जलेश्वर ।

मधेश प्रदेशमा अझै पनि बालविवाह चुनौतीका रूपमा कायम रहेका बेला महोत्तरीको जलेश्वर नगरपालिका–७ ले बालविवाह अन्त्यतर्फ उल्लेखनीय सफलता हासिल गरेको छ। पछिल्लो तीन वर्षमा बालविवाहको दर २३ प्रतिशतबाट घटेर ९ प्रतिशतमा झरेपछि वडा आगामी जेठ २९ गते बालविवाहमुक्त घोषणा हुने तयारीमा जुटेको छ।

वडा कार्यालय, वडा बालअधिकार समिति तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा सञ्चालन गरिएको अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरिएको छ। अभियान अन्तर्गत विद्यालय, टोल तथा समुदायस्तरमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

वडाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा भएका ८५ विवाहमध्ये २० वटा बालविवाह थिए। सन् २०२४ मा यो संख्या १० मा झर्यो भने सन् २०२५ मा ६६ विवाहमध्ये ६ वटा मात्र बालविवाह भएको पाइएको छ। यससँगै बालविवाहमुक्त कार्यविधिले तोकेका अधिकांश सूचक पूरा भएको जनाइएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार वडा नं. ७ को कुल जनसंख्या ६ हजार ३७२ रहेको छ। तीमध्ये करिब ४८ प्रतिशत बालबालिका छन्। बालबालिकाको ठूलो जनसंख्या रहेको यस वडामा बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणलाई विशेष प्राथमिकतामा राखिएको छ।

वडा अध्यक्ष राम छबिला यादवका अनुसार बालविवाहविरुद्धको अभियान केवल घोषणा कार्यक्रमका लागि नभई सामाजिक व्यवहार परिवर्तनको दीर्घकालीन अभियान हो। “बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र भविष्यमा नकारात्मक असर पार्छ। त्यसैले यसलाई अन्त्य गर्न समुदाय नै जागरुक हुन आवश्यक छ,” उनले बताए।

अभियानका क्रममा विद्यालयस्तरीय चित्रकला, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता, सडक नाटक, सचेतनामूलक र्‍याली, माइकिङ तथा सार्वजनिक स्थानमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिएका छन्। वडा भित्रका विद्यालय, मदरसा, बाल क्लब, आमा समूह, सहकारी संस्था, स्वास्थ्य चौकी, नेपाल प्रहरी तथा विभिन्न सामाजिक संस्थाले अभियानमा साथ दिएका छन्।

नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह मानेको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार बालविवाह गराउने, तय गर्ने वा त्यसमा संलग्न हुने व्यक्तिलाई ७५ हजार रुपैयाँसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजाय हुन सक्छ।

सेभ द चिल्ड्रेन, रतौली युवा क्लब, डिडिआरसी पर्सा, समाज उत्थान कल्याण संघ तथा सि.ई.एफ.एम परियोजनाको सहयोगमा सञ्चालन भइरहेको अभियानले जलेश्वर–७ लाई नगरपालिकाको चौथो बालविवाहमुक्त वडा बनाउने अपेक्षा गरिएको छ।

बालविवाह अन्त्यको राष्ट्रिय लक्ष्यलाई स्थानीय तहबाट सघाउने प्रयासस्वरूप सुरु गरिएको यो अभियानले सामाजिक कुरीतिविरुद्ध सामूहिक पहल सम्भव रहेको सन्देश दिएको सरोकारवालाहरूको भनाइ छ।