६९ वर्ष पहिले नैं बनेको थियो महोत्तरीको पहिलो एसएलसी परीक्षा दिने विद्यालय

रञ्जन कुमार भण्डारी
महोत्तरी,८ भदौं ।
महोत्तरी सदरमुकाम जलेश्वर स्थित सदरमुकामकै सवैभन्दा जेठो विद्यालयको रुपमा वि.सं. २००८ सालमा स्थापित लक्ष्मी चण्डी मुरारका(ल.च.मु.) माध्यमिक विद्यालयले सोमवार आफ्नो ७५ औ जयन्ती मनाएको छ । ७५ औं वर्षको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विद्यालय परिवारलाई बधाई दिदै उज्जवल भविष्यको कामना गरेका छन । मुख्यमन्त्री यादवले सोहिवेला शिक्षाको महत्व बुझेर विद्यालय स्थापना गरिदिएका विद्यालयका संस्थापक स्व. लक्ष्मी प्रसाद मुरारका र स्व. चण्डी प्रसाद मुरारकाका परिवारका सदस्यहरुलाई धन्यवाद दिदै भविष्यमा पनि शिक्षाको दियो जलाईराख्न उक्त परिवारले भुमिका खेलिरहेको भनेर कामना समेत व्यक्त गरे ।
मुख्यमन्त्री यादवले विद्यालयमा नवनिर्मित नमुना भवनको उदघाटन र संस्थापकको मुर्ति अनावरण समेत गरेका छन ।
कार्यक्रममा पुर्वमन्त्रीहरु,प्रदेश सभासदस्य,विभिन्न राजनितिक दलका नेता,अभिभावक,पुर्व विद्यार्थी सहित विभिन्न प्रसासनिक,सुरक्षा निकाय लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो ।
। वि.सं. २०१४ सालमा महोत्तरीको पहिलो एसएलसी ब्याच संचालन गरेको यहि विद्यालयबाट पुर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्तले एसएलसी उतिर्ण गरेका हुन । उनी पहिलो एसएलसी ब्याचको प्रथम विद्यार्थी थिए ।
यस्तो छ महोत्तरीमा शिक्षाको ईतिहास ः


वि.सं. २००७ साल राणा शासन अन्त्यको साल थियो । यहि समय देशमा प्रजातन्त्र आएको हो र देशभरि शिक्षाको विउ छर्न विद्यालयहरु खोल्नु पर्ने सोचले गति लिएको थियो ।
तत्कालिन समय राणा र उच्च परिवारका व्यक्तिहरुले मात्र शिक्षा हासिल गर्ने अभ्यास थियो । केहि अन्य वर्गका पनि थिए तर संख्या न्युन थियो । देशभरि नै शिक्षा हासिल गर्ने उच्च परिवार वाहेकका थोरै थिए । राजधानी बाहेकका स्थानमा विद्यालयहरु औलामा गन्न सक्ने संख्यामा मात्र थिए । अझै भन्नु पर्दा केहि सयको संख्यामा विद्यालय मात्र थिए । तर प्रजातन्त्र पछि देशमा शिक्षाको लहर चल्यो र विद्यालयहरु धमाधम खुल्न थाले ।
महोत्तरीमै तत्कालिन समय मटिहानी स्थित राजकीय संस्कृत विद्यालय समेत गुरुकुलको स्वरुपमा संचालनमा थिए । उक्त गुरुकुलको स्थापना वि.सं. १७७५ मा भएको तथ्य प्रमाण समेत भेटिएको छ र हाल माध्यमिक सम्मको अध्ययापन हुदैछ । यो बाहेक मनरा सिसवा नगरपालिका स्थित दुर्गा मा.वि. वि.सं. २००२ सालमा स्थापना भएको हो भने महोत्तरीकै हालको जलेश्वर नगरपालिका १२ थरुवाही स्थित श्री सरस्वती माध्यमिक विद्यालय वि.सं. २००४ सालमा स्थापना भयो । उक्त तथ्यांकलाई मुल्यांकन गर्दा सदरमुकाम जलेश्वर स्थित श्री ल.च.मु. माध्यमिक विद्यालय चौथो स्थानमा देखिएपनि हाईस्कुल(एसएलसी) दिने पहिलो विद्यालय भने ल.च.मु. नै हो । यहि विद्यालयले वि.सं. २०१४ सालमा आफ्नो पहिलो ब्याच निकालेको विद्यालयका प्रधानाध्यापक संजिव झा बताउछन ।
ल.च.मु.को स्थापना ः


वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना पछि देशभरि विद्यालयहरु खोल्ने अभियान सुरु भयो र यहि अभियानले महोत्तरीलाई पनि तत्कालिन ल.च.मु. उच्चांङ्गल विद्यालय स्थापनाको शौभाग्य जुरायो । सोहि बेला शिक्षाको दियो बाल्न नागरिक समाज अग्रपंक्तिमा थिए । उनीहरुले शिक्षाको महत्व बुझिसकेकोले जलेश्वरमै विद्यालयको स्थापना गर्न स्थानिय समाजसेवी राम पदारथ मिश्र र बद्री परासरको अगुवाईमा जलेश्वरका केहि समाजसेवी र नागरिक(सोहि बेला जलेश्वरमा मधेशी मुल र पहाडी मुलका नागरिकको बाक्लो मिश्रण थियो ) ले विद्यालय खोल्न समिति बनाए र दाता खोज्न सुरु गरे ।
जलेश्वरका त्यहि बेलाका प्रतिष्ठित व्यापारीको रुपमा आफ्नो पहिचान बनाएका लक्ष्मी प्रसाद मुरारकाले विद्यालयको लागि जग्गा दान दिने प्रतिवद्धत्ता व्यक्त गर्दै हालको विद्यालय रहेको स्थान जलेश्वर नगरपालिका २ मा एक विग्हा र विद्यालय संचालनको लागि धनुषाको हंसपुर कठपुला ११.५ विग्हा जग्गा दान दिए । जग्गा प्राप्ती पछि लक्ष्मी प्रसाद र उनका भाई चण्डी मुरारकाको नाममै २००८ सालमा विद्यालय विधिवत रुपमा सुरु भयो । तर २००८ भन्दा पहिले नै समिति बनिसकेर जलेश्वर नगरपालिका १ स्थित महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय भएको स्थानमा गुरुकुलको रुपमा केहि समय पठन पाठन सुरु गरेका थिए ।