काठमाडौं , २९ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्क गरिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरेको छ।
पार्टीका महामन्त्री विपीनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई त्रसित बनाउने वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यका कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ। राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यमले निर्भीक र स्वतन्त्र वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारमाथि हस्तक्षेप स्वीकार्य नहुने रास्वपाको धारणा छ।
रास्वपाले आफू पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता तथा नागरिकको सुसूचित हुने मौलिक अधिकारको पक्षमा दृढ रहेको दोहोर्याउँदै सञ्चार क्षेत्रलाई भय र दबाबमा राख्ने प्रयासको कडा भर्त्सना गरेको छ।
साथै, सञ्चारकर्मीलाई कुनै पनि किसिमको त्रास वा दबाबको प्रभावमा नपरी आफ्नो व्यावसायिक दायित्व निर्वाह गर्न आग्रह गर्दै पार्टीले घटनाको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमार्फत रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न, साथै सञ्चारमाध्यम र पत्रकारको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ।







