महोत्तरी ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित हुन नदिन मनरा शिस्वा नगरपालिका–९ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई चार थान विद्युतीय पंखा सहयोग गरिएको छ।

स्मार्ट जिके लोकसेवा प्रशिक्षण केन्द्रले स्थानीय नेपाली कांग्रेस नेता चन्दन दुबे को विशेष पहलमा विद्यालयलाई उक्त पंखा उपलब्ध गराएको हो। बुधबार आयोजित हस्तान्तरण कार्यक्रममा प्रशिक्षण केन्द्रका संस्थापक मनोहर झा, समाजसेवी सर्वेश झा, पूर्व वडा अध्यक्ष बलराम राय लगायतको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक विजयलाल कर्णलाई पंखा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा प्रधानाध्यापक कर्णले सहयोगदाताप्रति आभार व्यक्त गर्दै कक्षाकोठामा पंखा जडान भएपछि गर्मीको समयमा विद्यार्थीहरूलाई सहज वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने बताए। उनले यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे।

विद्यालयमा मुख्यतः दलित तथा विपन्न समुदायका बालबालिकाहरू अध्ययनरत छन्। सीमित स्रोतसाधनका बीच सञ्चालन भइरहेको विद्यालयलाई शैक्षिक सामग्री, भौतिक पूर्वाधार तथा अन्य आधारभूत आवश्यकतामा अझै सहयोग आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।