राजविराज, सप्तरी, असार १, २०८३
मुक्त हरवा–चरवा समुदायका श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्न, मर्यादित रोजगारीको प्रवर्द्धन गर्न तथा समान कामका लागि समान ज्यालाको सुनिश्चितताका लागि सप्तरी जिल्लाका १८ वटै स्थानीय तहमा एकैसाथ जनप्रदर्शन, र्याली तथा आमसभा आयोजना गरिने भएको छ।
यससम्बन्धी निर्णय राष्ट्रिय दलित नेटवर्क, नेपालद्वारा आइतबार राजविराजमा आयोजित जनवकालत योजना निर्माण कार्यशालाले गरेको हो। कार्यशालामा मुक्त हरवा–चरवा अधिकार मञ्च, द फ्रिडम फण्ड तथा साझेदार संस्थाहरू श्रीपुराज सामुदायिक विकास केन्द्र, जनचेतना दलित संगम, सामुदायिक सुधार केन्द्र र दलित जनकल्याण युवा क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मुक्त हरवा–चरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले असार ४ गते “हरवा–चरवा प्रथाको अन्त्य गरौं, न्यायपूर्ण श्रम सम्बन्ध स्थापना गरौं” भन्ने मूल नारासहित सप्तरीका सबै पालिकामा एकै समयमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार करिब १० हजार मुक्त हरवा–चरवा श्रमिक तथा समुदायका सदस्यहरूको सहभागिता रहने उक्त कार्यक्रममार्फत स्थानीय सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाइनेछ।
अभियानको उद्देश्य मुक्त हरवा–चरवा समुदायलाई श्रम अधिकार, सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा तथा आर्थिक पुनर्स्थापनाका विषयमा सचेत गराउनुका साथै स्थानीय तहलाई यसप्रति जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुर्याउनु रहेको आयोजकहरूले बताएका छन्।
अभियानअन्तर्गत प्रचार–प्रसार गरिने वकालत सामग्रीमार्फत चार प्रमुख विषयलाई प्राथमिकताका साथ उठाइनेछ। जसमा आफ्नै रोजाइको काम र रोजगारदाता छनोट गर्ने स्वतन्त्रता, समान कामका लागि समान ज्याला, न्यायपूर्ण श्रम सम्बन्ध स्थापना तथा दण्डहीनताको अन्त्य, र बिनाज्याला श्रमसहित सबै प्रकारका श्रम शोषणको अन्त्य प्रमुख रहेका छन्।
द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराईले अभियानले मुक्त हरवा–चरवा समुदायका श्रम अधिकार, समान ज्याला तथा श्रम शोषणविरुद्ध व्यापक जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले समुदायस्तरमा स्वामित्व, सहभागिता र उत्तरदायित्वको भावना विकास गर्न तथा स्थानीय सरकारलाई आवश्यक नीतिगत हस्तक्षेप गर्न प्रेरित गर्न अभियान प्रभावकारी हुने बताउनुभयो।
त्यसैगरी द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले स्थानीय सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा मर्यादित श्रम, समान ज्याला र मुक्त हरवा–चरवाको पुनर्स्थापनासम्बन्धी कार्यक्रम समावेश गराउन अभियान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले समुदायको दिगो सशक्तीकरणका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा श्रीपुराज सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक बिनोदानन्द चौधरी, जनचेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम तथा विभिन्न पालिकाका हरवा–चरवा अधिकार मञ्चका प्रतिनिधिहरूले अभियानको महत्वबारे धारणा व्यक्त गरेका थिए।
राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले सहजीकरण गर्नुभएको उक्त कार्यशालाले सामाजिक न्याय, श्रम सम्मान र आर्थिक पुनर्स्थापनाका सवाललाई स्थानीय सरकारको प्राथमिकतामा स्थापित गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।







