रञ्जन कुमार भण्डारी
महोत्तरी,१७ असार ।
महोत्तरीको तेस्रो पालिकाको रुपमा मनरा सिसवा नगरपालिका साक्षर घोषणा भएको छ । पालिकाको सभाहलमा बुधवार प्रदेश सभा सदस्य अंजना पंडितको प्रमुख आतिथ्यतामा भएको घोषणा कार्यक्रममा सो घोषणा गरिएको हो । पालिकाले १५ वर्ष देखि ६० वर्ष उमेर समुहका ३६ हजार १०६ जनसंख्या मध्ये ३४ हजार ७४६ (९६.२ प्रतिशत) साक्षर भएकोमा विशेष कार्यक्रम आयोजना गरि पालिकालाई साक्षर घोषणा गरिएको हो । पालिकाले निरक्षरलाई साक्षर बनाउन पछिल्लो एक महिना देखि पालिकामा अभियान संचालन गर्दै आएको थियो । सोहि अभियान अन्तर्गत विद्यालय समय पछि विद्यालय रहेको टोलमा गएर शिक्षकहरुले निरक्षरलाई साक्षर बनाएका थिए ।
पालिकाको सवै १० वडामा कुल २३ टोल रहेकोमा पालिका भित्रका २३ सामुदायिक विद्यालय मार्फत अभियान चलाइएको थियो ।
‘शिक्षा सवैको अधिकार,साक्षरता हाम्रो आधार’ तथा ‘साक्षर नागरिक,समृद्ध नगरपालिका’ भन्ने मुल नाराका साथ चलाइएको साक्षर अभियानले सफलता पाएकोमा खुशी लागेको नगरप्रमुख मोहन पाण्डेयले आफ्नो मन्तव्य मार्फत अभियानमा खटेका सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
यता प्रमुख अतिथि पंडितले पालिकाले एउटा खुडकिलो पार गरेको भन्दै पालिकालाई धन्यवाद दिईन । उनले सामुदायिक विद्यालयहरुमा समेत थप पठन पाठन व्यवस्थित बनाउन र उतिर्ण प्रतिशत बढाउन जोड दिईन । उनले विद्यालय र समुदाय दुवै स्थानमा शिक्षा उतिनै महत्वपुर्ण रहेको बताउदै समुदाय स्तरमै समेत थप कक्षाहरु संचालन गर्दा अझै राम्रो हुने बताईन । कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लगायतका विशिष्ट अतिथिहरुले आफ्नो मनतव्य राखेका थिए ।
साक्षर हुन विभिन्न १२ सुचकांक पुरा गर्नु पर्नेमा कम्तिमा ६ पारामिटर पुरा गर्ने र ९५ प्रतिशत साक्षर भए पालिका साक्षर घोषणा गर्न सकिने भएकोमा पालिकाले ६ सुचकां भन्दा वढी ९६.२ प्रतशित पुरा गरेको हो ।
पालिकालाई साक्षर बनाउन सेभ द चिल्ड्रेन तथा रतौली युवा क्लवले सहजीकरण गरेको थियो ।
महोत्तरीका १५ स्थानिय तह मध्ये जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका हालसम्म साक्षर पालिका घोषणा भैसकेका छन भने बल्वा,भंगहा सहित अन्य पालिकाहरु साक्षर घोषणाको चरणमा छन ।