कपिलवस्तु, २७ जेठ । नख्खु कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक दोषीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा २०८३ जेठ २४ गते कृष्णनगर नगरपालिका–१, कुकुरभुकुवा क्षेत्रबाट राम जस मुराउ लाई पक्राउ गरेको हो। उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जेठ २५ गते कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराएर पुनः कारागार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुराउ २०६३ कात्तिक २५ गते तत्कालीन बहादुरगञ्ज गाविस–१ मा प्रहरी जवान नवीन गुरुङ को गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेका थिए। उक्त घटनामा जिल्ला अदालत कपिलवस्तुले २०६५ माघ ६ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो, जसलाई पछि तत्कालीन पुनरावेदन अदालत बुटवलले पनि कायम राखेको थियो।
यसअघि उनीविरुद्ध २०६२ सालमा दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दामा समेत ६ वर्ष कैद सजाय तोकिएको थियो। साथै, २०६६ माघ १ गते तौलिहवा कारागारबाट सुरुङ खनी अन्य कैदीबन्दीसँगै फरार भएको घटनामा समेत उनी दोषी ठहर भएका थिए।
प्रहरीका अनुसार मुराउ २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए। त्यसयता फरार सूचीमा रहेका उनलाई लामो खोजतलासपछि पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।







