महोत्तरी, ९ असार ।
महोत्तरीको सोनमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै बजेट ल्याएको हो।
मंगलबार सम्पन्न गाउँपालिकाको १३औँ गाउँसभामा सोनमा गाउपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले “सोनमाको पहिचान : विकास, समृद्धि र सम्मान” भन्ने मूल नारा सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन ।
निति कार्यक्रम तथा बजेट प्रस्तुतीकरणमा अध्यक्ष यादवले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १७ करोड ६६ लाख रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ १० करोड ६३ लाख ३३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा रहेको बताए ।
त्यसैगरी मधेश प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७७ लाख ७ हजार रुपैयाँ, सशर्त अनुदान ८० लाख रुपैयाँ, राजस्व बाँडफाँड ५० लाख रुपैयाँ, समपुरक अनुदान २० लाख रुपैयाँ तथा विशेष अनुदान ३० लाख रुपैयाँ प्राप्त हुने उनले आशा व्यक्त गरे ।
यता स्थानीय राजस्व बाँडफाँडबाट ६० लाख रुपैयाँ, आन्तरिक आयबाट २ करोड रुपैयाँ तथा गत आर्थिक वर्षको मौज्दात रकम ३ करोड रुपैयाँ समेटेर कुल बजेटको आकार निर्धारण गरिएको छ ।
गाउँपालिकाले आगामी वर्ष कृषि तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै स्थानीय आर्थिक विकासलाई तीव्रता दिने लक्ष्य लिएको गाउपालिका अध्यक्ष यादवले बताए । किसानलाई उत्पादनमुखी कार्यक्रममार्फत प्रोत्साहन गर्ने, कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउने तथा आयआर्जनका अवसर विस्तार गर्ने पालिकाले निति लिएको उनले थपे ।
यता शिक्षा क्षेत्रमा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुदृढीकरण तथा प्रविधिमैत्री शिक्षण प्रणाली विकासमा जोड दिइने निति कार्यक्रम प्रस्तुतिकरणके क्रममा उनले भने । स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाको सेवा विस्तार, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
त्यस्तै कृषि सडक, सिँचाइ, खानेपानी तथा अन्य आधारभूत पूर्वाधार निर्माणलाई तीव्रता दिँदै विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै अध्यक्ष यादवले बताए ।
महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउँदै सुशासन प्रवर्द्धन गरिने अध्यक्ष यादवले थपे ।
यता कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले स्थानीय तहले जनताको आवश्यकता र विकासको प्राथमिकतालाई ध्यानमा राखेर योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले जनताको सवैभन्दा नजिकको सरकार स्थानिय सरकार नै भएकोले पालिकाले अफ्नो जनताको मन जित्ने मा आफु आशावादी रहेको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका महोत्तरी जिल्ला अध्यक्ष रामबाबु राय, गाउँपालिकाका पूर्व अध्यक्ष राजकुमार यादव, सातवटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय बुद्धिजीवी एवं समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।







