समेत सम्झौता गरिएको इन्स्पायर परियोजनाका संयोजक निकेश साहले बताए।
परियोजनाले महोत्तरीमा मात्रै ८० जना गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखेको छ। हाल मधेश प्रदेशका निर्मल लामा बहुप्राविधिक विद्यालय, बीपी स्मृति प्राविधिक विद्यालय र जय किसान प्राविधिक विद्यालयसँग परियोजनाले सम्झौता गरेको जनाएको छ।
निर्मल लामा बहुप्राविधिक विद्यालयका प्रमुख रामकुमार चौधरीले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनसक्ने विद्यार्थीका लागि परियोजना महत्वपूर्ण सावित हुने बताए। उनले छात्रवृत्तिले विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा हासिल गरी सीपयुक्त बन्न अवसर प्रदान गर्ने बताए।







