नेपालमा मुस्लिम समुदायको आगमन ऐतिहासिक रूपमा विभिन्न कालखण्डमा व्यापार, कूटनीति, सेवा र शरणार्थीकारूपमा भएको पाइन्छ। यसको सुरुवात १३औँ शताब्दीतिर मध्यकालीन मल्लकालमा रत्न मल्लको शासनकालमा काठमाडौँ उपत्यकामा तिब्बत र भारतसँग व्यापार गर्न आएका कश्मीरी व्यापारीहरूको प्रवेशबाट भएको मानिन्छ, जसलाई ‘कश्मीरी मुस्लिम’ भनिन्छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता युक्त मुलुक हो। नेपालको कुल जनसङ्ख्यामा विविधताको ठूलो योगदान छ, जसमा मुस्लिम समुदाय एक प्रमुख धार्मिक र सांस्कृतिक अल्पसङ्ख्यकको रूपमा रहेको छ। नेपाल राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मुस्लिम समुदायको जनसङ्ख्या कुल जनसङ्ख्याको करिब ४.८६ प्रतिशत रहेको छ। यो जनसङ्ख्या मुख्यतया तराई-मधेसका जिल्लाहरूमा केन्द्रित भएता पनि काठमाडौँ उपत्यका र हिमाली तथा पहाडी भेगमा पनि यस समुदायको उल्लेखनीय बसोबास रहेको छ।नेपालमा मुस्लिम धर्मावलम्बीको इतिहास केवल केही दशक वा शताब्दीमा सीमित छैन; यो शताब्दीऔँ पुरानो ऐतिहासिक अन्तरसम्बन्ध, व्यापारिक आदानप्रदान र राज्य निर्माण प्रक्रियासँग जोडिएको छ। चौधौँ शताब्दीभन्दा अघि देखिनै व्यापार, शिल्प, सङ्गीत र सैन्य प्राविधिकका रूपमा नेपाल प्रवेश गरेका मुस्लिमहरूले समय क्रममा यहाँको माटो, संस्कृति र राज्य प्रणालीसँग आफूलाई एकाकार गराउँदै ल्याएका छन्।

नेपालमा मुस्लिम धर्मावलम्बीको अस्तित्वको खोजी केवल उनीहरूको जनसङ्ख्यात्मक उपस्थितिको अध्ययन मात्र होइन। यो उनीहरूले भोगेको ऐतिहासिक प्रक्रिया, सामाजिक-सांस्कृतिक पहिचान, राज्य संरचनासँगको सम्बन्ध, आर्थिक अवस्था र बहुसांस्कृतिक नेपाल निर्माणमा पुर्‍याएको योगदानको बहु आयामिक विश्लेषण पनि हो। प्रस्तुत लेखमा नेपालमा मुस्लिम समुदायको ऐतिहासिक आगमन, उनीहरूको भौगोलिक वितरण, सामाजिक-आर्थिक तथा शैक्षिक स्थिति, राज्यको नीति तथा संवैधानिक व्यवस्था र समकालीन चुनौतीहरूको विस्तृत प्राज्ञिक विश्लेषण गरिएको छ।

ऐतिहासिक विकासक्रम

नेपालमा मुस्लिम धर्मावलम्बीहरूको आगमन र बसोबासको इतिहासलाई विभिन्न ऐतिहासिक कालखण्डमा वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ। मुख्यतया उनीहरूको आगमनलाई व्यापारिक, सैन्य र शरणार्थी प्रकृतिका रूपमा विश्लेषण गर्न सकिन्छ।

नेपालमा मुस्लिम आगमनका मुख्य कालखण्डहरू

नेपालमा मुस्लिम समुदायको आगमन ऐतिहासिक रूपमा विभिन्न कालखण्डमा व्यापार, कूटनीति, सेवा र शरणार्थीकारूपमा भएको पाइन्छ। यसको सुरुवात १३औँ शताब्दीतिर मध्यकालीन मल्लकालमा रत्न मल्लको शासनकालमा काठमाडौँ उपत्यकामा तिब्बत र भारतसँग व्यापार गर्न आएका कश्मीरी व्यापारीहरूको प्रवेशबाट भएको मानिन्छ, जसलाई ‘कश्मीरी मुस्लिम’ भनिन्छ। पछि १७औँ शताब्दीमा चौबीसी राजा तथा मल्ल राजाहरूले हातहतियार निर्माण, सैन्य तालिम र सङ्गीतकालागि उत्तरी भारतबाट मुस्लिमहरूलाई ल्याएपछि ‘पहाडी मुस्लिम’हरूको बसोबास सुरु भयो । १८औँ शताब्दीमा पृथ्वी नारायण शाहको एकीकरण अभियानका क्रममा हातहतियार मर्मतकालागि मुस्लिम कालिगडहरूलाई विशेष स्थान दिइएको थियो। यस्तै, १८५७ को भारतीय स्वतन्त्रता संग्राम (सिपाही विद्रोह) का क्रममा लखनउका नबाब वाजिद अली शाहकी बेगम हजरत महल आफ्ना समर्थकहरू सहित शरण लिन नेपाल आएपछि र तराईका उर्वर भूमिमा कृषि तथा व्यापारकालागि भारतका सीमावर्ती क्षेत्रबाट मानिसहरू भित्रिएपछि ‘तराई मुस्लिम’हरूको ठूलो आबादी स्थापित भयो। यसरी व्यापारिक सम्बन्ध, राज्यको सैन्य आवश्यकता र राजनीतिक शरणका विभिन्न चरण पार गर्दै नेपालमा मुस्लिम समुदायको ऐतिहासिक विकास र स्थायी बसोबास भएको हो।

पूर्व-मल्लकाल र प्रारम्भिक सम्पर्क

नेपालमा मुस्लिमहरूको पहिलो ऐतिहासिक उल्लेख चौधौँ शताब्दीमा भेटिन्छ। बङ्गालका सुल्तान शमसुद्दीन इल्यास शाहले सन् १३४९ (वि.सं. १४०६) मा काठमाडौँ उपत्यकामा आक्रमण गरेका थिए। गोपालराज वंशावली र स्वयम्भूको अभिलेख अनुसार यो आक्रमण विनाशकारी भएतापनि यसले नेपाल र उत्तर भारतका मुस्लिम शासकहरूबिचको पहिलो ठूलो सैन्य र राजनीतिक सम्पर्कलाई दर्साउँछ। यस आक्रमणपछि केही मुस्लिम सैनिक र व्यापारीहरू काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा छुटपुटरूपमा बसेको इतिहासकारहरूको भनाइ छ।

मल्लकालीन आगमन र कश्मीरी-इराकी व्यापारी

मल्लकालमा नेपालमा मुस्लिम समुदायको स्थायी बसोबास संस्थागत भयो। राजा रत्न मल्ल (वि.सं. १५४१–१५७७) को शासनकालमा कश्मीरी मुस्लिम व्यापारीहरू तिब्बत र लदाख हुँदै व्यापारका सिलसिलामा काठमाडौँ प्रवेश गरे। उनीहरूलाई काठमाडौँमा व्यापार गर्ने अनुमति दिइयो र बसोबासकालागि जग्गा उपलब्ध गराइयो। काठमाडौँमा अवस्थित कश्मीरी जामे मस्जिदको प्रारम्भिक ढाँचा यसै कालखण्डमा स्थापना भएको मानिन्छ। पछि राजा सिद्धि नरसिंह मल्ल (पाटन) र राजा प्रताप मल्ल (काठमाडौँ) को समयमा भारतबाट इराकी मुस्लिम व्यापारी, सङ्गीतकार र इत्र/धातु कालिगढहरूलाई आमन्त्रित गरियो। मल्ल राजाहरूले उनीहरूलाई धार्मिक स्वतन्त्रता दिनुकासाथै मस्जिद र कब्रिस्तान (मसानघाट) का लागि गुठीको जमिन समेत प्रदान गरेका थिए।

एकीकरण काल र पृथ्वी नारायण शाहको नीति

नेपाल एकीकरणको क्रममा राष्ट्र निर्माता पृथ्वी नारायण शाहले मुस्लिम समुदायको प्राविधिक र सैन्य क्षमताको उच्च मूल्याङ्कन गरे। बङ्गालका नवाब मीर कासिमसँगको मकवानपुर युद्ध (वि.सं. १८१९) पछि गोर्खाली सेनाले कब्जा गरेका आधुनिक हातहतियार मर्मत गर्न र नयाँ बन्दुक तथा बारुद बनाउन पृथ्वी नारायण शाहले मुस्लिम कालिगढहरूलाई गोर्खा ल्याएका थिए।

  • शेख जरबर, महमदुद्दीन र सुरुप सिंहजस्ता कालिगढहरूलाई गोर्खामा हातहतियार कारखाना स्थापना गर्ने जिम्मेवारी दिइएको थियो।
  • गोर्खाली सेनालाई आधुनिक ढङ्गले बन्दुक चलाउने तालिम दिन र तोप सञ्चालन गर्न मुस्लिम सैन्य विशेषज्ञहरूको प्रयोग गरिएको थियो।
  • पृथ्वी नारायण शाहले उपत्यका विजय गरेपछिपनि कश्मीरी र इराकी व्यापारीहरूको व्यापारिक अधिकार र धार्मिक स्वतन्त्रतालाई निरन्तरता दिए।

राणाकाल र १८५७ को विद्रोह

राणाकाल तथा सन् १८५७ को भारतीय स्वतन्त्रता सङ्ग्राम (सिपाही विद्रोह) पछि नेपालमा मुस्लिम समुदायकोआगमनले एक नयाँ र ऐतिहासिक मोड लियो। सन् १८५७ मा भारतमा अङ्ग्रेज विरुद्धको विद्रोह दबाएपछि अङ्ग्रेजी फौजको कारबाहीबाट बच्न लखनउकी बेगम हजरत महल, उनका छोरा बिर्जिस कद्र र हजारौँ समर्थकहरू शरणार्थीकारूपमा नेपाल प्रवेश गरे। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले उनीहरूलाई काठमाडौँ र तराईका विभिन्न भागमा बसोबासको व्यवस्था मिलाइ दिए, जसका कारण काठमाडौँमा ‘हिन्दुस्तानी मुस्लिम’ समुदायको बलियो उपस्थिति स्थापित भयो। यसकासाथै, राणाकालमा तराई क्षेत्रको जङ्गल फँडानी गरी कृषि योग्य जमिनको विकास गर्न, व्यापार-व्यवसाय बढाउन र सीमावर्ती प्रशासनिक क्षेत्रहरू सुदृढ गर्न भारतका सीमावर्ती भूभाग (जस्तै बिहार र उत्तर प्रदेश) बाट ठूलो सङ्ख्यामा मुस्लिम कृषक, कालिगढ र व्यापारीहरूलाईनेपालमा आमन्त्रितगरी स्थायी बसोबास गराइयो । यसरी १८५७ को राजनीतिक हलचल र राणा शासकहरूको आर्थिक-प्रशासनिक नीतिका कारण नेपालमा तराई मुस्लिम आबादीको उल्लेखनीय वृद्धि हुनुकासाथै नेपाली समाजमा उनीहरूको सामाजिक तथा आर्थिक योगदान थप मजबुत बनेको हो।

तराई/मधेसी मुस्लिम

नेपालको तराई/मधेस क्षेत्रमा बसोबास गर्ने तराई वा मधेसी मुस्लिम समुदाय देशको मुस्लिम आबादीको सबैभन्दा ठूलो र सांस्कृतिक रूपमा समृद्ध अंश हो। ऐतिहासिक रूपमा १७औँ र १८औँ शताब्दीमा कृषि, व्यापार, हस्तकला तथा कालिगढकारूपमा नेपाल प्रवेश गरेका उनीहरूको मुख्य बसोबास बाँके, बर्दिया, कपिलवस्तु, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जस्ता तराईका जिल्लाहरूमा रहेको छ। स्थानीय मधेसी समाजसँग भाषा (मैथिली, भोजपुरी, अवधि, उर्दू), पहिरन, खानपान र सामाजिक रीतिरिवाजमा नजिकको समानता बोकेका यी मुस्लिमहरूले तराईको कृषि अर्थतन्त्र र स्थानीय व्यापारमा ठूलो योगदान पुर्याएका छन्। आफ्ना धार्मिक परम्परा, मदरसा शिक्षा र सांस्कृतिक पहिचानलाई जोगाउँदै उनीहरूले नेपाली राष्ट्रियता र मधेसी समाजको बहुसांस्कृतिक तानाबानामा एक विशिष्ट अनि अभिन्न स्थान बनाएका छन्।

काठमाडौँका मुस्लिम (कश्मीरी र इराकी)

काठमाडौँ उपत्यकामा बसोबास गर्ने कश्मीरी र इराकी मुस्लिम समुदाय नेपालको सबैभन्दा पुराना र ऐतिहासिक मुस्लिम समूह हुन्, जसको आगमन मध्यकालीन मल्लकालसँग जोडिएको छ। १३औँ र १४औँ शताब्दीतिर तिब्बतसँगको व्यापारिक मार्ग भएर काठमाडौँ प्रवेश गरेका कश्मीरी व्यापारीहरूले यहाँ बहुमूल्य रत्न, गलैँचा, पछ्यौरा र जडीबुटीको व्यापार सुरु गरे भने पछि १६औँ-१७औँ शताब्दीतिर इराक र फारस क्षेत्रबाट आएका इराकी मुस्लिमहरू पनि व्यापार तथा इत्र, हस्तकला र दरबारी सेवाकालागि काठमाडौँमै स्थायी रूपमा बसे। मल्ल राजाहरू (विशेषगरी रत्न मल्ल र प्रताप मल्ल) ले उनीहरूको व्यापारिक दक्षतालाई कदर गर्दै काठमाडौँको इन्द्रचोक नजिकै ‘कश्मीरी मस्जिद’ र ‘नेपाली मस्जिद’ निर्माणकालागि जमिन उपलब्ध गराएका थिए। समयक्रमसँगै स्थानीय नेवारी भाषा, संस्कृति र रहनसहनसँग घुलमिल भएका यी समुदायले काठमाडौँलाई भारत र तिब्बतसँग जोड्ने प्रमुख व्यापारिक केन्द्रकारूपमा स्थापित गर्न र उपत्यकाको बहुसांस्कृतिक पहिचानलाई समृद्ध बनाउन ऐतिहासिक भूमिका खेलेकाछन्।

पहाडी मुस्लिम (चुराउटे)

नेपालको पहाडी भूभागमा बसोबास गर्ने पहाडी मुस्लिम, जसलाई स्थानीय रूपमा’चुराउटे’ भनेर पनि चिनिन्छ, नेपालको एक विशिष्ट र ऐतिहासिक सामाजिक समूह हुन्। उनीहरूको आगमन मुख्यतः १७औँ र १८औँ शताब्दीमा चौबीसी तथा मल्ल राजाका राज्यहरूमा हातहतियार निर्माण, मर्मत, र सङ्गीत-बाजा (जस्तै नौमती बाजा) सिकाउने उद्देश्यले उत्तरी भारतबाट भएको मानिन्छ। समयक्रमसँगै पहाडी गाउँहरूमा स्थायी रूपमा बसोबास गर्दै उनीहरूले चुरा, पोते र धागोबेच्ने परम्परागत पेसा अपनाएकाले उनीहरूलाई’चुराउटे’ भनिन थालियो। गोरखा, तनहुँ, कास्की, पाल्पा, अर्घाखाँची, र स्याङ्जा जस्ता जिल्लाहरूमा छरिएर रहेका यी मुस्लिमहरूले स्थानीय खस-आर्य समुदायको भाषा (नेपाली), भेषभूषा, र खानपानलाई पूर्ण रूपमा अपनाएका  छन्। आफ्नो धार्मिक आस्था (इस्लाम) लाई कायम राख्दै पहाडी जनजीवन, लोकसंस्कृति, र स्थानीय अर्थतन्त्रसँग सहजै घुलमिल भएका चुराउटेहरू नेपाली समाजको बहुसांस्कृतिक र समावेशी पहिचानका मौलिक उदाहरण हुन्।

सामाजिक-सांस्कृतिक र धार्मिक संरचना

नेपालको सामाजिक, बहुसांस्कृतिक र बहुधार्मिक संरचनामा मुस्लिम समुदायको योगदान अतुलनीय रहेतापनि उनीहरूले विभिन्न ऐतिहासिक तथा संरचनात्मक अवरोधहरूको सामना गर्नुपरेको छ। ऐतिहासिक कालखण्डदेखिनै व्यापार-व्यवसायको विस्तार, तिब्बत र भारतसँगको कूटनीतिक सम्बन्ध, परम्परागत कालिगढ (हातहतियार निर्माण तथा हस्तकला), लोकबाजा (नौमती बाजा) र तराईको कृषि अर्थतन्त्रलाई सुदृढ बनाउन मुस्लिम समुदायले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। काठमाडौँका ऐतिहासिक मस्जिदहरू, मधेसको बहुसांस्कृतिक तानाबाना र पहाडका ‘चुराउटे’ संस्कृतिले नेपालको धार्मिक सहिष्णुता र साझा पहिचानलाई थप समृद्ध बनाएका छन्। तर, अर्कोतर्फ, यो समुदायले राज्यका नीति निर्माण तथा प्रशासनिक निकायमा न्यून प्रतिनिधित्व, भाषिक तथा सांस्कृतिक पहिचानप्रतिको पूर्वग्रह, र सामाजिक-आर्थिक पछौटेपन जस्ता अवरोधहरू झेल्दै आएको छ। औपचारिक शिक्षा र आधुनिक रोजगारीमा पहुँचको कमी, मदरसा शिक्षालाई राज्यको मूलधारमा पूर्ण रूपमा समेट्न नसकिनु, र बेलाबेलामा देखिने अनौपचारिक सामाजिक विभेदले उनीहरूको समावेशीकरणमा चुनौती खडा गरेको छ। यी अवरोधका बाबजुद, नेपाली मुस्लिमहरूले धार्मिक आस्था जोगाउँदै राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव र बहुसांस्कृतिक विविधतालाई कायम राख्न सदैव सकारात्मक भूमिका निर्वाह गर्दै आएका छन्।

धार्मिक संस्थाहरू

नेपालमा मुस्लिम समुदायको धार्मिक र सामाजिक जीवनलाई सञ्चालन गर्न विभिन्न धार्मिक संस्थाहरूले भूमिका खेलेकाछन्:

  • मस्जिद र इदगाह:मस्जिद केवल प्रार्थना गर्ने थलो मात्र नभई सामाजिक जमघट र विवाद समाधान गर्ने केन्द्र पनि हो।
  • मदरसा र मक्तब:बालबालिकालाई कुरआन, हदीस र प्राथमिक इस्लामी शिक्षा दिने परम्परागत शैक्षिक संस्था हुन्।
  • खानकाह र दरगाह:सुफी परम्परासँग जोडिएका स्थानहरू जहाँ मुस्लिम र गैर-मुस्लिम दुवै श्रद्धाका साथ जान्छन्।

नेपालमा प्रमुख इस्लामी चाडपर्वहरू

चाड/पर्व:१. रमजान र इद-उल-फितर (Eid-ul-Fitr) एक महिनाको व्रत (रोजा) पछि मनाइने भाइचाराको पर्व।

२. इद-उल-अजहा (Bakrid)     त्याग र समर्पणको प्रतीक मानिने पर्व।

३. मोहर्रम (Muharram)   हजरत इमम हुसेनको शहादतको सम्झनामा मनाइने।

४. मिलाद-उन-नबी (Milad-un-Nabi)   पैगम्बर मोहम्मदको जन्मजयन्ती।

सामाजिक स्तरीकरण र ‘जात‘ व्यवस्था

इस्लामको सिद्धान्त र व्यावहारिक समाजमा जातीय विभाजन र फिर्काहरूबीच महत्त्वपूर्ण फरक छ। सिद्धान्ततःइस्लाममा सबै मानिसलाई समान मानिए तापनि ऐतिहासिक र क्षेत्रीय प्रभावका कारण समाजमा विभिन्न तह र विभाजनहरू विकास भएका छन्। सैद्धान्तिक रूपमा कुरआन र हदीसमा जन्म, जात वा नस्लका आधारमा विभेद गर्न पूर्णतः मनाही छ। कुरआनमा भनिएको छ कि अल्लाहका अगाडि मानिसको श्रेष्ठता उसको जातले होइन, उसको ‘तक्वा’ (धार्मिक निष्ठा र राम्रो कर्म)ले निर्धारण गर्छ।यद्यपि, दक्षिण एसिया (नेपाल, भारत, पाकिस्तान) मा हिन्दु जात व्यवस्थाको ऐतिहासिक प्रभाव र परम्परागत पेशाका आधारमा मुस्लिम समाजमापनि सामाजिक स्तरीकरण (Caste-like Stratification) देखिन्छ। यसलाई मुख्यतया तीन तहमा हेर्ने गरिन्छ:

अश्राफ (Ashraf – उच्च वर्ग):विदेशी वा ऐतिहासिक रूपमा शासन/ज्ञानसँग जोडिएका वंशज मानिने वर्ग।

  • सैयद (Sayyid):पैगम्बर मोहम्मदका वंशज मानिने।
  • शेख (Sheikh):अरब वा विद्वान परम्परासँग जोडिएका।
  • मुगल (Mughal) र पठान (Pathan/Pashtun):ऐतिहासिक योद्धा वा शासक वर्ग।
  • अजलाफ (Ajlaf – मध्यम/पेसागत वर्ग):दक्षिण एसियाली मूलका धर्मान्तरित र विभिन्न परम्परागत पेसामा संलग्न समुदाय।
    • अन्सारी (Ansari):कपडाबुन्ने/सिलाई गर्ने (जुलाहा)।
    • राइन (Rayeena/Rayeene):तरकारी खेती र व्यापार गर्ने (सब्जीफरोश)।
    • कुरेसी (Qureshi):मासु व्यवसायसँग जोडिएका।
    • मंसुरी (Mansuri):कपासको काम गर्ने (धुनिया)।
    • सैफी (Saifi):फलाम र काठको काम गर्ने कालिगढ।
  • अर्जाल (Arzal – तल्लो/उत्पीडित वर्ग):

ऐतिहासिक रूपमा सरसफाइ र अति-न्यून मानिने पेसामा संलग्न समुदाय (जस्तै: हलालखोर, लालबेगी), जसले सामाजिक रूपमा बढी विभेद र पछौटेपन भोग्नुपरेको छ।

२. इस्लामका प्रमुख फिर्का र विचारधाराहरू (Sects & School of Thoughts)

पैगम्बर मोहम्मदको निधन (सन् ६३२) पछि राजनीतिक र धार्मिक नेतृत्वको विषयलाई लिएर इस्लाममा विभिन्न सम्प्रदाय र विचार समूहहरू (फिर्का) को जन्म भयो।

इस्लाम (Islam) 

सुन्नी (Sunni) (~८५-९०%)हनाफी, मालेकी, साफेई, हम्बली,इथ्ना,

क. सुन्नी (Sunni) – करिब ८५–९०%

सुन्नीहरू पैगम्बर मोहम्मदपछिका चारै जना खलिफा (अबुबक्र, उमर, उथ्मान र अली) लाई राजनीतिक र धार्मिक नेता मान्छन्। सुन्नी इस्लामभित्र मुख्यतया चार वटा फिकह (धार्मिक कानुन/विचारधारा)छन्:

  1. हनाफी (Hanafi): इमाम अबुहनिफाद्वारा स्थापित। यो नेपाल, भारत, पाकिस्तान, टर्की र मध्य एसियामा सबैभन्दा बढी मानिने फिकह हो।
  2. साफेई (Shafi’i): दक्षिण-पूर्वी एसिया (इन्डोनेसिया, मलेसिया) र मध्यपूर्वका केही भागमा प्रचलित।
  3. मालेकी (Maliki): उत्तर र पश्चिम अफ्रिकामा बढी प्रचलित।
  4. हम्बली (Hanbali): साउदी अरेबिया र खाडी मुलुकहरूमा बढी प्रचलित।

ख. शिया (Shia) – करिब १०–१५%अशारी,इसमाइली,जैदी,

शियाहरू पैगम्बर मोहम्मदपछिको वास्तविक र आध्यात्मिक उत्तराधिकारी उहाँका ज्वाइँ तथा भान्जा हजरत अलीर उहाँको सन्तान (इमामहरू) लाई मात्र मान्छन्।

  • इथ्नाअशारी (Twelvers): १२ जना इमामहरूलाई मान्ने शियाहरूको सबैभन्दा ठूलो समूह (इरान, इराक, लेबनानमा बाहुल्य)।
  • इसमाइली (Ismaili): अगा खानलाई आफ्नो आध्यात्मिक नेता मान्ने समूह।
  • जैदी (Zaidi): यमनमा बढी पाइने शिया समूह।

३. दक्षिण एसिया र नेपालमादेखिने अन्य धार्मिक विचारधारा/आन्दोलनहरू

सुन्नी इस्लाम भित्रै १९औँ र २०औँ शताब्दीमा दक्षिण एसियामा स्थापित भएकाकेही मुख्य वैचारिक उप-समूहहरू:

  • देवबन्दी (Deobandi): भारतको देवबन्दबाट सुरु भएको सुधारवादी आन्दोलन। यसले धार्मिक शुद्धता, कुरआन-हदीसको कडा पालना र मदरसा शिक्षामा जोड दिन्छ।
  • बरेल्वी (Barelvi): भारतको बरेलीबाट सुरु भएको सम्प्रदाय। यसले सुफी परम्परा, औलिया (सन्त) हरूको मजार/दरगाह जाने र मिलाद मनाउने परम्परालाई मान्यता दिन्छ (नेपाल र भारतका धेरै सुन्नीहरू यस विचारसँग नजिक छन्)।
  • अहले हदीस / सलफी (Ahl-e-Hadith / Salafi): कुनै एक इमामको फिकह (जस्तै हनाफी) लाई अन्धाधुन्धन पछ्याई सिधै कुरआन र शुद्ध हदीस अनुसार चल्नु पर्छ भन्ने मान्ने समूह।
  • अहमदिया (Ahmadiyya): १९औँ शताब्दीको अन्तमा मिर्जा गुलाम अहमदले सुरु गरेको सम्प्रदाय। मुख्यधारका सुन्नी र शियाहरूले उनीहरूलाई इस्लामको दायरा भन्दा बाहिर मान्छन्।

इस्लामको मूल मर्म अनुसार धार्मिक फिर्कावा जातीय विभाजनभन्दापनि ‘उम्मत’ (एउटै साझा धार्मिक भाइचारा)को अवधारणालाई सर्वोच्च मानिन्छ।

आर्थिक स्थिति र पेसागत संरचना

नेपालका मुस्लिम समुदायको आर्थिक स्थिति र पेसागत संरचना बहुआयामिक, क्षेत्रगत विविधताले भरिएको र ठूलोहदसम्म परम्परागत पेसामा आधारित रहेको छ। ऐतिहासिक रूपमा क्षेत्र अनुसार फरक-फरक पेसामा संलग्न यो समुदायमा काठमाडौँका मुस्लिमहरू (कश्मीरी र इराकी) मुख्यतः रत्न, हस्तकला, जडीबुटी र आधुनिक व्यापार-व्यवसायमा संलग्न भई अपेक्षाकृत रूपमा आर्थिक रूपमा सबल देखिन्छन् भने पहाडी मुस्लिमहरू (चुराउटे) परम्परागत रूपमा चुरा-पोते, धागो बिक्री र कृषि-मजदुरीमा आश्रित रहँदै आएका छन्। नेपालको मुस्लिम आबादीको ठूलो हिस्सा ओगट्ने तराई/मधेसी मुस्लिमहरू भने मुख्य रूपमा साना कृषि, पशुपालन, निर्माण कार्य, सिलाई-कटाई, मर्मत सम्भार (मेकानिक्स) तथा सानातिना खुद्रा व्यापारमा संलग्न छन्। औपचारिक शिक्षा, प्राविधिक सीप र सरकारी सेवा वा निजामती क्षेत्रमा पहुँच सीमित भएकाले यो समुदायको ठूलो भाग अझैपनि अनौपचारिक क्षेत्र र न्यून आय हुने पेसामा खुम्चिन पुगेको छ। यद्यपि, हालका दशकहरूमा वैदेशिक रोजगारी (विशेष गरी खाडी मुलुकहरू) बाट आउने रेमिट्यान्स, बढ्दो शैक्षिक चेतना र साना व्यापारको विस्तारले मुस्लिम समुदायको आर्थिक स्थितिमा सुस्त तर सकारात्मक परिवर्तन ल्याउन थालेको छ।

वैदेशिक रोजगारको भूमिका

वैदेशिक रोजगारीले नेपालको मुस्लिम समुदायमा आर्थिक सबलीकरण र सकारात्मक सामाजिक परिवर्तन ल्याउन उत्प्रेरक (Catalyst) को भूमिका खेलेको छ। परम्परागत रूपमा कृषि, साना खुद्रा व्यापार र अनौपचारिक श्रममा सीमित रहेको यस समुदायका युवाहरू, विशेष गरी खाडी मुलुकहरूमा वैदेशिक रोजगारीमा जान थालेपछि प्राप्त रेमिट्यान्सले उनीहरूको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको छ। यस आर्थिक वृद्धिले परिवारको क्रयशक्ति बढाउनुकासाथै कच्ची घरहरू पक्कीमा रूपान्तरण हुन थालेका छन् र बालबालिकालाई गुणस्तरीय तथा आधुनिक शिक्षा (मदरसाकासाथै बोर्डिङ र कलेज) दिलाउन मद्दत पुगेको छ। यसका साथै, वैदेशिक रोजगारीका क्रममा नयाँ प्रविधि, सीप र विश्वव्यापी दृष्टिकोणसँग साक्षात्कार हुँदा समुदायभित्र परम्परागत अन्धविश्वास र सामाजिक कुरीतिहरू घट्दै गएका छन् भने महिलाहरूको सशक्तीकरण, स्वास्थ्य चेतना र निर्णय प्रक्रियामा सहभागिता बढेको छ। यद्यपि, युवाशक्तिको पलायन र पारिवारिक वियोग जस्ता चुनौतीहरू कायम रहे तापनि वैदेशिक रोजगारीले मुस्लिम समुदायलाई सामाजिक गतिशीलता प्रदान गर्दै राष्ट्रिय मूलधार र आर्थिक-सामाजिक विकासमा अगाडि बढ्न ठूलो योगदान पुर्‍याएको छ।

शैक्षिक अवस्था र मदरसा शिक्षा

नेपालको मुस्लिम समुदायमा साक्षरता र शिक्षाको अवस्था समग्र राष्ट्रिय औसतको तुलनामा अझै पनि पछाडि छ, जसमा पुरुष र महिलाबीच ठूलो लैङ्गिक अन्तर (Gender Gap) देखिन्छ। परम्परागत सामाजिक-सांस्कृतिक मान्यता, गरिबी, र चेतनाको कमीका कारण मुस्लिम महिला तथा बालबालिकाहरू आधुनिक औपचारिक शिक्षाबाट अपेक्षाकृत बढी वञ्चित भएका छन्। यद्यपि, हालका दशकहरूमा शैक्षिक जागरण बढेसँगै छोरीहरूलाई पनि विद्यालय र मदरसा पठाउने क्रम वृद्धि भएको छ, तर पनि उच्च शिक्षा, प्राविधिक ज्ञान र निजामती वा पेसागत क्षेत्रमा महिलाहरूको उपस्थिति निकै न्यून छ। पुरुषहरूको हकमा प्राथमिक र माध्यमिक तहसम्मको पहुँच सुधारोन्मुख रहे तापनि गरिबीका कारण बीचैमा पढाइ छाडेर सानातिना पेसा वा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिले गर्दा उच्च शिक्षा हासिल गर्ने दर सीमित नै रहेको छ।

नेपालमा मदरसा शिक्षाले मुस्लिम समुदायको धार्मिक पहिचान, नैतिक मूल्य र आधारभूत साक्षरता जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भएतापनि आधुनिक समाज र नीति-निर्माणका क्षेत्रमा यसलाई लिएर केही शङ्का-उपशङ्काहरू उत्पन्न हुने गरेका छन्। मदरसाहरूमा परम्परागत र धार्मिक पाठ्य सामग्रीको बाहुल्य रहने तर विज्ञान, गणित, अंग्रेजी र प्रविधि जस्ता आधुनिक विषयहरूको पर्याप्त समावेश नहुँदा यहाँका स्नातकहरू प्रतिस्पर्धी बजार र आधुनिक रोजगारीमा पछाडि पर्ने हुन् कि भन्ने चिन्ता व्यक्त गरिन्छ। यसकासाथै, कतिपय गैर-मुस्लिम वृत्त वा सञ्चार माध्यममा मदरसाको व्यवस्थापन, आर्थिक स्रोतको पारदर्शीता र पठनपाठनको शैलीलाई लिएर सूक्ष्म निगरानी वा अनर्गल शङ्का गर्ने प्रवृत्ति पनि देखिन्छ। यी शङ्का-उपशङ्काहरूलाई निवारण गर्न र मदरसाका विद्यार्थीहरूलाई राष्ट्रिय मूलधारमा जोड्नकालागि मदरसाहरूलाई राष्ट्रिय पाठ्यक्रम बोर्डमा दर्तागरी आधुनिक शिक्षा प्रणालीसँग समायोजन (Integration) र सुदृढीकरण गर्नु अपरिहार्य देखिन्छ।

                        मुस्लिम समुदायका शैक्षिक चुनौतीहरू

१. न्यून साक्षरता दर,  – राष्ट्रिय औसत भन्दा कम

२. बालिका शिक्षामा अवरोध,- सामाजिक र सांस्कृतिक सङ्कुचितता

३. मदरसाको मूलधारीकरणमा सुस्तता,- सरकारी मान्यताको समस्या

४. उच्च शिक्षामा न्यून पहुँच- आर्थिक र भाषागत बाधा

मदरसा शिक्षाको भूमिका र चुनौती

मदरसा नेपालका मुस्लिम बालबालिकाहरूकालागि धार्मिक र प्राथमिक शिक्षाको मुख्य स्रोत रहँदैआएको छ।

  • सरकारी बोर्डमा दर्ता: नेपाल सरकारले वि.सं. २०६३/६४ देखि मदरसाहरूलाई शिक्षा विभागमा दर्ता गरी राष्ट्रिय पाठ्यक्रम (नेपाली, गणित, अङ्ग्रेजी, विज्ञान) लागू गर्ने नीति ल्याएको छ।
  • समस्याहरू: धेरै जसो मदरसाहरूअझै पनि दर्ता प्रक्रिया बाहिरछन्। भौतिक पूर्वाधारको कमी, आधुनिक शिक्षकको अभाव, र मदरसाबाट प्राप्त प्रमाणपत्रलाई माथिल्लो तहको उच्च शिक्षामा मान्यता नदिनु प्रमुख समस्या हुन्।

सामाजिक-आर्थिक पछौटेपन

नेपालको मुस्लिम समुदाय राष्ट्रिय विकासको मूलधारबाट लामो समय देखि ओझेलमा पर्दै आएको छ, जसका कारण उनीहरू सामाजिक र आर्थिक रूपमा पछाडि परेका छन्। पर्याप्त भूमि, पूँजी र आधुनिक प्राविधिक सीपको अभावमा यस समुदायको ठूलो हिस्सा साना कृषि, अनौपचारिक श्रम, सिलाई-कटाई र खुद्रा व्यापारमा खुम्चिन पुगेको छ। औपचारिक शिक्षा र प्राविधिक ज्ञानमा सीमित पहुँच भएकाले निजामती सेवा, सुरक्षा निकाय, बैंक तथा ठूला कर्पोरेट क्षेत्रहरूमा उनीहरूको उपस्थिति नगण्य छ। यद्यपि वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पछिल्ला वर्षहरूमा जीवनस्तरमा केही सुधार ल्याएको छ, तैपनिदिगो आर्थिक आधार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा समग्र समुदाय अझै पनि गरिबी र सामाजिक-आर्थिक पछौटेपनको चक्रबाट पूर्ण रूपमा मुक्त हुनसकेकोछैन।

‘इस्लामोफोबिया‘ र पूर्वाग्रह

वैश्विक स्तरमा फैलिएको ‘इस्लामोफोबिया’ (मुस्लिमप्रतिको असहिष्णुता र भय) र नकारात्मक भाष्यको प्रभाव नेपाली समाजमापनि अप्रत्यक्ष रूपमा देखिने गरेको छ। शान्तिप्रिय र बहुसांस्कृतिक सहअस्तित्वको इतिहास हुँदाहुँदैपनि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र कतिपय राजनीतिक वृत्तबाट भ्रामक सूचना वा पूर्वाग्रहका आधारमा सिङ्गो समुदायलाई उग्रवाद वा शङ्कास्पद गतिविधिसँग जोडेर हेर्ने प्रवृत्ति कहिलेकाहीँ प्रकट हुन्छ। धार्मिक पोशाक, दाह्री, टोपी वा मदरसा जस्ता सांस्कृतिक-धार्मिक पहिचानका आधारमा अनौपचारिक सामाजिक विभेद वा सूक्ष्म पूर्वाग्रह (Microaggressions) भोग्नुपर्ने अवस्था छ। यस्ता पूर्वाग्रहहरूले बहुसांस्कृतिक समाजको सहिष्णुतालाई कमजोर बनाउने मात्र नभई मुस्लिम युवाहरूमा बेग्लैपरेको (Alienated) महसुस गराउने जोखिम बढाउँछ, जसकालागि सामाजिक चेतना र निष्पक्ष सूचना प्रवाह अति आवश्यक छ।

निष्कर्ष तथा सिफारिसहरू

निष्कर्ष

नेपालमा मुस्लिम धर्मावलम्बीको अस्तित्व मध्यकालीन इतिहासदेखिनै बहुसांस्कृतिक नेपालको अभिन्न अङ्गका रूपमा रहँदैआएको छ। उनीहरूले राज्य निर्माण, व्यापार, कला, हातहतियार निर्माण र कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकाछन्। नेपालको मुस्लिम समुदायले यहाँको भूमि, भाषा र संस्कृतिलाई आत्मसात्गर्दै धार्मिक सहिष्णुता र सद्भावको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ।नेपालको संविधान २०७२ ले मुस्लिम समुदायलाई संवैधानिक आयोग र समानुपातिक हक-अधिकार प्रदान गरेर ठूलो ऐतिहासिक कदम चालेको छ। यद्यपि, सिद्धान्त र व्यवहार बिच अझै पनि ठूलो खाडल छ। सामाजिक-आर्थिक पछौटेपन, शैक्षिक चेतनाको कमी, र राज्यका अङ्गहरूमा पूर्ण पहुँच नहुनुले उनीहरूको पूर्ण सशक्तीकरणमा चुनौती खडा गरेको छ।मुस्लिम समुदायप्रति वैश्विक स्तरमा देखिने घृणा, नकारात्मक धारणा र ‘इस्लामोफोबिया’ (Islamophobia) कुनै एउटैकारणले उत्पन्न भएको नभई यो एक बहुआयामिक र जटिल सामाजिक-राजनीतिक परिघटना हो। मुख्यतः सन् २००१ को सेप्टेम्बर ११ (९/११) को आतंकवादी आक्रमणपछि वैश्विक सुरक्षा नीति र राजनीतिक भाष्यमा ठूलो बदलाव आयो, जसका कारण उग्रवाद र आतंकवादलाई कतिपय क्षेत्रमाकुनै विशेष धर्म वा समुदायसँग जोडेर हेर्ने प्रवृत्ति सघन बन्यो। यसकासाथै मध्यपूर्वका द्वन्द्व र राजनीतिक अस्थिरताका कारण युरोप लगायतका क्षेत्रमा भएको शरणार्थी आगमनलाई उग्र-राष्ट्रवादी र पपुलिस्ट राजनीतिज्ञहरूले चुनावी लाभकालागि आन्तरिक सुरक्षा र स्थानीय संस्कृतिमाथिको खतराका रूपमा प्रस्तुत गरे।

यस नकारात्मक भाष्यलाई मलजलगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिका पनि उत्तिकै निर्णायक देखिन्छ। मुख्यधारका मिडियामा मुस्लिम समुदायका सामान्य तथा सकारात्मक पाटोभन्दा द्वन्द्व र उग्रवादसँग जोडिएका समाचारले बढी प्राथमिकता पाउँदा आम मानिसमा पूर्वग्रह बलियो बन्नपुगेको छ। त्यस्तै, सामाजिक सञ्जालमा द्रुत गतिमा फैलिने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति (Hate Speech) र विभिन्न षड्यन्त्रका सिद्धान्तहरूले (Conspiracy Theories) जनमानसमा अविश्वास र भयलाई थप बढाएकाछन्।

सांस्कृतिक अज्ञानता, अन्तर धार्मिक संवादको कमी र आर्थिक असन्तोष पनि यसका अन्य मुख्य कारक हुन्। विश्वभर छरिएर रहेका करिब दुई अर्ब मुस्लिमहरूका विविध भाषा, परम्परा र जीवनशैलीलाई बेवास्ता गर्दै सिङ्गो समुदायलाई एउटै साँचोमा राखेर हेर्ने (Generalization) प्रवृत्तिले भ्रम सिर्जना गरेको छ। साथै, धेरैदेशहरूमा आर्थिक मन्दी, बेरोजगारी र स्रोत-साधनको प्रतिस्पर्धालाई अल्पसङ्ख्यक वा आप्रवासी समुदायसँग जोडेर हेर्ने सामाजिक मानसिकताले घृणालाई झनै तीव्र बनाएको छ। यस समस्याको दीर्घकालीन समाधानकालागि निष्पक्ष सूचना प्रवाह, बहुसांस्कृतिक समझदारी र नागरिक स्तरमा अन्तर धार्मिक संवादलाई प्रवर्द्धन गर्नु अपरिहार्य छ।

९.२ सिफारिसहरू (Recommendations)

  • मदरसा शिक्षाको सुदृढीकरण:मदरसाहरूलाई राष्ट्रिय शिक्षा प्रणालीमा पूर्ण रूपमा समायोजन गरी आधुनिक पूर्वाधार, विज्ञान, गणित र प्रविधि शिक्षाको ग्यारेन्टी गरिनुपर्छ।
  • आर्थिक र सामाजिक सशक्तीकरण : तराई र पहाडका भूमिहीन तथा अति विपन्न मुस्लिम परिवारहरूकालागि लक्षित आयआर्जन र सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ।
  • मुस्लिम महिला शिक्षा र चेतना: मुस्लिम बालिका र महिलाहरूको साक्षरता र उच्च शिक्षामा पहुँच बढाउन अभिभावकलाई विशेष सचेतना मूलक कार्यक्रममा सहभागी गराएर महिलाहरुको उच्च शिक्षा र दुई सन्तानमा सिमित रहने गरी प्रेरणा दिनुपर्छ।

सन्दर्भ सामग्री सूची (References/Bibliography)

  1. अन्सारी, ताहिर अली (सन् २००५).नेपालमा मुस्लिम समुदायको इतिहास र संस्कृति. काठमाडौँ: साझा प्रकाशन।
  2. ग्यान्ज्ले, मार्क (Gaborieau, Marc) (१९७२). “Muslims in the Hindu Kingdom of Nepal”. Contributions to Indian Sociology, Vol. 6.
  3. जोशी, हरिशंकर (वि.सं. २०५५).नेपालको मध्यकालीन इतिहास र संस्कृति. काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार।
  4. तिवारी, रामजी (वि.सं. २०२५).मध्यकालीन नेपालकाकेही ऐतिहासिक पत्रहरू. काठमाडौँ: नेपाल अध्ययन संस्थान।
  5. नेपाल सरकार, राष्ट्रिय योजना आयोग (वि.सं. २०७९).राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणाम. काठमाडौँ: केन्द्रीय तथ्याङ्क विभाग।
  6. नेपालको संविधान (वि.सं. २०७२). काठमाडौँ: कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालय।
  7. भट्टराई, निरञ्जन (सन् २०११).नेपाल र मुस्लिम जगत्: कूटनीतिक र सांस्कृतिक सम्बन्ध. काठमाडौँ: सेन्टरफर नेपाल एन्ड एशियन स्टडिज (CNAS)।
  8. सिद्दीकी, मोहम्मद अकरम (सन् २०१८).नेपाली मुस्लिमहरूको सामाजिक-आर्थिक अवस्था: एक अध्ययन. काठमाडौँ: मुस्लिम अध्ययन संस्थान।