रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ असार ।
राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, नार्क अन्तर्गत धनुषा र महोत्तरीका विभिन्न स्थानमा सञ्चालन भइरहेका धान प्रदर्शन तथा सहभागितामूलक जातीय छनोट परीक्षणहरूको अनुगमन गरिएको छ । कोपिया नेपाल केन्द्रका निर्देशक डा. सङ योङ–जुको नेतृत्वमा रहेको टोलीले सो अनुगमन गरेको छ ।
डा. सुन्दरलाल श्रेष्ठ र डा. बिनोद लुइँटेल समेत सहभागी रहेको सो टोलीले बटेश्वर गाउँपालिकाका किसान मनोज थिंग र धनुषाधामका किसान दिलीप कुमार साहको खेतमा स्थापना गरिएका प्रदर्शन प्लटमा लगाइएको हर्दीनाथ–१, हर्दीनाथ हाइब्रिड–१ र चैते–५ जातका धान अनुगमनको क्रममा जाँच गरेका हुन ।
शिद्धार्थ सापकोटाले सहजिकरण गरेको सो टोलीले चैते–५ जातले राम्रो वृद्धि, एकरूपता तथा सन्तोषजनक प्रदर्शन गरेको पाइएको बताएका छन । अनुगमन टोली पुगेको खेतका किसान मनोज थिंगले हर्दीनाथ हाइब्रिड–१ र चैते–५ दुवै जातमा राम्रो उत्पादनको सम्भावना रहेको टोलीलाई बताएका थिए । उनले हर्दीनाथ–१ बाट करिब ६ मन प्रतिकट्ठा उत्पादन हुने अपेक्षा रहेको बताए । यता अर्का किसान दिलीप कुमार साहले प्रदर्शन प्लटबाट आफू सन्तुष्ट रहेको बताउँदै आगामी वर्षका लागि बीउ सुरक्षित राख्ने बताए ।
टोलीले प्रदर्शन तथा सहभागितामूलक जातीय छनोट प्लटमा घाँटी झुल्सा रोगको अवस्थाबारे समेत जानकारी लिएकोमा किसानहरूले हालसम्म उक्त रोगको समस्या नदेखिएको बताएका थिए ।
यता बटेश्वर क्षेत्रमा सञ्चालित गतिविधिबारे स्थल इन्चार्ज राजु महासेठ तथा धनुषाधामका सहभागितामूलक जातीय छनोट र खेतस्तरीय परीक्षणका इन्चार्ज रवेन्द्र प्रसाद साहले परीक्षण तथा प्रदर्शन कार्यक्रमको प्रगतिबारे टोलीलाई जानकारी गराएका थिए ।
कोपिया नेपाल केन्द्रका निर्देशक डा. सङ योङ–जुले किसानहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र कोपिया परियोजनाबाट प्राप्त सहयोग, किसानको सन्तुष्टि तथा आगामी अपेक्षाबारे चर्चा गरेकोमा किसानहरूले परियोजनाबाट प्राप्त प्राविधिक सहयोग र प्रदर्शन कार्यक्रम प्रभावकारी रहेको बताउँदै आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
यसै क्रममा डा. बिनोद लुइँटेलले राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादव, कोपिया परियोजना प्रमुख डा. पल्लवी कुमारी सिंह तथा सहभागी किसानहरूसँग परियोजनाको उपलब्धि, प्रभाव र भावी योजनाबारे छलफल गरेका थिए।
अनुगमनका क्रममा निर्देशक डा. सङ योङ–जुले आगामी परीक्षणहरूमा विभिन्न बाली प्रणाली, बाली अवधिको प्रभाव, मुख्य सिजन र चैते धानको परिपक्वता अवधिको तुलना, लाइन रोपाइँ र छरुवा विधिबीचको उत्पादन अन्तर तथा विभिन्न बिरुवा दूरीको प्रभावसम्बन्धी अध्ययनलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।

यता अनुगमन टोली धनुषाधाम नगरपालिका–मुरगाहास्थित सहभागितामूलक जातीय छनोट परीक्षण स्थल पुगेको थियो । त्यहाँ निर्देशकले परीक्षणको अवलोकन गरी सहभागी किसानसँग विभिन्न धान जीनोटाइपको प्रदर्शन तथा किसानको रोजाइबारे जानकारी लिएका थिए । किसानहरूले परीक्षणमा समावेश जीनोटाइपमध्ये नम्बर १ र नम्बर ७ लाई बढी रुचाएको बताएका छन् । उनीहरूले आगामी दिनमा पनि राष्ट्रिय धान अनुसन्धान कार्यक्रमसँग सहकार्य गर्दै यस्ता परीक्षणमा सहभागी हुन इच्छा व्यक्त गरेका छन् ।
कोपिया परियोजनाका धान संयोजकले परियोजनामार्फत प्रवद्र्धन गरिएका उन्नत जातको प्रत्यक्ष प्रभाव किसानको खेतमै देखिन थालेको बताउँदै नियमित तालिम, प्राविधिक परामर्श र निरन्तर अनुगमनका कारण किसानको ज्ञान र प्रविधि अपनाउने क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको बताए।