
मानव सभ्यताको इतिहास हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ— कुनै पनि युग विचार र सिद्धान्तले नै निर्देशित भएको छ। कुनै समय राजतन्त्र शाश्वत सत्यजस्तो लाग्थ्यो, कुनै बेला साम्यवादलाई विश्व परिवर्तनको अन्तिम उत्तर मानियो, कुनै समयमा उदारवादलाई इतिहासको अन्तिम गन्तव्यको रूपमा व्याख्या गरियो। तर आजको युगमा आएर एउटा नयाँ यथार्थ स्थापित भएको छ— अब कुनै पनि सिद्धान्त वर्षौंसम्म अपरिवर्तित रहन सक्दैन।
यसको मुख्य कारण हो सूचना प्रविधिको तीव्र विकास र विश्वव्यापी सञ्चारको सहजता। आज संसारको कुनै कुनामा जन्मिएको विचार केही सेकेन्डमै विश्वभर पुग्छ। सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, अनलाइन मिडिया र कृत्रिम बुद्धिमत्ताले विचारको प्रसारलाई यति तीव्र बनाइदिएको छ कि अब कुनै पनि सिद्धान्त एकपक्षीय रूपमा स्थापित हुन सक्दैन। त्यसको तुरुन्त समीक्षा हुन्छ, आलोचना हुन्छ, समर्थन वा विरोध हुन्छ। यही तत्काल प्रतिक्रिया नै परिवर्तनको आधार र कारण बन्छ।
इतिहासमा हेर्ने हो भने विचारहरूको परीक्षण हुन दशकौँ लाग्थ्यो। कार्ल मार्क्सको साम्यवादलाई व्यवहारमा लागू हुन दशकौँ लाग्यो। यसको प्रभाव, सफलता र कमजोरीबारे विश्वले लामो समयपछि मात्र गहिरो बहस गर्न पायो। तर आज यदि कुनै राजनीतिक नेता, विचारक वा संस्था नयाँ सिद्धान्त सार्वजनिक गर्छ भने केही घण्टाभित्रै त्यसको विश्वव्यापी विश्लेषण सुरु हुन्छ। हजारौँ विज्ञ, पत्रकार, अनुसन्धानकर्ता र आम नागरिकले त्यसलाई सामाजिक सञ्जालमार्फत विश्लेषण गर्छन्। परिणामस्वरूप सिद्धान्तको कमी-कमजोरी एवं बहुआयामिक दूरगामी प्रभावबारे तत्काल उजागर हुन्छ।
यसको एउटा स्पष्ट उदाहरण हो कोभिड–१९ महामारीको समयमा स्वास्थ्यसम्बन्धी नीतिहरू। प्रारम्भिक चरणमा विभिन्न देशले आ-आफ्नै सिद्धान्त अघि सारे-कतै लकडाउन नै अन्तिम समाधान भनियो, कतै “हर्ड इम्युनिटी” लाई उपयुक्त रणनीति मानियो। तर विश्वव्यापी डेटा आदानप्रदान, वैज्ञानिक बहस र जनस्तरको प्रतिक्रियाका कारण यी अवधारणाहरू छिट्टै परीक्षण भए र धेरै नीति केही सातामै परिवर्तन गर्नुपर्यो। यदि यो अवस्था केही दशकअघि भएको भए यस्तो परिवर्तन आउन वर्षौँ लाग्न सक्थ्यो।
राजनीतिक क्षेत्रमा पनि यही अवस्था देखिन्छ। अरब स्प्रिङ यसको ज्वलन्त उदाहरण हो। सामाजिक सञ्जालमार्फत फैलिएको जनचेतना र तत्काल प्रतिक्रियाले दशकौँदेखि टिकेका शासन प्रणालीलाई केही महिनामै चुनौती दियो। जनताले सूचना पाए, विचार साझा गरे र प्रतिकारको स्वर विश्वव्यापी बन्यो। यसले देखायो कि सूचना युगमा पुराना राजनीतिक सिद्धान्तहरू वर्तमानको तिब्र आवश्यकता र जनदबाबअगाडि लामो समयसम्म टिक्न सक्दैन।
प्रविधि क्षेत्रमा त परिवर्तन अझ तीव्र छ। केही वर्षअघि “डिजिटल मुद्रा असम्भव” भन्ने धारणा बलियो थियो। आज Bitcoin जस्ता अवधारणाले परम्परागत वित्तीय सिद्धान्तलाई चुनौती दिइरहेका छन्। कृत्रिम बुद्धिमत्ताले शिक्षण, पत्रकारिता, स्वास्थ्य र प्रशासनका स्थापित मान्यतालाई पुनर्विचार गर्न बाध्य बनाएको छ। हिजोको सुनिश्चित सत्य आज सहजै प्रश्नको घेरामा आउन थालेका छन्।
यस अवस्थाले एउटा महत्वपूर्ण सन्देश दिन्छ,”आजको युगमा स्थायी सिद्धान्तभन्दा लचिलो सोच बढी आवश्यक छ। जो विचार परिवर्तनशील परिस्थितिअनुसार आफूलाई परिमार्जन गर्न सक्दैन, त्यो छिट्टै अप्रासंगिक हुन्छ। आजको विश्व स्थिर निष्कर्षभन्दा निरन्तर संवाद, समीक्षा र संशोधनमा विश्वास गर्छ।” ध्यान पुगोस्! उपर्युक्त विचारको अर्थ सिद्धान्तको आवश्यकता समाप्त भयो भन्ने होइन। सिद्धान्त अझै पनि दिशा दिने आधार हुन्। तर अब ती अन्तिम सत्य होइनन्; ती परीक्षणयोग्य प्रस्ताव मात्र हुन्। जनताको प्रतिक्रिया, तथ्यको परीक्षण र समयको चुनौतीले तिनलाई निरन्तर परिमार्जित गरिरहन्छ। र चिन्तनको माध्यमद्वारा परिमार्जन गर्दै जानु पर्दछ।
अन्ततः भन्नुपर्दा, आजको सूचना–सञ्चार युगमा कुनै पनि सिद्धान्त वर्षौँसम्म जस्ताको तस्तै टिक्न सक्दैन। किनकि अब विचार सीमित कोठामा जन्मिएर बन्द हुँदैनन्; ती विश्वमञ्चमा पुग्छन्, तत्काल प्रतिक्रिया पाउँछन् र त्यही प्रतिक्रियाबाट रूपान्तरण हुन्छन्। यही निरन्तर परिवर्तन नै आधुनिक सभ्यताको शक्ति हो। स्थिरता होइन, परिवर्तन नै आजको युगको सबैभन्दा स्थायी सत्य बनेको छ। अजय







