बर्दिबास, ११ असार ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको आयोजनामा तथा बर्दिबास उद्योग वाणिज्य संघको सहजीकरणमा सञ्चालन भइरहेको नापतौल उपकरण नवीकरण तथा सचेतना कार्यक्रममा स्थानीय व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको छ।
असार ११ र १२ गते सञ्चालन हुने कार्यक्रमअन्तर्गत पहिलो दिन विभिन्न व्यवसाय तथा प्रतिष्ठानमा प्रयोग हुने नापतौल उपकरणहरूको दर्ता तथा नवीकरण गरिएको छ। कार्यक्रममा सहभागी व्यवसायीहरूले आफ्नो उपकरण अद्यावधिक गराउनुका साथै नापतौलसम्बन्धी कानुनी व्यवस्था, उपभोक्ता अधिकार तथा गुणस्तरीय सेवा प्रवाहका विषयमा जानकारी प्राप्त गरेका छन्।
बर्दिबास उद्योग वाणिज्य संघले कार्यक्रममा सहभागी भई सहयोग पुर्याउने सम्पूर्ण व्यवसायीहरूप्रति आभार व्यक्त गरेको छ। संघले नापतौल उपकरणको नियमित नवीकरणले व्यवसायिक पारदर्शिता कायम गर्नुका साथै उपभोक्ताको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
कार्यक्रमको दोस्रो दिन पनि नापतौल उपकरण दर्ता तथा नवीकरणको व्यवस्था रहेकाले हालसम्म सेवा लिन छुटेका व्यवसायीहरूलाई अनिवार्य रूपमा उपस्थित भई आफ्नो उपकरण दर्ता तथा नवीकरण गराउन संघले आग्रह गरेको छ।
बजारमा प्रयोग हुने नापतौल उपकरणलाई मापदण्डअनुसार अद्यावधिक राख्ने, मापनमा शुद्धता कायम गर्ने तथा व्यवसायी र उपभोक्ताबीच विश्वासको वातावरण सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।







