रञ्जन कुमार भण्डारी
महोत्तरी,३० ज्येष्ठ ।
महोत्तरीको बर्दिवास नगरपालिका १२ डाँडाटोल स्थित शषी सिंहको श्रीमति अन्दाजी वर्ष २५ कि रिंकु कुमारी सिंहले सालको पासो लगाई झुण्डिएर आत्महत्या गरेपछि माईत पक्षले सो आत्महत्या नभई हत्या भएको भन्दै मृतकको ससुराली घरमा तोडफोड र आगजनी गरेका छन । शुक्रवार राती ८ बजे मृत्यु भएको खवर पाए लगतै पुगेको माईतपक्षले घरमा तोडफोड गरेका थिए । तोडफोडको क्रममा घरमा रहेको एक कार,एक स्कुटी र एक मोटरसाईकलमा क्षति पुर्याइएको छ भने घरभित्रका विभिन्न सामानहरु बाहिर निकालेर तोडफोड गरिएको छ ।
स्थिति नियन्त्रणमा लिन खोज्दा भएको झडपमा सुरक्षाकर्मी र पिडित पक्ष समेतका केहि व्यक्ति सामान्य घाईते भएको बताइएको छ ।
यता राती नै मृत्यु पछि मृतकको ससुराली घर पुगेर माईत पक्षले तोडफोड गर्न थालेपछि प्रहरीले मृतकका श्रीमान शषी सिंहलाई नियन्त्रणमा लिएको थियो ।
शनिवार बिहान सुरक्षा निकाय,स्थानिय भद्रभलादमी र नगरप्रमुख समेतले घटनाको सुक्ष्म अनुसन्धान हुने र दोषी उम्कन नसक्ने बताएपछि पिडित पक्षले शवको मुचुल्का उठाउन दिएको हो । अहिले शवको मुचुल्का उठिरहेको र पछि प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टमको लागि पठाउने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी पञ्चलाल गोलेले बताए ।
उनले अहिले स्थिति साम्य रहेको थपे ।







