महोत्तरी, १५ असार ।
महोत्तरी प्रहरीले पछिल्ला दुई दिनमा ५३ किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । सोहि क्रममा दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ भने एकजना मोटरसाईकल चालक फरार भएका छन ।
असार १३ गते दिउँसो बर्दिबास नगरपालिका–१० बनपथ क्षेत्रमा शंकास्पद अवस्थामा बसेका बर्दिबास–१० निवासी ४३ वर्षीय शिव सुनदासलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट ५५० ग्राम गाँजा प्रहरीले बरामद गरि सोधपुछ अघि बढाएको थियो । सोहि क्रममा उनले लागुऔषधका थप एक कारोवारीबारे सुराकी दिदा प्रहरीले बर्दिबास–११ तमाङ टोलमा बस्दै आएकी सिन्धुली भद्रकाली नगरपालिका–५ घर भएकी ६१ वर्षीया विखी माया मोक्तानको घरबाट थप २ किलो १५ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा सहित पक्राउ परेका दुवै जनासंग थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत महोत्तरीबाट पाच दिनको म्याद लिइ अनुसन्धान अगाडी बढाएको छ ।
यता असार १२ गते राति जलेश्वर नगरपालिका–७ बखरी पुल क्षेत्रमा मोबाइल गस्तीको क्रममा प्रहरीले शंकालागि एक मोटरसाईकल पछ्याउदा चालक मोटरसाईकल छोडी फरार भएकोमा सोहि मोटरसाईकल खानतलासी गर्दा प्रहरीले दुईवटा बोराभित्र लुकाइछिपाइ राखिएको १४ पोका मा रहेको ५० किलो ६९५ ग्राम गाँजा बरामद गरेको थियो। प्रहरीले मोटरसाइकल नियन्त्रणमा राखी अनुसन्धान अगाडी बढाएको हो ।







