जनकपुरधाम, ११ असार ।

बाल अधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाज संस्थाका प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधि तथा प्रदेश बाल सञ्जालका प्रतिनिधिबीच जनकपुरधामस्थित सवल नेपालको कार्यालयमा बाल अधिकारका समसामयिक विषयमा छलफल सम्पन्न भएको छ।

छलफलमा मधेस प्रदेशका आठवटै जिल्लामा बाल सञ्जाल तथा प्रदेश बाल सञ्जाल गठन र सुदृढीकरण, मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाल अधिकारसम्बन्धी विषयहरूको कार्यान्वयन तथा प्रदेशका १३६ वटै स्थानीय तहमा बाल कल्याण अधिकारी नियुक्तिको आवश्यकताबारे गम्भीर छलफल भएको हाे।

सहभागीहरूले बाल अधिकारको संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पैरवी आवश्यक रहेको औंल्याएका थिए। उनीहरूले बालमैत्री शासन प्रणालीको विकास, बाल सहभागिताको सुनिश्चितता तथा बाल अधिकारका सवाललाई प्रदेश र स्थानीय सरकारको प्राथमिक एजेण्डाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

छलफलका क्रममा मधेस प्रदेशभर बाल सञ्जालहरूको विस्तार तथा सशक्तीकरण गर्दै बाल अधिकारका मुद्दामा एकीकृत रूपमा आवाज उठाउने, बाल संरक्षणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने तथा बाल कल्याण अधिकारी नियुक्तिका लागि सम्बन्धित निकायसँग समन्वय र संवादलाई तीव्रता दिने विषयमा समेत सहमति भएको जनाइएको छ।

कार्यक्रममा सहभागीहरूले बाल अधिकारसम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रयास र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।