महोत्तरी,१ असार ।
बलबा नगरपालिकालाई साक्षर घोषणा गर्ने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम आईतवार सम्पन्न भएको छ । साक्षर अभियान समितिको कार्ययोजना अनुसार १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकहरुलाई साक्षर बनाउने अभियान अन्तर्गत शिक्षक तथा विद्यार्थीहरुलाई लक्षित गरी १ दिने साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
बलवा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका आयोजनामा श्री मैथिली बल्लभ माध्यमिक विद्यालय, पडौलमा सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा माध्यमिक तहका बलवा नगरपालिका अन्तर्गतका विद्यालयहरुका कक्षा ९, १०, ११ र १२ का विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकहरुकोलाई अभिमुखीकरण तालिम दिइएको हो ।
कार्यक्रममा सहभागीहरुलाई साक्षरता अभियानको उद्देश्य, समुदायस्तरमा साक्षरता विस्तार गर्ने प्रक्रिया तथा निरक्षर नागरिकहरुलाई साक्षर बनाउने विषयमा अभिमुखीकरण प्रदान गरिएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख राजकिशोर झाले बताए । उनले अभिमुखीकरण तालिम पश्चात सहभागीहरु समुदायमा खट्न तयार भैसकेको र चाडै पालिकालाई साक्षर पालिका घोषणा गर्न आफुहरु समर्थ हुने बताए ।
उक्त कार्यक्रम रतौली युवा क्लब, सेभ द चिल्ड्रेन तथा आसमान नेपालको समन्वय तथा सहयोगमा सम्पन्न भएको हो ।







