मटिहानी, २ असार ।
मटिहानी नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नगरभित्रका ७ जना मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले राहत सहयोग प्रदान गरेको छ। नगरपालिकाको १५औँ नगरसभाबाट स्वीकृत ‘वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा सहयोग वितरण कार्यक्रम’ अन्तर्गत उक्त राहत रकम वितरण गरिएको हो।

राहत रकम हस्तान्तरण कार्यक्रममा मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल ले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखद परिस्थितिको सामना गर्न शक्ति प्राप्त होस् भन्ने कामना गरे। उनले वैदेशिक रोजगारी नेपाली समाजका लागि रहरभन्दा पनि बाध्यता बनेको उल्लेख गर्दै परिवारको जीविकोपार्जन, छोराछोरीको भविष्य सुनिश्चित गर्न तथा आर्थिक अभावबाट मुक्त हुने आशामा युवाहरू विदेशिन बाध्य भएको बताए।

नगरप्रमुख मण्डलले रोजगारीको खोजीमा विदेशिएका कतिपय युवाहरू सकुशल फर्कनुको सट्टा शव बाकसमा बन्द भएर स्वदेश फर्किनुपर्ने दुःखद अवस्था रहेको भन्दै यसले परिवार मात्र नभई समग्र समाजलाई नै मर्माहत बनाएको बताए।

उनले मृतकका परिवारलाई कुनै पनि समस्या परे नगरपालिकाले सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक परेको खण्डमा स्थानीय सरकारबाट सम्भव भएसम्मको सहयोग उपलब्ध गराइने बताए।