महोत्तरी,११ असार ।
कृषि, वन तथा पर्यावरण मन्त्री एवं नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अध्यक्ष माननीय गीता चौधरीले आईतवार राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम (एनआरआरपी), हर्दिनाथ, धनुषाको औपचारिक भ्रमण गरेकि छिन । भ्रमण पश्चात भएको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मुख्य धानबालीका साथसाथै चैते धानको अनुसन्धानमा पनि उत्तिकै ध्यान दिनुपर्ने निर्देशन दिईन ।
नेपाल आयातित बीउ–बिजनको डम्पिङ साईट बन्दै गएको भन्दै उनले यसप्रति गम्भीर भएर सोच्नुपर्ने बताईन । हाइब्रिड जातहरूमा काम गर्दा सम्भावनायुक्त रैथाने जातहरूको अनुसन्धानलाई पनि बेवास्ता नगर्नू भनी मन्त्री चौधरीले जोड दिईन ।
जलवायु परिवर्तन एक प्रमुख चुनौतीको रूपमा देखा परिरहेको अवस्थामा खडेरी÷सुख्खा सहनशील जातहरूको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । मन्त्री चौधरीले नार्क स्वायत्त संस्था भएको हुनाले घट्दो अनुसन्धान बजेटको विकल्प खोज्न समन्वय र सहकार्य आवश्यक रहेको थपिन ।
अनुसन्धानकर्ताहरूले फिल्डमा बढी समय खर्चनु पर्ने बताउदै मन्त्री चौधरीले नार्कले विकास गरेका जातहरूको अवलम्बन बढाउन बजारीकरण र ब्रान्डिङमा ध्यान दिनुपर्ने र प्रविधिसँगै सम्पूर्ण खेती प्रविधि (प्याकेज अफ प्राक्टिस) प्रसारमा पनि फोकस गर्नुपर्ने उनले बताईन ।
यता नार्कका अध्यक्ष डा. काशीनाथ चिलुवालले नार्कद्वारा विकसित प्रविधिको लाभ अन्तिम उपभोक्तासम्म पुर्याउन संस्थाको कार्यसम्पादन सुदृढ पार्न संस्थागत सुधार आवश्यक रहेको बताए ।
भ्रमण पश्चातको अन्तरकृया कार्यक्रममा नार्कका कर्मचारी,कृषि अनुसन्धान केन्द्र बेलाचापीका पदाधिकारी,किसान र सञ्चारकर्मी समेतको उपस्थिति रहेको थियो । एनआआरपी का प्राविधिक अधिृकृत सन्दर श्रेष्ठले कार्यक्रमको समग्र परिचय तथा उपलब्धी बारे जानकारी गराएका थिए भने सञ्चालन फरहत अलीले गरेका थिए ।







