नागेन्द्र कुमार कर्ण
महोत्तरी, १ असार ।
महोत्तरीको जलेश्वर नगरपालिका–२ निवासी सियाराम पासवानका कान्छा छोरा कमलेश पासवान दुबईमा सम्पर्कविहीन भएपछि सुरक्षित रूपमा घर फर्किएका छन्।
दुबईमा रोजगारीका लागि रहेका कमलेश गत चैत १० गतेदेखि सम्पर्कविहीन भएका थिए । परिवारले चैतको अन्तिम सातातिर सम्बन्धित निकायहरूसँग उनको खोजी तथा उद्धारका लागि आग्रह गरेका थिए।
सियाराम पासवानले आफ्ना ३० वर्षीय छोरा विगत तीन वर्षदेखि दुबईमा कार्यरत रहेको र तीन महिनादेखि सम्पर्कविहीन भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरी, नगरपालिका, वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संघसंस्था तथा आप्रवासी श्रमिकको क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग सहयोगको अपिल गरेका थिए।
त्यसपछि महोत्तरीको मनरा शिस्वा निवासी सुनील पाण्डेले आफ्ना सम्पर्क तथा नेपाली दूतावासमार्फत समन्वय गर्दै कमलेश दुबईको एक जेलमा लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेको जानकारी परिवारलाई गराएका थिए । त्यसपछि उनलाई नेपाल फर्काउने प्रयास सुरु गरिएको थियो ।
सियाराम पासवानका अनुसार आवश्यक पहलपछि केही दिनअघि कमलेश सुरक्षित रूपमा घर फर्किएका हुन् । उनले आफ्नो छोरालाई सकुशल नेपाल फर्काउन सहयोग गर्ने सञ्चारकर्मी, वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संघसंस्था, सुनील पाण्डे, परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासप्रति धन्यवाद व्यक्त गरेका छन् ।
घर फर्किएपछि कमलेशले आफू विगत तीन वर्षदेखि दुबईस्थित एक कम्पनीमा कार्यरत रहेको र क्याफेमा बसिरहेका बेला स्थानीय प्रहरीले पक्राउ गरेको बताएका छन् । उनले लागूऔषध सम्बन्धी मुद्दामा आफू सहित अन्य तीन नेपालीलाई समेत पक्राउ गरिएको बताएका छन् ।
उनले नेपाली दूतावास र सुनील पाण्डेको सहयोगमा आफूहरूलाई नेपाल डिपोर्ट गरिएको बताए । पक्राउ परेपछि आफ्नो सामान लिन नपाएको तथा कम्पनीले दुई महिनाको तलबसमेत नदिएको उनको गुनासो रहेको छ । साथै पक्राउपछि कम्पनीले सम्पर्कसमेत नगरेको उनले बताएका छन् ।
कमलेशले बाँकी तलब उपलब्ध गराउन सहयोगको अपिल गर्दै अब वैदेशिक रोजगारीमा नजाने बताएका छन् ।
उनले भने, “मैले ६ वर्ष विदेशमा काम गरेँ, तर यस्तो अवस्था कहिल्यै भोग्नुपरेको थिएन । अब यहीँ काम गरेर जीवन चलाउँछु, रोजगारीका लागि विदेश जाँदिनँ ।”