महोत्तरी,२३ श्रावण ।
मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा दीर्घकालीन योगदान पुर्यााएका शम्भुनाथ नगरपालिका–१ कचन्दाहाका राजु पासवानलाई बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०८३ प्रदान गरिने भएको छ। पासवानलाई ३४ औँ प्रकाश स्मृति दिवसका अवसरमा साउन २५ गते राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजना हुने कार्यक्रममा ११ हजार पाँच नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने कोषका सचिव मनोहर कुमार पोखरेलले जानकारी दिनुभयो।
समारोहमा मधेश प्रदेश सभाका सभामुख राम आशिष यादव प्रमुख अतिथि तथा उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधीश सुभाष पौडेल विशिष्ट अतिथि रहने पोखरेलले बताउनुभयो ।
पासवान विगत साढे दुई दशकदेखि मानव अधिकार, सामाजिक न्याय र समुदाय सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। विभेद तथा हिंसाबाट प्रभावित समुदायको अधिकार संरक्षण, पीडितको उद्धार, पुनस्र्थापना, कानुनी पैरवी र सामाजिक न्याय प्रवर्धनमा उहाँले पुर्यााएको योगदानलाई सम्मानस्वरूप पुरस्कार प्रदान गर्न लागिएको कोषले जनाएको छ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको साउन १४ गते बसेको बैठकले पासवानलाई एघारौँ पटकको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। इन्सेकद्वारा ‘२१औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित बैद्यनाथ झाले प्राप्त गरेको ५० हजार रुपियाँबाट उक्त कोष स्थापना गरिएको थियो। कोषले ०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने एक जना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
यसैगरी, उर्मिलादेवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार– ०८३ राजगढ गाउँपालिकाकी तथा हाल राजविराज नगरपालिका–६ मा बसोबास गर्दै आएकी शीलमदेवी झालाई प्रदान गरिने भएको छ। प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नी भाइबुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा स्थापना गर्नुभएको उक्त पुरस्कारको राशी २ हजार ५ सय रुपियाँ रहेको छ । मैथिली महिला परिषद्को सिफारिसका आधारमा मैथिली भाषा, लोककला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा लोकगायनमार्फत पुर्याोएको योगदानको कदर गर्दै शीलमदेबी झालाई सम्मान गर्ने निर्णय गरिएको बैद्यनाथ झाले जानकारी दिनुभयो। उहाँका अनुसार स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा प्रत्येक वर्ष मधुश्रावणी पर्वका अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आइएको छ।