रञ्जन कुमार भण्डारी
महोत्तरी,२६ ज्येष्ठ ।
पुरुषोत्तम मास (मलमास) को अन्त्य हुनै लाग्दा महोत्तरीमा आठौ मकरको दिन गेरुका स्नान गर्नेहरुको उल्लेख्य उपस्थिति देखिएको छ । महोत्तरीको सोनमा गाउपालिका ५ खैरबन्नी स्थित उत्तराहिनी र कन्तवा नदीको संगम स्थल रहेको गेरुका धाममा मकर स्नान गर्नेको उल्लेख्य उपस्थिति देखिएको छ भने महोत्तरीकै लोारपट्टी नगरपालिका ४ खुट्ट स्थित विग्ही र गेरुका नदीको संगम गेरुका धाममा हजारौ श्रद्धालुले स्नान गरेका छन । त्यसतै मटिहानी नगरपालिका ६ स्थित विग्ही नदीमा समेत मकर स्नान गर्नेहरु देखिए ।
महोत्तरीमा प्राय यि तिनै स्थानमा मकर स्नान हुने गरेकोमा पुरुषोत्तम मास को समय तिनै स्थानमा अत्यधिक भिड देखिएको हो । प्राय महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरीलगायत मधेशका विभिन्न जिल्लाका साथै भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरू मकर स्नानको लागि आउने गरेका छन । यहि अवसरमा लोहारपट्टी नगरपालिका र सोनमा गाउपालिकाले आ आफ्नो गेरुका धाममा स्थानिय क्लबहरु समेतको सहयोगमा स्वास्थ्य लगायतको शिविर आयोजना गर्दै आएको छ भने नगरपालिका र सम्बन्धी वडा कार्यालयबाट थप तयारीहरु गर्ने गरिएको छ । यता मटिहानी नगरपालिकाले समेत मकर स्नान गर्ने स्थलमा नगरपालिकाबाट सहजताको लागि टिम परिचालन गर्दै आएको छ ।
प्रत्येक तीन वर्षमा एकपटक पर्ने पुरुषोत्तम मासमा सञ्चालन हुने मकर स्थान र सो संगै लाग्ने मेला यसपाली ज्येष्ठ ३ गतेदेखि सुरु भई असार १ गतेसम्म चल्नेछ । मेलामा पर्ने प्रत्येक मकर आइतबार र मंगलबार विशेष महत्वका दिन मानिन्छन् । धार्मिक विश्वासअनुसार गेरुका क्षेत्रमा स्नान गरी पूजा–आराधना गर्दा पुण्य प्राप्त हुने तथा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
मेलाका कारण आसपासका क्षेत्रमा व्यापारिक चहलपहल समेत बढेको छ । स्थानीय व्यापारीहरूका अनुसार मेलाका दिन खाद्यान्न, पूजा सामग्री, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य वस्तुको कारोबार उल्लेख्य रूपमा वृद्धि हुने गरेको छ ।
गेरुका मेला मिथिलाञ्चलको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ ।







