मो. इसराफिल राइन
महोत्तरी,३० श्रावण ।
ऐतिहासिक तथा धार्मिक नगरी मटिहानीमा पौराणिक, धार्मिक एवं परम्परागत झूलनोत्सव मेला आजदेखि सुरु हुँदैछ। मिथिला संस्कृतिसँग गहिरो सम्बन्ध रहेको यो झूलनोत्सव प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म विशेष धार्मिक विधि तथा परम्पराअनुसार मनाउने गरिन्छ।
मटिहानीस्थित लक्ष्मीनारायण मठबाट भगवान् राम र माता सीताको मूर्तिलाई विशेष रूपमा सजाइएको डोलामा राखी भजन–कीर्तन तथा धार्मिक बाजागाजासहित झूला घरमा पु¥याउने परम्परा रहेको छ। त्यहाँ भगवान् राम र सीताको मूर्तिलाई झुलाउँदै दैनिक रूपमा पूजा–आराधना तथा भजन–कीर्तन गरिन्छ।
दैनिक डोला यात्रा र झुलाउने परम्पराः–
झूलनोत्सवको मुख्य आकर्षणका रूपमा भगवान् राम र सीताको डोला यात्रा रहने गर्दछ। लक्ष्मीनारायण मठबाट भगवान् राम–सीताको मूर्ति डोलामा राखेर श्रद्धालु तथा भक्तजनहरूको सहभागितामा भजन–कीर्तन गर्दै झूला घरसम्म पु¥याइन्छ।
झूला घरमा पुगेपछि धार्मिक विधिअनुसार पूजा–आराधना गरी भगवान् राम र सीताको मूर्तिलाई झुलाउने गरिन्छ। साँझको समयमा हुने भजन–कीर्तन तथा धार्मिक गतिविधिले मटिहानीको वातावरणलाई भक्तिमय बनाउने गर्दछ।
मिथिला संस्कृतिको जीवन्त परम्पराः–
झूलनोत्सव केवल धार्मिक आस्थाको पर्व मात्र नभई मिथिला क्षेत्रको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको उत्सवका रूपमा समेत लिइन्छ। पुस्तौँदेखि चलिआएको यस परम्पराले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको छ।
झूलनोत्सवका अवसरमा स्थानीयवासीसँगै आसपासका विभिन्न स्थानबाट भक्तजन तथा श्रद्धालुहरू मटिहानी आउने गर्दछन्। उत्सव अवधिभर मठ–मन्दिर तथा झूला घर क्षेत्रमा धार्मिक गतिविधि बढ्ने भएकाले मटिहानीको धार्मिक वातावरण थप उल्लासमय बन्ने गर्दछ।







