काठमाडौं,२८ श्रावण ।

 नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि आज नेपाल फर्केका छन । स्वास्थ्य उपचारपछि नेपाल फर्किएका देउवाले मुलुकमा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व रहेको बताएका छन्।

आफ्नो फेसबुकबाट  सन्देशमार्फत देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। उनले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा जनताको चाहनालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

देउवाले परिवर्तन व्यवस्थापनको प्रक्रियामा नेपाली कांग्रेस सहयोग गर्न तयार रहेको बताएका छन्। उनले परिवर्तनका नाममा अन्धाधुन्ध अघि नबढी विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नेपाली कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्ति मिल्नुपर्ने भन्दै उनले वर्तमान संविधान लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त भएकाले यसको संरक्षण तथा संशोधन गर्दा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने पनि देउवाको भनाइ छ। पार्टीमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने भन्दै उनले नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई सामूहिकतामा विश्वास गरेर अघि बढ्न अपिल गरेका छन्। कांग्रेस कुनै व्यक्तिको ‘इगो’मा नभई जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताएका छन्।

युवा पुस्ताले परिवर्तनको माग गरिरहेको स्वीकार गर्दै देउवाले युवालाई अघि बढाउनुपर्ने बताएका छन्। तर, पाका तथा अनुभवी सबै खराब हुन् भन्ने भाष्य सही नभएको भन्दै उनले नयाँ पुस्ताले अनुभवबाट पनि सिक्नुपर्ने धारणा राखेका छन्। आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उनको भनाइ छ।

देउवाले विगतमा मुलुकका जटिल राजनीतिक घटनाक्रम तथा कांग्रेसभित्रका विवाद समाधानमा आफूले भूमिका खेलेको स्मरण गर्दै आगामी दिनमा पनि आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्। पार्टीका निराश कार्यकर्ताको मनोबल बढाउन र उनीहरूको भावनालाई पुनः जोड्नुपर्ने समय आएको भन्दै उनले कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्तालाई त्यसतर्फ लाग्न आग्रह गरेका छन्।

उनले कांग्रेसले आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध रहनुपर्ने पनि बताएका छन्। पार्टी वा नेतृत्व कतै विचलित भएको भए सुधार गर्ने र गल्ती भए पुनः उठेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले तराईदेखि हिमालसम्मका नागरिकका सुझाव, अपेक्षा र आकांक्षालाई आफ्नो यात्राको मार्गदर्शक बनाउने बताएका छन्।

सन्देशको अन्त्यमा देउवाले राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्ने उनको आग्रह छ।

आफ्नो सार्वजनिक जीवनबारे उठ्ने आलोचनाप्रति पनि देउवाले प्रतिक्रिया दिएका छन्। उनले आफूले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै आगामी दिनमा पनि यी मूल्य र मान्यतासँग कुनै सम्झौता नगर्ने बताएका छन्।