महोत्तरी ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले कोपिया परियोजनाको सहयोगमा धान अनुसन्धानकर्ताहरूका लागि एकदिने राइस रिसर्चर ट्रेनिङ कार्यक्रम खुमलटारमा आयोजना गरेको छ।
विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनका कारण कृषि क्षेत्र, विशेषगरी धान उत्पादनमा देखिएका चुनौतीलाई मध्यनजर गर्दै अनुसन्धानकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको डा. पल्लवी सिन्हले बताइन । खडेरी, बाढी, अत्यधिक तापक्रम (हिट स्ट्रेस) तथा नयाँ रोग–किराको प्रकोपले धान उत्पादनमा जोखिम बढाइरहेको अवस्थामा अनुसन्धान तथा प्रविधि विकासलाई प्रभावकारी बनाउन तालिम केन्द्रित गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ प्राविधिक अधिकृत रवेन्द्र प्रसाद साहले तालिमको उद्देश्य तथा आवश्यकताबारे प्रकाश पार्नुभएको थियो। तालिमका क्रममा सहभागीहरूलाई जलवायुमैत्री (क्लाइमेट–स्मार्ट) धान उत्पादन प्रविधि, रोग तथा किरा व्यवस्थापन तथा जलवायु परिवर्तनसँग तिनको सम्बन्धबारे विस्तृत जानकारी गराइएको हो ।
त्यसैगरी, जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न सक्ने नयाँ तथा सहनशील धानका जात विकासमा आधुनिक प्रजनन प्रविधि (मोडर्न ब्रिडिङ टुल्स) को प्रयोग र सम्भावनाबारे पनि छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण प्राविधिक अधिकृत सुन्दर श्रेष्ठ र मो. फरहत अलीले गर्नुभएको थियो।
तालिममा बाली प्रजनन विज्ञ डा. बालकृष्ण जोशी, बाली रोग विशेषज्ञ डा. सुरज वैद्य, बाली विज्ञान विशेषज्ञ डा. मथुरा यादव तथा किरा विज्ञ डा. नरेश डाँगीले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा २४ जना अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो।
समापन सत्रमा डा. सङ योङ जुले तालिम उपलब्धिमूलक रहेको बताउँदै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, डा. विनोद लुइँटेलले राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको टोलीले निर्धारित उद्देश्यअनुसार प्रभावकारी कार्य गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। कोपिया परियोजनाका कन्सल्टेन्ट डा. सुरेन्द्रलाल श्रेष्ठले बहु-अनुशासनात्मक सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको उल्लेख गर्दै सहभागी तथा आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दै गएको जोखिम न्यूनीकरण तथा दिगो कृषि प्रवर्द्धनका लागि यस्ता तालिमले अनुसन्धानकर्ताहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।







