रञ्जन कुमार भण्डारी
महोत्तरी,३१ श्रावण ।
देशैभर एन्टी स्नेक भेनम(एएसभि)को अभाव भैरहदा थोरै एन्टी भेनम सहित महोत्तरीमा भने सर्पदंशको उपचार भैरहेको छ । धेरै स्थानमा एन्टी भेनम हाल उपलब्ध नहुदा उपचारमा समस्या आईरहेकोमा हालसम्म प्रादेशिक अस्पताल जलेश्वर र सर्पदंश उपचार केन्द्र बर्दिवासले भने थोरै एन्टी स्नेक भेनम सहित उपचार गरिरहेको छ । महोत्तरीको बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा हाल ८५ भाईल र प्रादेशिक अस्पताल जलेश्वरमा १४० भाईल मौजदात छ ।

विशालु सर्पले टोकेर विष शरिरमा प्रवेश गरेका विरामीलाई १० देखि १५ भाईलसम्म लाग्न सक्ने प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. रवि श्रीवास्तव बताउछन । उनी आफ्नै जिल्लामा पर्याप्त केश भएकोमा अहिलेको अभावमा अन्य स्थानका विरामी समेत केहि संख्यामा आउन थालेकोमा एक दुई महिना पश्चात एन्टीभेनम अभाव हुन सक्ने बताउछन । उनले थप एन्टीभेनम को उपलब्धताको लागि आफुहरुले प्रयास गरिरहेको बताउछन । हामीसंग पुर्ण रुपमा छैन भन्ने अवस्था नभएपनि विष लागेकै विरामी आईपुगे लक्षण र जोखिम अनुसार उनलाई एन्टी स्नेक भेनम लगाउनु पर्नेमा सजगता स्वरुप थप भाईलको लागि प्रयास भैरहेको बताउछन ।
चालु आर्थिक वर्षकै पहिलो महिना समाप्त हुनै लाग्दा प्रादेशिक अस्पताल जलेश्वरमा मात्र ३३ जना सर्पदंशको उपचारको लागि आएकोमा सो मध्ये ४ जनालाई विषालु सर्पले टोकेको र उनीहरुको उपचारमा कुल ४९ भाईल खपत भएको थियो । विष लागेका ४ विरामी मध्ये २ जना भारतिय थिए ।
यता बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा यहि महिनामा ८४ जना विरामी भर्ना भएकोमा सो मध्ये ६३ जनालाई अविशालु सर्पले, ४ जनालाई गोमन सर्पले,५ जनालाई करैत सर्पले र १२ जनालाई भाईपर सर्पले टोकेका थिए । भाईपरको लागि अर्कै औषधी प्रयोग गरिने र गोमन तथा करैत सर्पको लागि एन्टी स्नेक भेनम प्रयोग हुने गरेकोमा ९ जना विरामीको लागि २४५ भाईल खपत भएको थियो । महोत्तरीको बर्दिवासमा सर्प अत्यधिक देखिने गरिएको र त्यहा सर्प टोकाईको जोखिम समेत अत्यधिक रहेको छ । बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा महोत्तरी बाहेकका जिल्लाहरुबाट पनि सर्पदंशको उपचार गराउन आउने गरेका छन ।







