रञ्जन कुमार भण्डारी
महोत्तरी,२१ असार ।
महोत्तरीको मनरा सिसवा नगरपालिकाले सर्प उद्धार गर्ने भएको छ । नगरपालिकाका नगरप्रहरीहरुलाई सर्प उद्धारको प्रशिक्षण गराएपछि पालिका यो नयाँ सेवा सुचारु गर्न सक्षम भएको हो । गर्मी तथा विभिन्न समय मानव घरमा तथा मानवको पहुच रहेको स्थानहरुमा सर्प देखापर्दा सर्प र मानव दुवै जोखिममा पर्ने गरेकोमा नगरपालिकाले सर्पको उद्धार गरि सर्प र मानव दुवैको ज्यान सुरक्षित राख्न यो सेवा सुरु गरेको नगरप्रमुख मोहन पाण्डेयले बताए ।
मिथिला वाइल्डलाईफ ट्रस्टले दुईदिने आधारभुत सर्प उद्धारको तालिम दिएपछि पालिकाको नगरप्रहरी सर्प उद्धारको लागि तयार भएको उनले थपे । नगरप्रमुख पाण्डेयले यस क्षेत्रमा सर्प उद्धारकर्ता नहुदा पछिल्लो समय मानव ज्यानसंगै सर्पको ज्यान समेत जोखिममा पर्ने गरेको बताउदै विपदको बेला मद्दत गर्न पालिका तयारीमा रहेको थपे ।
यता मिथिला वाइल्ड लाईफ ट्रस्टका संस्थापक देव नारायण मण्डलले सर्प उद्धारकर्ताको संख्या महोत्तरीमा न्युन रहेको अवस्थामा अब नगरप्रहरी नै सक्षम भएपछि यस क्षेत्रमा सर्पले टोकेर हुने मृत्यु लगायतका घटना र मानवद्वारा सर्प मारिएको घटनामा समेत कमि आउने आशा व्यक्त गरे । उनले महोत्तरीका अन्य केहि पालिकाहरुलाई समेत तालिम प्रवाह गर्ने प्रयास भैरहेको बताउदै तालिममा सर्प पहिचान, आफु र सर्प समेत सुरक्षित रहि गरिने उद्धार,व्यवस्थापन र प्राथमिक उपचार वारे सिकाइएको बताए ।
मिथिला वाइल्ड लाईफ ट्रस्टको तर्फबाट सर्प उद्धार विज्ञ सुवोध आचार्य सहितको टोलीले प्रशिक्षण दिएका थिए ।







