रञ्जन कुमार भण्डारी
महोत्तरी, २४ जेठ ।
सशस्त्र प्रहरी परिवार महिला संघको २५औँ वार्षिकोत्सवको अवसरमा महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित श्री जनता माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत आयोजित शिविर सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण मुख्यालय, महोत्तरीको संयोजनमा सञ्चालन गरिएको हो।
शिविरमा नेपाल एपीएफ अस्पताल, बलम्बु काठमाडौं तथा जानकी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, जनकपुरका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका छन्। हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्री तथा प्रसूति रोग, दन्तरोग, चर्म तथा यौनरोग र जनरल मेडिसिनलगायतका सेवामार्फत बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण मुख्यालय, महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार सम्सी गाउँपालिकासहित सोनमा गाउँपालिका, सर्लाही तथा आसपासका क्षेत्रबाट समेत ठूलो संख्यामा सर्वसाधारण स्वास्थ्य परीक्षणका लागि शिविरमा पुगेका छन्। उनका अनुसार साँझसम्म सञ्चालन हुने शिविरबाट करिब १ हजार ५०० देखि २ हजार जनासम्म लाभान्वित हुने अपेक्षा गरिएको छ।
शिविरमा विभिन्न रोगका बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको भए पनि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवामा सबैभन्दा बढी चाप देखिएको छ। महिला विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएकाले महिला बिरामीहरूले आफ्ना समस्या सहज रूपमा राख्न पाएको बताएका छन्।
स्वास्थ्य परीक्षणका लागि शिविरमा पुगेकी एक स्थानीय महिलाले महिला चिकित्सकबाट सेवा पाउँदा आफ्ना समस्या खुलस्त रूपमा राख्न र आवश्यक परामर्श लिन सहज भएको प्रतिक्रिया दिइन्।
शिविरको उद्घाटन सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसीले गरेकी थिइन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सीमाको सुरक्षासँगै सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा योगदान गर्न पाउँदा खुसी लागेको बताइन्। यस्ता कार्यक्रमले सुरक्षा निकाय र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वाससमेत उनले व्यक्त गरिन्।
उद्घाटन कार्यक्रममा सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी कृष्ण ढकाल, सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशकी अध्यक्ष संगीता सुवेदी ढकाललगायत सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







