महोत्तरी,१३ श्रावण ।
महोत्तरीको बलवा नगरपालिकाले व्यवस्थित बजार बनाउन वडा नं. ९ र ११ को संयुक्त अधिकार क्षेत्रभित्र पर्ने रौजामा बजार व्यवस्थापन योजना शिलान्यास गरिएको छ । बलवा नगरपालिकाका नगरप्रमुख राम विजय महतो र वडा नं. ९ तथा ११ का वडाअध्यक्षहरु सनाउल्लाह शेष तथा अशोक कुमार यादवले संयुक्त रुपमा योजनाको शिलान्यास गरेका हुन ।
तिन करोड २५ लाखको लागतमा निर्माणहुने उक्त योजना अन्तर्गत दुई पक्की व्यापारिक भवन,दुई बजार सेड,नाला र सडक तथा शौचालय सहितको आधुनिक बजार निर्माण गरिने नगरप्रमुखले जनाएका छन ।


योजना शिलान्यस पश्चात बोल्दै नगरप्रमुख महतोले रौजामा अब व्यवस्थित बजारको सपना पुरा हुने बताए । उनले बलवा नगरपालिकाका अधिकतम स्थानमा लाग्ने बजार अव्यबस्थित र जोखिमपुर्ण रहेको स्विकार्दै अब भने नगरभित्रका सवै स्थानमा व्यवस्थित बजार निर्माणको लागि पालिकाले विस्तारै योजना अगाडी बढाएको बताए ।
उनले योजना निर्माण पछि बजार क्षेत्रको सौन्दर्य बढ्नुका साथै व्यापार व्यवसाय विस्तार र स्थानिय आर्थिक गतिविधीमा वृद्धि हुने बताए । हालसम्म सडकमै बजार लाग्ने गरेकोमा यसले व्यापारीका साथै उपभोक्ता समेतलाई जोखिम तथा असुविधा भैरहेकोमा रौजामा निर्माण हुने बजार योजनाले सोहि क्षेत्रमा उपभोक्ता तथा व्यापारीमा समेत सुविधा बढ्ने थपे ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधी सहित विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।