नागेन्द्र कुमार कर्ण
महोत्तरी, १५ असार ।
जनकपुरक्षेत्रका युवाहरुको एक समुहले जनकपुर उपमहानगरपालिकामा जलवायु परिवर्तनको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जलवायु न्याय अभियान क्षमता अभिवृद्धि सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी गरेको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि जलवायु न्यायको आवश्यकता देखिएको भन्दै युवाहरुले कार्यशाला गोष्ठी गरेका हुन् । दिगो विकास इन्स्टिच्युटले जनकपुरधाम वडानं. २४ बसहियाका युवा आभाष कर्णको नेतृत्वमा कायापलट, ओेरेक नेपाल तथा लियो क्लव अफ मिथिला आदर्श लगायतका संस्थाको सहकार्य र सहयोगमा सो कार्यशाला सम्पन्न गरेको हो ।
कार्यशालाका नेतृत्वकत्र्ता आभाष कर्णले मधेश प्रदेशको आठ वटै जिल्लाका युवाहरुबीच जलवायु सम्बन्धी नीति निर्माण, जलवायु न्यायका मुख्य चुनौती, समस्या र सो समस्या समाधानका विषयवस्तुमा केन्द्रीत रही छलफल गरिएको जानकारी दिनुहुदै जलवायु सम्बन्धी चेतना यस क्षेत्रमा कमी देखिएकोले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा प्रमुख अतिथीको रुपमा रहनुभएका जनकपुर उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरबासीमा पर्यावरण संरक्षण तथा जलवायुसम्बन्धी चेतनास्तर कम देखिएको बताउनुहुदै यस्ता कार्यक्रमहरुले जलवायु परिवर्तनको क्षेत्रमा युवाहरुको आकर्षण बढने र जलवायु परिवर्तनमा न्यूनकिरण गर्न सक्ने बताउनुभयो । आज जनकपुरका युवाहरु यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरेका र सहभागी भएको देख्दा खुशी लागेको बताउनुहुदै उपप्रमुख साहले भन्नुभयो, ‘यो कार्यक्रम जनकपुरमा मात्रै सिमित नराखी हरेक वडामा गर्नुपर्छ र युवाहरुको बढी भन्दा बढी सहभागिता गराउनुपर्छ जसले गर्दा यसक्षेत्रमा पनि जलवायु परिवर्तन र पर्यावरण परिवर्तनले पारेको असर र त्यसको समस्या समाधानबारे वहस हुन्छ ।’
कार्यशालामा कायापलट संस्थाका अधिकृत प्रत्युस ठाकुरले जलवायु परिवर्तन र जलवायु न्याय, त्यसको मधेश प्रदेशमा रहेको अवस्था, सो संकटका समाधान, व्यवस्थापन, मानवअधिकार तथा युवाहरुको दायित्व र सहभागिताबारे जानकारी गराउनुहुदै युवाहरुको सक्रिय सहभागिता बढाउन सबैमा आग्रह गर्नुभएको थियो ।
मधेश प्रदेशका विभिन्न जिल्लाका ४५ जना युवाहरुको सहभागिता रहेको कार्यशालामा ओरेक नेपालका मधेश प्रदेश संयोजक विणा सिंहले जलवायु परिवर्तनका कारण महिलाको स्वास्थ्य र जीवनमा परिरहेको समस्या र प्रभावबारे चर्चा गर्नुभएको थियो ।
कार्यशालामा वक्ताहरुले पर्यावरण संरक्षणका लागि सक्रिय भई युवाहरु लाग्ने हो भने पर्यावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । जनकपुरधाममा फोहरको समस्यालाई समाधान गर्न तथा जलवायु परिवर्तनले परिरहेको असरको न्यूनीकरण गर्न अब युवाहरुले नेतृत्व लिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।







