महोत्तरी ।
राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानी का पूर्व वटुक तथा शिक्षाविद् विष्णु पराजुलीले विद्यालयमा अध्ययनरत वटुकहरूका लागि करिब ५० हजार रुपैयाँ बराबरका लोगो अंकित भेस्ट सहयोग गरेका छन्।
विद्यालयमा अध्ययनरत वटुकहरूका लागि एकरूप पोशाकको आवश्यकता महसुस भइरहेको अवस्थामा पराजुलीले उक्त सहयोग उपलब्ध गराएका हुन्। विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार विभिन्न जिल्लाका साथै भारतबाट समेत आएका आर्थिक रूपमा विपन्न, दलित, जनजाति, पिछडिएका तथा अनाथ वटुकहरूलाई आवासीय सुविधा प्रदान गर्दै आएको विद्यालयले सीमित स्रोतसाधनका बीच व्यवस्थापन गरिरहेको छ।
उनका अनुसार विद्यालयमा अत्यधिक गर्मीका बेला पंखा मर्मत, खाट तथा डेस्क–बेन्च व्यवस्थापन, विद्युत् महसुल भुक्तानीलगायतका चुनौतीहरू विद्यमान छन्। यस्तै परिस्थितिमा वटुकहरूका लागि एकरूप पोशाकको आवश्यकता खड्किरहेको बेला पूर्व वटुक पराजुलीले भेस्ट सहयोग गरेका हुन्।
करिब चार वर्ष मटिहानी गुरुकुलमा अध्ययन गरेका पराजुलीले विद्यालयका आवश्यकता र समस्यालाई नजिकबाट बुझेका छन ।
ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–१० कटुन्जेका निवासी पराजुली वि.सं. २०५३ सालमा तत्कालीन मटिहानी गुरुकुलबाट एसएलसी उत्तीर्ण भएका थिए। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तथा एमफिल तहसम्मको अध्ययन पूरा गरेका छन्।
हाल काठमाडौंमा बसोबास गर्दै आएका पराजुली नेसनल प्याब्सनका राष्ट्रिय उपाध्यक्ष हुन्। उनी विनायक सिद्ध कलेजका संस्थापक निर्देशक तथा प्रोग्रेसिभ सेकेन्डरी स्कुलका प्रिन्सिपलका रूपमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा हजारौँ विद्यार्थीको शैक्षिक यात्रामा योगदान पुर्याउँदै आएका पराजुलीले आफूले अध्ययन गरेको विद्यालयप्रति दायित्वबोध गर्दै सहयोग गरेको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक पौडेलले पराजुलीको सहयोगले वटुकहरूको शैक्षिक वातावरण थप व्यवस्थित बनाउन मद्दत पुगेको बताउँदै पूर्व विद्यार्थीहरूबाट प्राप्त यस्ता सहयोगले विद्यालयको शैक्षिक तथा संस्कारमूलक अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरे।
राजकीय संस्कृत माध्यमिक विद्यालय नेपालको प्राचीन संस्कृत शिक्षालयमध्ये एक मानिन्छ। देशका विभिन्न जिल्लाका विद्यार्थीहरू यहाँ आवासीय रूपमा अध्ययन गर्दै आएका छन्।







