रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ असार ।
महोत्तरीको बलवा नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । पालिकामा बसोवास गर्ने १५ देखि ६० उमेर समुहका २८ हजार ११९ जना मध्ये २७ हजार ११५ (९६.४३ प्रतिशत) साक्षर भएपछि उक्त घोषणा गरिएको हो । रतौली युवा क्लव,सेभ द चिल्ड्रेन तथा आसमान नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा संचालित अभियानमा निरक्षरहरुलाई साक्षर बनाउन पालिकाका सवै २४ विद्यालयका शिक्षक र मा.वि. तहका विद्यार्थीहरु समुदायमा परिचालित भएका थिए । नगरपालिकाले पालिकाका सवै वडाहरुमा निरक्षरको तथ्यांक संकलन गरि सोहि तथ्यांकको आधारमा निरक्षरलाई सिकाउने काम गरेका थिए ।
साक्षर हुन तोकिएको १२ सुचक मध्ये कम्तिमा ६ सुचक मा शिक्षित हुनुपर्नेमा शिक्षकहरुको देखरेख र निर्देशनमा पालिकाका मा.वि.तहका छात्रछात्राहरुले समुदायमा गई निरक्षरहरुलाई सिकाएका थिए ।
सवै मापदण्ड पुरा भएपछि वडाहरुलाई साक्षर घोषणा गर्दै आईतवार पालिकालाई साक्षर घोषणा गर्न पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य सुरीता साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । बलवाका नगरप्रमुख रामविजय महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री साहले घोषणा पत्र वाचन गर्दै पालिका साक्षर भएको घोषणा गरिन ।
कार्यक्रममा आफ्नो मनतव्य राख्दै पुर्वमन्त्री साहले नगरपालिकाले शिक्षालाई महत्व दिदै घोषणाको अवस्थासम्म ल्याउन गरेको प्रयास सराहनिय भएको र आगामी दिनमा समेत पालिकाको शिक्षाको स्तर सुधारमा पालिका दत्तचित्त भएर लाग्नेमा आफु आशावादी रहेकोे बताईन । उनले शिक्षाको महत्व धेरै रहेको भन्दै शिक्षाको क्षेत्रमा अझै पालिकाले लगानी गर्न आग्रह गरिन ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख,प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय प्रमुखहरु,जनप्रतिनिधी,नगरपालिकाका कर्मचारी,शिक्षक,अभियानमा लागेका विद्यार्थी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
शिक्षा शाखा प्रमुख राज किशोर झाको अथक प्रयास र उत्साहले पालिकालाई साक्षर बनाउन उर्जा थपिएको भन्दै पालिका प्रमुख सहित वक्ताहरुले उनको प्रशंसा समेत गरेका थिए ।







